सरकारी निर्देशन अटेरी, रोकिएन परीक्षा
बारा — सरकारले चैतमा हुने सबै परीक्षा स्थगित गर्ने निर्णयसहित दिएको निर्देशन यहाँ पालना हुन सकेको छैन् । केही स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयले अझै एसईईमुनिका सबै कक्षा र तहका परिक्षा लिइरहेका छन् । सरकारले स्थगनको निर्देशन दिएको दोस्रो दिन पनि कलैया उपमहानगरपालिका, निजगढ नगरपालिकाका लगायतका विद्यालयहरूले परिक्षा लिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई कायाएलयबाट जिल्ला समन्वय समितिसहित हरेक स्थानीय तह, जिल्ला समन्वय समितिका प्रमुख र जिल्ला प्रशासन कार्यालयलाई परीक्षा स्थगित गर्न पत्राचार गरेपनि परीक्षा नरोकिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख शशिकुमार यादवले बताए । ‘सरकोकारवाला सबैलाई स्थगित गर्न लिखित र मौखिक रुपमा भनेको छु,’ टेर्दैन भने मेरो के लाग्छ ? स्थानीय प्रशासनले रोक्नुपर्यो,’ उनले भने, ‘पत्राचारको अवमुल्यन भएको छ ।’
परीक्षा लिइरहेकोप्रति सम्बन्धित स्थानीय तहका शिक्षा शाखाका प्रमुख भने परीक्षा लिइरहेकोबारे बेखबरं छन् । ‘सामुदायिक विद्यालयको परीक्षै सकियो र नीजीले लिइरहेकोबारे थाहा भएन,’ कलैया उपमहानगरपालिकाअन्तर्गतका शिक्षा फाँटका प्रमुख प्रह्लाद वर्णवालले भने । यता बालबालिकाको भविष्यप्रति विद्यालय प्रशासनको ख्याल नरहेकोप्रति शान्ति निकेतन नीजि विद्यालयका अभिभावक बैजु जयसवाल असन्तुष्ट छन् । ‘न बालबालिकाको स्वास्थ्यप्रति ख्याल छ, न सरकारको निर्देशन पालना गरेको छ,’ उनले भने ।
निजगढ नगरपालिकाअन्तर्गतका शिक्षा शाखा प्रमुख राजु बानियाँले शनिवारसम्म परिक्षा सकेर एकैचोटि विद्यालय बन्द गर्ने नगरबाट निर्णय भएकोले परिक्षा स्थगित नभएको बताए ।
प्रकाशित : चैत्र ९, २०७६ ०९:१४