दिवा खाजाले विद्यार्थी दोब्बर 

जिल्लाका तीन सय ६० सामुदायिक विद्यालयमा कार्यक्रम लागू 
शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिका–२९ रतनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अहिले बाल विकास केन्द्रका कक्षाहरूमा बालबालिकाको संख्या दोब्बर भएको छ । विगतमा ८० विद्यार्थी रहेकोमा हाल १ सय ६० विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । 

दिवा खाजाले विद्यार्थी दोब्बर 

प्रधानाध्यापक समिद खाँले बाल विकास केन्द्रका कक्षामा दोब्बरी विद्यार्थी हुनुमा दिवा खाजा मुख्य कारण रहेको बताए । दिवा खाजा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिने गरिएको छ । खाजामा दाल, भात, खिचडीदेखि माछामासु, अण्डा आदि पनि दिने गरिएको उनले बताए । विद्यार्थी बढेपछि विद्यालय प्रशासनलाई विद्यार्थीको व्यवस्थापनको काम पनि चुनौतीपूर्ण बनेको छ । ‘विद्यार्थी अनुपातमा शिक्षक कम हुँदा कक्षाकोठा सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘हामीले सक्दो प्रयास गरी बाल विकास केन्द्रलाई व्यवस्थित गरिरहेका छौं ।’


विद्यालय वीरगन्ज–२५ सिर्सियास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पनि दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या र नियमितता बढेको छ । प्रधानाध्यापिका अन्जु साहले विगतमा सय विद्यार्थी नियमित आउने गरेकोमा हाल १ सय २५ विद्यार्थी आउन थालेको बताइन् । ‘कार्यक्रमको राम्रो प्रभाव देखिएको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमलाई केही वर्ष निरन्तरता दिन सके राम्रो परिणाम आउनेछ ।’


जगरनाथपुर गाउँपालिका–३ बढैयास्थित बाबा बैजनाथ प्राविमा पनि खाजा कार्यक्रमले विद्यार्थीको संख्या र नियमितता बढेको छ । प्रधानाध्यापक बादशाह साहले २ सय विद्यार्थी भर्ना भएकोमा खाजा कार्यक्रमअघि मुस्किलले आधा नियमित रहेको बताए । ‘दिवा खाजा पाउन थालेपछि एक सय ५० देखि एक सय ६० जति विद्यार्थी आउन थालेका छन्,’ उनले भने, ‘उनीहरू नियमित छन्, यो कार्यक्रमकै प्रभाव हो ।’


सरकारले प्रतिविद्यार्थीलाई दैनिक १५ रुपैयाँको दरले खाजा रकम उपलब्ध गराएको र त्यही रकमबाट विद्यालयहरूमा विद्यार्थीलाई दैनिक खाजा खुवाउने गरिएको छ । २०७५ मंसिरदेखि यसरी प्रत्येक विद्यालयमा दिवा खाजा उपलब्ध गराउने सरकारी निर्णय त्यसै वर्षको फागुन ८ देखि कार्यान्वयन भएको थियो ।


यस वर्षको साउनमा विद्यार्थीका अभिभावकलाई नै उक्त रकम दिने र घरबाटै खाजा ल्याउन प्रोत्साहित गरिएकोमा त्यो प्रयास प्रभावकारी हुन सकेन । जसले गर्दा विद्यालयमा विद्यार्थी संख्या पुनः घट्न पुगेको थियो । भदौदेखि पुनः विद्यालयमै खाजा खुवाउन थालिएपछि विद्यार्थी संख्या पनि बढ्नुका साथै उनीहरूको विद्यालयमा नियमितता पनि बढेको छ ।


वीरगन्ज महानगरपालिकाको शिक्षा विभागका अधिकृत हरि राउतले दिवा खाजा कार्यक्रम अत्यन्त प्रभावकारी भएको दाबी गरे । महानगरपालिका अन्तर्गतका विद्यालय मात्र नभई जिल्लाभरकै विद्यालयमा यो कार्यक्रमबाट सकारात्मक नतिजा आइरहेको उनले बताए । ‘विद्यार्थीलाई नियमित रुपमा विद्यालय ल्याउने र भर्ना दर बढाउने यो कार्यक्रमको लक्ष्य हो,’ उनले भने, ‘दुवै लक्ष्य भेटिएको छ ।’


जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका फत्तबहादुर श्रेष्ठले जिल्लाका ३ सय ६० वटै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरिएको बताए । कार्यक्रम लागू भएका प्रायः सबै विद्यालयबाट विद्यार्थीको विद्यालयमा नियमितता बढेको जानकारी आफूले पाएको उनले दाबी गरे ।

प्रकाशित : चैत्र ३, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?