१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुर्घटना रोक्न ‘टाइम कार्ड’

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयामा शुक्रबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४३४३ नम्बरको यात्रुवाहक बसलाई ट्राफिक प्रहरीले रोकेपछि बसका चालक प्रेम श्रेष्ठ अलमलमा परे । प्रहरीले तल झर्न आग्रह गरे र साबुन पानीले मिचीमिची हात धुन लगाए ।

दुर्घटना रोक्न ‘टाइम कार्ड’

श्रेष्ठलाई कोरोना भाइरसबारे सचेतना होला भन्ने लाग्यो । तर, ट्राफिक प्रहरीले फूलको माला र अबिर लगाइदिएपछि सडक सुरक्षा सचेतना अभियानका बारेमा जानकारी गराए । तराईमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले टाइम कार्ड लागू र चालकलाई सचेतना अभियान चलाएको हो । यो कार्यक्रम मुलुकका अन्य स्थानमा लागू भए पनि तराईमा सुरु हुन सकेको थिए ।


‘पछिल्लो समय हामी गाडी चालकहरूलाई यात्रु चढाउन होडबाजी हुन्थ्यो, त्यसकारण प्रतिस्पर्धा गर्नुपर्थ्यो,’ श्रेष्ठले भने, ‘यात्रु चढाउनलाई गति बढाउँदा कतिपय सवारी दुर्घटनामा परिरहेका थिए ।’ टाइमकार्ड लागू भएपछि हरेक सवारीसाधन आफ्‍नै गतिमा हिँड्ने र प्रतिस्पर्धा नगर्दा दुर्घटना कम हुने उनले अपेक्षा गरे ।


महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना६ख ९११८ नम्बरको यात्रुवाहक बसका चालक धीरेन्द्र सिंहलाई पनि ट्राफिक प्रहरीले सचेत गरे । उनले सवारीको गति नियन्त्रण गर्ने प्रतिबद्धता जनाए । तीव्र गतिमा सवारीसाधन चलाउँदा चालक र यात्रुको ज्यान जोखिम बढेको भन्दै प्रदेश ट्राफिक प्रहरीले टाइमकार्ड लागू गरेको हो ।


सर्लाहीमा मात्र तीव्र गतीका कारण गत साउनदेखि फागुनसम्ममा ३८ जनाले ज्यान गुमाइसकेको ट्राफिक प्रहरीको तथ्यांक छ । टाइमकार्डमा कार, जिप, पिकअप भ्यानलाई प्रतिघण्टा ८० किलोमिटर तोकिएको छ । यात्रुवाहक बस, ट्रकले भने एक घण्टामा ५० किलोमिटर मात्र चलाउन पाउनेछन् । मोटरसाइकललाई प्रतिघण्टा ५० किलोमिटर, टेम्पु, स्कुटर लगायतका सवारी साधनलाई प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । तोकिएको समयसीमाभन्दा कम समयमा गए ट्राफिकले जरिवाना गर्नेछ ।


ट्राफिक प्रहरीले प्रदेश दुईको भारदहदेखि लहानसम्मको ५३ किलोमिटर एक घण्टा १५ मिनेट तोकेको छ । यस्तै लहानबाट लालगढसम्म जम्मा ६९ किलोमिटरको यात्रालाई एक घण्टा ३० मिनेट तोकेको छ । लालगढदेखि कर्मैयासम्मको ५० किलोमिटरलाई एक घण्टा १० मिनेट र कर्मैयादेखि पथलैयासम्म ५२ किलोमिटरको यात्रालाई एक घण्टा १५ मिनेट तोकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादवले अभियानले दुर्घटना रोक्ने विश्वास व्यक्त गरे ।


राजमार्गमा अनिवार्य


पर्सा – प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत प्रदेशमा पर्ने सडकखण्डमा शुक्रबारदेखि ‘टाइम कार्ड’ अनिवार्य गरेको छ । सवारीसाधनको तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरेको कार्यालयले जानकारी दिएको छ ।


कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले पथलैयामा, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डित र वीरगन्ज महानगर–२१ का वडाध्यक्ष हबिब मियाले पर्सामा लामो दूरीका २ वटा सवारीसाधनका चालक तथा सहचालकहरूलाई फूलमाला र खादा लगाई कार्यक्रमको उद्घाट्न गरेका थिए । ‘सडक सुरक्षा सचेतना अभियान’ कार्यक्रम अन्तर्गत यो अभियान थालेको महतोले बताए । चालकलाई फ्लोरोसिङ ज्याकेट र डस्टबिन पनि वितरण गरिएको छ । ‘सवारीमा अग्नि नियन्त्रक उपकरण राख्न आग्रह गरेका छौं,’ महतोले भने ।


प्रहरी निरीक्षक पण्डितले पर्सामा पूर्व–पश्चिम राजमार्ग नपरे पनि वीरगन्जबाट छुट्ने तथा त्रिभुवन राजपथ भएर पथलैया हुँदै पूर्व जाने सम्पूर्ण यात्रुबाहक बसको हकमा टाइम कार्ड लागू गरिएको बताए । यसको लागि परवानीपुरमा बेस स्थापना गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?