रमदैयामा विषाक्त मदिरा सेवनले ८ जनाको मृत्यु भएपछि धनुषा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने भट्टी भत्काउन थालेको छ । जिल्लाका विभिन्न स्थानमा वर्षाैंदेखि सञ्चालन हुँदै आएका भट्टी प्रहरीले शनिबार भत्काएको हाे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको ‘मिसन टोली’ ले पत्रकार हत्या गर्ने दोषीमाथि कारबाही गर्न माग गरेको छ । मिसन टोलीले बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई शनिबार भेट्दै यस्तो माग गरेको हो । पत्रकार वीरेन्द्रकुमार साहको १२ वर्षअघि हत्या भएको थियो । साह हत्याका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले गत आइतबार पक्राउ गरेपछि टोलीले त्यसको जानकारी लिन यहाँ आइपुगेको थियो ।
सर्लाहीको सदरमुकाम मलंगवासहित आसपास क्षेत्रका महिलालाई तस्करले भारतबाट अवैध सामान ढुवानीमा प्रयोग गर्दै आएका छन् । दैनिक पाँचदेखि सात पटकसम्म सीमा वारपार गरेर महिलाहरूले तस्करीका सामान ओसार्दै आएका हुन् । थोरै मेहनतमा धेरै आम्दानी हुन थालेपछि महिलाहरू यो काममा हौसिएका छन् ।
विभिन्न मुद्दा तथा सवारी दुर्घटनामा परेर ल्याइएका मोटरसाइकल व्यवस्थापन हुन नसक्दा प्रहरी कार्यालयमा थन्किएका छन् । सम्बन्धित व्यक्तिले दाबी गर्न नआउँदा र सरकारी निकायले कानूनी प्रक्रिया पूरा गरी लिलामी गर्न चासो नदिँदा सवारीसाधन थन्किएको हो ।
प्रदेशको नाम र राजधानी तोक्न गठन भएको विशेष संसदीय समितिले गोप्य मतदानको प्रक्रिया सुरु गर्न सुझाव दिएको छ । पटकपटक बैठक बसे पनि कुनै पनि प्रस्तावमा सहमति हुन नसकेको भन्दै समितिले प्रदेश सभालाई यस्तो सुझाव दिएको हो ।
सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा शुक्रबार संसदीय निर्वाचनको झल्को दिनेगरी अभिभावक मतदान गर्न आतुर थिए । हातमा रातो र निलो चिटसहित नागरिकता बोकेर भोट हाल्न युवादेखि वृद्धवृद्धा अभिभावकले विद्यालय व्यावस्थापन समिति पदाधिकारी छान्न लामो लाइन बसेर मतदान गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत संसद् बोलिरहँदा प्रतिपक्षका सांसदले हस्तक्षेप गरेपछि समाजवादी र नेकपा सांसदहरुबीच चर्काचर्की भएको छ । गत आर्थिक वर्षको बाँकी भुक्तानीका लागि गरेको हरेक प्रयास असफल भएको मुख्यमन्त्री राउतले बताउँदै गर्दा नेकपा सांसद रामचन्द्र मण्डलले हस्तक्षेप गरेका थिए । मण्डलको हस्तक्षेपले प्रदेशसभामै दुई दलका सांसदहरुबीच चर्काचर्की भएको हो ।
समयमै मुद्दा किनारा नलाग्दा चोरीनिकासी र तस्करबाट बरामद गरिएको काठ डिभिजन वनअन्तर्गतका पोस्टमा नष्ट हुन थालेको छ । वन कर्मचारीको टोलीले बरामद गरेको सालको गोलिया र कुकाठ सड्न थालेका हुन् ।
धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा पहिलोपटक पुग्ने सेवाग्राही अलमलिन्छन् । कार्यालय समयमै पुगे पनि कर्मचारी र जनप्रतिनिधि भेट्न मुस्किल हुँदा सेवाग्राहीलाई काम पूरा गर्न पाउँदैनन् ।