सडक ढाकेर हाट बजार

सुनिता बराल

महोत्तरी — सडक दायाँ–बायाँ छेकेर हाट बजार लगाउँदा महोत्तरीको भंगामा–५ स्थित सीतापुर बजार अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । सीतापुरबाट पूर्व–पश्चिम राजमार्गसँग धनुषा जमुनिवास जोडिने मुख्य सडक र बर्दिवास, औरही, गौशाला लागायतका शाखा सडक छेकेर हरेक सोमबार र शुक्रबार दुई दिन हाट बजार लाग्दै आएको छ । यसले सवारीलाई मात्र नभई पैदल यात्रीलाई अप्ठ्यारो पर्ने गरेको छ ।

बजार लागेका कारण सडक जाम हुँदा सवारी वारपार गराउन एक किलोमिटरमै २ घण्टा लाग्छ । ठूला सवारीले बजार अवधिभर बाटै पाउँदैनन् । ३० वर्षदेखि सडकमै लाग्दै आएको बजार व्यवस्थापनमा चासो नदेखाएको भंगाहा नगरपालिकाले सडकलाई नै बजारको रुपमा ठेक्का लगाएको छ । सय फिट चौडा भएको सडकको छेउछाउमा मात्रै हैन, ठेकेदारसँगको सहमतिमा व्यापारीले सडक बीचमै पसल राख्ने गरेका छन् ।


सडकको बीचमै पाउरोटी र बिस्कुट पसल राखेकी धनुषा बटेश्वरकी कमलीदेवी महतोले आफूलाई ठेकेदारले देखाइदिएको ठाउँमै पसल राखेको बताइन् । २० वर्षदेखि सोही ठाउँमा पसल राखेर व्यापार गर्दै आएको उनले बताइन् । ‘गाडी आएर किच्ला भन्ने डर हुन्छ,’ उनी भन्छिन्, ‘अन्त ठाउँ छैन, ठेकेदारले नै गाडी आएपछि बाटो छोडिदिनुस् भनेर यो ठाउँ दिएका हुन्, पसल उठाउँदै हैरान परिन्छ ।’ धनुषा र महोत्तरीका विभिन्न ठाउँबाट व्यापारीहरू लत्ताकपडा, चप्पल जुत्ता, दाल, चामल, तरकारी लगायतका बिक्री गर्न सीतापुर बजार आउने गर्छन् । तर बजार व्यवस्थापन नहुँदा व्यापारीलाई पनि सास्ती हुने गरेको छ । सडकमा लाग्ने भीडले ग्राहकले पनि चाहेको सामान खरिद गर्न नसक्ने व्यापारी जितेन्द्र साहले बताए । ‘धूलो खाएर रोडमा बस्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘गाडी आयो भने पसल कहाँ लाने भन्ने चिन्ता हुन्छ, ग्राहक कहाँ पुग्छन् कहाँ, खासै व्यापार हुँदैन ।’ साना सवारी भीडभाड छिचोल्दै निस्कन्छन् तर ठूला सवारी आएपछि पसलेले पसल नै पोको पारेर गाडीलाई सडक छोडिदिन पर्छ ।


यस्ता झन्झटले बाहिरबाट आउने धेरै व्यापारी भंगाहा बजार छोडेर अन्यन्त्र जान थालेको स्थानीय रामलाल मण्डलले बताए । ग्राहकलाई समेत सडकमा आउने सवारी र बजारमा हुने भीडभाडमा दुर्घटनामा परिने डर हुने उनको भनाइ छ । सडककै बनाइने खानेकुराले मानव स्वास्थ्यमा पनि हानि गर्ने उनले बताए । बजारबाट निस्कने फोहोरले सो क्षेत्र दुर्गन्धित बन्दै गए पनि सरसफाइमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।


भंगाहा नगरपालिकाले वर्षको ३ लाख ३० हजार रुपैयाँमा लगाएको ठेक्काबारे नगरका प्रमुख प्रशासकीय अधिकृतले जानकारी नभएको बताए । डेढ वर्ष पहिले कार्यालयमा हाजिर भएका अधिकृत रामचन्द्र लामगादेले बजार र पोखरी ठेक्काको लागि आफूले वडाहरूलाई पत्र लेखेको तर ठेक्का लागिनसकेको जानकारी दिए ।


जग्गा भाडामा लिएर बजार सार्ने विषयमा अनौपचारिक छलफल भए पनि अहिलेसम्म बजार व्यवस्थापनका लागि काम हुन नसकेको उनले बताए । ‘सडकमा लागिरहेको बजारले सबैलाई सास्ती भएको छ,’ उनले भने, ‘दुर्घटनाको जोखिम पनि हामीले देखिरहेका छौं, तर काम अघि बढ्न सकेको छैन ।’


वर्षौंदेखि लाग्दै आएको बजारलाई अन्य ठाउँमा सार्न जग्गाको अभाव रहेको भंगाहा नगरका मेयर सञ्जीव साहले बताए । सडकमा लाग्ने बजार व्यवस्थापन गर्ने सोच बनाएको भए पनि जग्गा अभावले काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

गतवर्ष अर्को वर्षको बजेटबाट बजार व्यवस्थापन गर्ने बताएका मेयर साहले यस वर्ष बजार व्यवस्थापनमा कुनै ध्यान नदिएको स्थानीयले बताए । बजारका ठेकेदार रामफल साहले बजारबाट प्रतितरकारी पसल २० रुपैयाँ, प्रतिकपडा पसल ३०, प्रतिसटर १०, एक खसी काटेको ५० रुपैयाँ उठाउँदै आएका छन् । दुई सयभन्दा बढी व्यापारीहरूले पसल राख्ने बजारमा महोत्तरीका विभिन्न ठाउँबाट ग्राहकहरू पुग्ने गरेका छन् ।

प्रकाशित : चैत्र १०, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

रातिराति खोला दोहन

कालिन्जोर खोलामा अवैध उत्खनन गर्दै आएका एक्स्काभेटर र टिपर प्रहरीको नियन्त्रणमा
ओमप्रकाश ठाकुर

सर्लाही — प्रहरीले कालिन्जोर खोलामा अवैध रुपमा उत्खनन गर्दै आएका एक एक्स्काभेटर र बा३ख ११७६ नम्बरको एक टिपरलाई शुक्रबार नियन्त्रणमा लियो । गजुरमुखी निर्माण कम्पनीका ती सवारीलाई कारबाहीका लागि लालबन्दी नगरपालिकामा बुझाएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । ‘खोलामा अवैध उत्खनन गरिरहेको पाएपछि नियन्त्रणमा लिएका हौं,’ पोखरेलले भने ।

स्थानीयका अनुसार मापदण्ड नपुगेको भन्दै बन्द गराइएको सर्लाहीका नौ क्रसर उद्योगले रातिराति खोला दोहन गरिरहेका छन् । क्रसर उद्योगले खोला उत्खनन गरेर राति नै ढुंगा पेल्ने गरिरहेका हुन् । बन्द गराइएका नौ क्रसर उद्योगमध्ये वाग्मती नदीमा चारवटा छन् । यस्तै फूल्जोर, रानीगञ्ज, श्रीनगर, हरिपुर र धनकौल पश्चिममा एक–एक वटा छन् ।

झण्डै दुई महिनाअघि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले जिल्लामा सञ्चालित सबै क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनको क्रममा जिल्लाका सबै क्रसर उद्योग नियमविपरीत रहेकाले बन्द गराइएको थियो ।

तर, केही दिनदेखि बन्द गरिएका ती क्रसर उद्योगहरू राति सञ्चालनमा आउने गरेको स्थानीयले बताए । ‘क्रसर उद्योगले राति आरामले सुत्न पनि दिएको छैन,’ रानीगन्जका स्थानीय लक्ष्मण खड्काले भने । ती क्रसरले स्थानीय सरकारलाई प्रलोभनमा पारेर खोलामा ढुंगा तथा बालुवा उत्खनन गर्दै स्थानीयको दाबी छ । स्थानीयले यस्ता क्रसर रोक्न लालबन्दी नगरपालिकालाई आग्रह गरे पनि गुनासो नसुनेको बताएका छन् । उल्टै नगरका मेयर मानबहादुर खड्काले नियन्त्रणमा लिइएको एक्स्काभेटर र टिपर छोड्न दबाब दिइरहेको उनीहरूको दाबी छ ।

मेयर खड्काले नियम प्रक्रिया पूरा गरेर खोला ठेक्का लगाएको जानकारी दिए । गजुरमुखी निर्माण कम्पनीले नियमसंगत ढुंगा निकालिरहेको उनको दाबी छ । आउँदो दिनमा विवाद हुन नदिन पहल भइरहेको समेत उनले जानकारी दिए ।

उत्खननको विरोध गर्नेलाई धम्की
क्रसरको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आइरहेको खड्कालगायतका स्थानीयले बताएका छन् । ‘क्रसर व्यवसायीको विरोध गरेको भन्दै उनीहरूले पालेको गुण्डाले मलाई ज्यान मार्ने समेतको धम्की दिइसकेको छ, दिलीप महतोको जस्तै हालत हुनेछ भनेका छन्,’ खड्काले भने, ‘क्रसर उद्योगीहरूले जिल्लामा मेरो सबै सेटिङ भइसकेको छ, तँ चुपलाग नत्र घरमा बस्न अप्ठेरा पारिदिन्छु भनेर धम्की दिएका छन् ।’

आइतबार उनले जनकपुरस्थित प्रदेश प्रहरी प्रमुख डीआईजीलाई भेटी ज्यानको रक्षा गरिदिन माग गरेका छन् । जिल्लामा सेटिङको कुरा सुनाएपछि प्रदेश प्रहरीकोमा आएको उनले बताए । ‘यसअघि मौखिक जानकारी गराएको थिएँ, भोलि फर्केर प्रहरीलाई लिखित उजुरी दिनेछु,’ उनले भने ।

नियमन गर्ने निकाय जिल्ला समन्वय समितिले कोरोना भइरसको व्यवस्थापनमा जुटेको मौका छोपेर क्रसर उद्योगीले राति सञ्चालनमा ल्याएको हुनसक्ने जनाएको छ । समन्वय समितिका प्रमुख मेथुर चौधरीले कोरोनाको व्यवस्थापन सकेर पुनः अनुगमनलाई निरन्तरता दिने जानकारी दिए । ‘नियम विपरीत चलेकालाई कुनै पनि हालतमा छोडिने छैन,’ उनले भने ।

रानीगन्जस्थित क्रसर उद्योगले वातावरणीय प्रभाव मूल्यांकनबिना नै बाँके र कालिन्जोर खोलामा एक्स्काभेटर प्रयोग गरेर ढुंगा तथा बालुवा निकाल्दै आएका छन् । यस्तो उत्खननले प्रत्येक वर्ष वर्षाको समय दक्षिण क्षेत्रका स्थानीयले बाढी तथा डुबानको समस्या भोग्दै आएका छन् । राजमार्गभन्दा उत्तर तिरबाट अवैध उत्खनन भएकाले राजमार्गका पुलहरू पनि यतिबेला जोखिममा छन् ।

प्रकाशित : चैत्र १०, २०७६ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×