धम्कीको विरोधमा गाउँपालिका बन्द

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीले आफूलाई धम्की आएको भन्दै पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिका उपाध्यक्ष सुचिता यादवका पति शिवनाथ यादवले ‘हातखुटा काट्ने धम्की’ दिएपछि असुरक्षा भएको भन्दै कर्मचारीले शुक्रबारबाट कार्यालयमा तालाबन्दी गरेका हुन् । 

गत बिहीबार लेखापाल लीलराज श्रेष्ठलाई शिवनाथले दुईवटा उपभोक्ता समितिको भुक्तानीको चेक तत्काल बनाइदिन दबाब दिदै चेक नदिए हातखुटा काटने धम्की दिएकाले कार्यालयमा ताला लगाउने निर्णय भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजुकुमार झाले बताए । उनका अनुसार सुरक्षाको ग्यारेन्टी र धम्की दिनेले क्षमा नमागे सम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ ।


लेखापाल श्रेष्ठले शिवनाथले भुक्तानीको चेक वनाईदिन भनेको उपभोक्ता समितिको फाइलमा अनुगमन समितिको रिर्पोट नरहेकाले चेक बनाउन नसकिने भनेपछि आक्रोशित भएर जथाभावी बोल्दै धम्क्याएको बताए । शिवनाथले आफूले वडा–३ को सकरपुरास्थित विषहारा मन्दिर र वडा–८ सडेपारको कुलोपैनीको काम सम्पन्न भइसकेको र भुक्तानीको चेक नदिंदा उपभोक्ता समिति दैनिक गाउँपालिका कार्यालय आउनुपर्दा दुःख झेलेकोले चेक दिन आग्रह गर्दै ‘मानिसहरू धेरै आक्रोशित छन् हातखुटा भाँचिदिन्छन्’ भनेको प्रतिक्रिया दिए ।

प्रकाशित : चैत्र ९, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?