२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सुरु भयो फागु महोत्सव

श्यामसुन्दर शशि

जनकपुर — मिथिला नाट्यकला परिषद् (मिनाप) को चर्चित वार्षिक कार्यक्रम फागु महोत्सव तथा महामूर्ख सम्मेलन आइतबारदेखि सुरु भएको छ । दुई दिवसीय उक्त महोत्सवको पहिलो दिन आयोजित प्रतियोगात्मक होली गीत गायनमा मिथिला नगरपालिकाको जमुनीवास होरैया समूह प्रथम भएको छ ।

सुरु भयो फागु महोत्सव

धनुषाको बेला गाउँ दोस्रो तथा महोत्तरीको विश्वम्भरपुर समूह तेस्रो भएको छ । विजयी समूहहरुलाई चाँदीको तक्मा,चाँदीको शिल्ड,प्रमाण पत्र,नगद तथा डम्फा प्रदान गरेर पुरस्कृत गरिएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मिथिला मधेसको कला र संस्कृति जगेर्नामा मिनापले गरेको योगदानको प्रशंसा गरेका थिए । होली,दीपावली,छठि लगायतका पर्व मधेसको पहिचान भएको उल्लेख गर्दै उनले मुलुक संघीय संरचनामा गएपछि , यहाँको पर्वले विशेष सम्मान पाएको बताए ।


फागु महोत्सवको प्रारम्भ डम्फा बजाएर गरिएको थियो । मुख्य अतिथि मन्त्री सोनल,प्रदेश सभा सदस्य परमेश्वर साह,जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झा, जनकपुरधाम उपमहानगर पालिकाकी उपप्रमुख रीता कुमारी मिश्र,जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी,मिनाप अध्यक्ष प्रमेश झा,पूर्व अध्यक्षहरु सुनिल मिश्र,सुनिल मल्लिक,मदन ठाकुर व्यावसायी मनोज चौधरीलगायतले सामूहिक रुपमा डम्फा बजाएर महोत्सव प्रारम्भ गरेका थिए ।


महोत्सवको दोश्रो दिन सोमबार महामूर्ख सम्मेलन आयोजन गरिने छ । फागु पर्वको पूर्व सन्ध्यामा आयोजित हुँदै आएको महामूर्ख सम्मेलनमा समाजिक,आर्थिक,साहित्यिक,सांस्कृतिक तथा खेलकुद लगायतका विधामा उत्कृष्ट योगदान दिने एक जनालाई महामूर्ख तथा अन्य केही जनालाई विभिन्‍न व्यङात्मक विभुषणले विभूषित गर्ने चलन छ ।


साहित्यकार राजेन्द्र प्रसाद विमल, पूर्व मन्त्री रामचन्द्र झा, वृहत्तर जनकपुर क्षेत्रविकास परिषद्‌का पूर्व अध्यक्ष दीगम्बर राय, राजनीतिक समिक्षक सिके लाल, साहित्यकार ओमकुमार झा, वृषेशचन्द्र लाल,नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत महामूर्ख घोषित भइसकेका छन् । महामूर्खको घोषणा अन्तिम दिनमात्र गर्ने चलन छ ।


जनकपुरमा श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म फागु गीत गाउने चलन छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?