कोरोनाविरुद्धको लडाइँका लागि प्रदेश सरकार तम्तयार : मुख्यमन्त्री राउत

सन्तोष सिंह

(धनुषा) — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाइँका लागि प्रदेश सरकार तम्तयार रहेको बताएका छन् ।

कोरोनाविरुद्धको लडाइँका लागि प्रदेश सरकार तम्तयार : मुख्यमन्त्री राउत

मुख्यमन्त्री राउतले मंगलबार अपिल जारी गर्दै महामारीविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन पालना गर्न आग्रह गरेका छन् । तीनै तहको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको बताउँदै मुख्यमन्त्री राउतले लकडाउनलाई पूर्णत: समर्थन गर्नसमेत आग्रह गरे ।


महामारीविरुद्ध लड्न प्रदेश सरकारले गत सातादेखि नै आफ्ना पूर्वतयारी थालिसकेको र महाविपदको घडीमा कसैलाई नआत्तिनसमेत उनको आग्रह छ । महामारी विरुद्धको पूर्वतयारीको लागि प्रदेशमा २५० आइसोलेसन बेड तयारी अवस्थामा रहेको र थप बेडका लागि गृहकार्य भइरहेको राउतले बताए ।


उनका अनुसार विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद व्यस्थापन कोषलाई ५०/५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख उपलब्ध गराइसकेको छ । त्यस्तै समाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई ५/५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र पर्सनल केयर इक्युपमेन्टका लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतनामूलक प्रचारप्रसारका लागि स्वास्थ्य निर्देशनालयलाई ५ लाख, मन्त्रालयमार्फत नितिगत खर्चका लागि १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणका लागि १० लाख, एकीकृत अनुगमनका लागि ५ लाख, रेफरल एम्बुलेन्स सेवाका लागि ३ लाख छुट्याइएको मुख्यमन्त्रीको अपिलमा जनाइएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?