ग्रामीण सडकमा पनि ट्राफिक प्रहरी

लक्ष्मी साह

बारा — निर्माणाधिन हुलाकी सडकको बरियारपुर–लंगडा चोक खण्डमा एक साताअघि तीव्र गतिका दुईवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भयो ।

ग्रामीण सडकमा पनि ट्राफिक प्रहरी

उक्त दुर्घटना भएको केही दिनअघि मात्र हुलाकी सडककै हरनहिया र पटेर्वा चोक नजिक २/२ वटा मोटरसाइकल तीन छुट्टाछुट्टै स्थानमा ठोक्किँदा ६ जना घाइते भए । यी दुवै सडकखण्ड केही समयअघि मात्रै कालोपत्र भएका हुन् । ग्रामीण क्षेत्रमा बनेका नयाँ कालोपत्रे सडकमा टिपर, ट्रक, मोटरसाइकल तथा कार तीब्र गतिमा गुडाउँदा बढी दुर्घटना भएको प्रहरी बताउँछ ।


ग्रामीण भेगमा सडक दुर्घटना बढ्न थालेपछि रोकथामका लागि हाल ट्राफिक प्रहरी परिचालन गर्न थालिएको छ । यसअघि ट्राफिक प्रहरीहरू सहर केन्द्रित थिए । जिल्लामा २१ जना ट्राफिक प्रहरीको दरबन्दी छ । यसमा २३ जनशक्ति थप गरी जिल्लाभर परिचालन गरिएको बारा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश थापाले बताए । ‘अचेल गाउँतिर निर्माण गरिएका नयाँ कालोपत्रे सडकमा दिनहुँ दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘यस्ता सडकमा तीब्र रुपमा सवारी साधन चलाउँदा दुर्घटना भइरहेकोले रोकथामका लागि गाउँतिर ट्राफिक केन्द्रित गरिएको हो ।’ मधेसमा दाइजोका रुपमा दिइने मोटरसाइकल सिकारु युवाले चलाउँदा दुर्घटना भइरहेको उनको भनाइ छ । ग्रामीण भेगमा विकास निर्माणका लागि बालुवा, गिट्टी लिएर ओहोरदोहोर गर्ने टिपरबाट पनि दुर्घटना बढेका छन् ।


ट्राफिक प्रहरी नायब निरीक्षक दिपेन्द्रसाह तेलीका अनुसार गत माघमा जिल्लामा भएका सवारी दुर्घटनामा सबैभन्दा बढी गाउँतिरै भएको छ । माघमा भएका ४४ दुर्घटनामा सात जनाको मृत्यु र ३९ घाइते भएका छन् । जसमध्ये २६ वटा मोटरसाइकलका दुर्घटना छन् । ‘घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराउन नेपाल प्रहरीको संयुक्त टोली (भिग्रस) बाट आकश्मिकसँगै मापसे जाँच तीब्र बनाइएको छ,’ उनले भने, ‘यो अभियान ग्रामीण सडकहरूमा दिउँसो र राति पनि सुरु गरिएको छ ।’


तीन दिनअघि सुरु ट्राफिक सप्ताहअन्तर्गत पैदल यात्रुहरू, सवारी चालक तथा सहचालक, विद्यार्थी, वृद्धवृद्धालाई छड्के कक्षा, सवारी अनुमति जाँच, वृतचित्र प्रदर्शनी तथा ‘अडिओ रेकर्डिङ’ बाट सचेतना फैलाउने काम गरिएको उनले बताए । दाताहरूको सहयोगमा ठाउँठाउँमा सांकेतिक बोर्ड, पर्चा–पम्पलेट वितरण गर्ने काम भइरहेको छ । तेलीका अनुसार हालै निर्माण सम्पन्न भएका कलैया–मलाही सडक, हुलाकी सडकअन्तर्गत मानमत–मटिअर्वा, तामागढी–सिम्रौनगढ र वीरगन्जको प्रतिमा चोकदेखि बरियारपुरसम्मको पक्की सडकमा दुर्घटना हुने क्रम बढेको छ ।

प्रकाशित : फाल्गुन २४, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?