दाबी नआउँदा थन्किए मोटरसाइकल

शंकर आचार्य

पर्सा — विभिन्न मुद्दा तथा सवारी दुर्घटनामा परेर ल्याइएका मोटरसाइकल व्यवस्थापन हुन नसक्दा प्रहरी कार्यालयमा थन्किएका छन् । सम्बन्धित व्यक्तिले दाबी गर्न नआउँदा र सरकारी निकायले कानूनी प्रक्रिया पूरा गरी लिलामी गर्न चासो नदिँदा सवारीसाधन थन्किएको हो ।

दाबी नआउँदा थन्किए मोटरसाइकल

यस्ता अधिकांश मोटरसाइकल कबाडीमा परिणत भएका छन् । जिल्ला ट्राफिकमा एक दर्जन मोटरसाइकल थन्किएका छन् । तीमध्ये सवारी दुर्घटना मुद्दाको एक थान र कागजपत्र नभएका ११ थान मोटरसाइकल छन् । कागजपत्र नभएका मोटरसाइकल दाबी गर्न धेरै दिनसम्म कोही नआएको प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डितले बताए ।


‘यस्ता मोटरसाइकल कि त चोरीको वा चालकसँग तिनको दुरुस्त कागजात नरहेको हुन सक्छ,’ उनले भने, ‘गत महिना यस्ता २ दर्जन मोटरसाइकल हामीले प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैया पठाएका थियौं ।’ त्यहाँ यस्ता मोटरसाइकल २ महिनासम्म राखिने र कोही कागजातसहित दाबी गर्न आए आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता दिइने उनले बताए ।


जिल्ला प्रहरीमा पनि ६८ वटा मोटरसाइकल थन्किएको डीएसपी गौतम थापाले बताए । तीमध्ये ३२ मोटरसाइकल विभिन्न मुद्दाका दशी प्रमाणका हुन् । यस्ता बाहेक अन्य मोटरसाइकलहरू आवश्यक प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाउने गरिएको उनले बताए । यस्ता मोटरसाइकल कार्यालयले ३ देखि ४ महिनासम्म राख्ने र त्यसपछि भन्सारमा पठाउने गरेको उनले बताए । ‘३/४ महिनासम्म राख्दा अन्य कार्यालयबाट त्यस्ता मोटरसाइकलबारे केही सूचना वा जानकारी आउन सक्ने सम्भावना हुन्छ, सबै मोटरसाइकलको इन्जिन/चेसिस नम्बरको जानकारी यातायात व्यवस्था कार्यालयबाट लिएर तथ्यांक पनि राख्ने गरेका छौं,’ उनले भने, ‘मुद्दा बाहेका मोटरसाइकल कोही दाबी गर्न नआए भन्सारलाई बुझाउने गरिन्छ ।’


हाल कार्यालय परिसरमा थन्किएकामध्ये अधिकांश अत्यन्त पुराना र काम नलाग्ने खालको रहेको उनले बताए । पुरानामा ना३प र बा६प लटसम्मका मोटरसाइकल छन् । यस्ता मोटरसाइकल पुनः प्रयोग गरी चलाउने लायक हुँदैनन् । जिल्ला प्रहरी मातहतका अन्य इकाइमा पनि यसरी ठूलो संख्यामा मोटरसाइकल थन्किएको तर तिनको तथ्यांक हाल उपलब्ध हुन नसकेको डीएसपी थापाले बताए ।

प्रकाशित : चैत्र १, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?