१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रौतहटमा अनिश्चित कालका लागि निषेधाज्ञा जारी

शिव पुरी

रौतहट — लकडाउनको समयमा पनि बजार तथा चोकमा मानिसहरुको भीड बढ्न थालेपछि रौतहट प्रशासनले आइतबारबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । स्थानीयहरु दिनभर घर बसे पनि साँझपख भने लकडाउनको पालना नगरेको पाइएकोले यस्तो कदम चालिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । 

रौतहटमा अनिश्चित कालका लागि निषेधाज्ञा जारी



गौरस्थित प्रशासन कार्यालयमाआइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमण रोकथाम, नियन्त्रणमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारीलाई प्राप्त अधिकार प्रयोग गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।


आइतबारबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा कायम रहने घिमिरेले स्पष्ट पारे । ‘आदेशको अवहेलनारबर्खिलाप हुने काम कसैले गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही हुन्छ,’उनलेभने,‘यस्तो महामारीबाट जोगिन मानिसहरु घरभित्र बस्न उपयुक्त हुन्छ । अब बाहिर निस्केको भेट्टिए कारबाही हुन्छ ।’ अत्यावश्यक उपभोग्य सामग्री र औषधि उपचारबाहेकका लागि सार्वजनिक स्थानमा निस्कन, भेला हुन तथा आवतजावत गर्न निषेध गरिएको छ ।


साँझको समयमा खाद्यान्न तथा तरकारी लिने बहानामा धेरै मानिस सहर, बजारमा देखिन थालेपछि सोको नियन्त्रणका लागि यस्तो कदम चालिएको उनको भनाइ छ । सुरक्षाकर्मीको प्रयासका बावजुद पनि भिडभाड, आवतजावत नियन्त्रण हुन नसकेमा कोरोना भाइरस रोकथाम गर्न गरिएका सबै पूर्वतयारी प्रभावहीन हुने देखिएकोले निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ घिमिरेले बताए ।


खाद्यान्न र उपभोग्य सामग्री ढुवानीका सवारीसाधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि पसल, प्रशासनबाट पास लिएका व्यक्ति वा सवारीसाधनबाहेक अन्य सवारी, व्यक्ति तथा पसल पूर्णरुपमा बन्द गर्न भनिएको छ । कुनै सवारी, व्यक्ति वा समूहले यसको उल्लंघन गरेमा त्यस्तालाई नियन्त्रणमा लिई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रमण रोग ऐन २०२० बमोजिम आवश्यक न्यूनतम बल प्रयोग गर्ने लगायत अन्य कारवाही गर्ने निर्णय भएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?