राजस्व छल्न ग्यारेजमै गाडी

शिव पुरी

(रौतहट) — गौर–चन्द्रनिगाहपुर खण्डको मोटर ग्यारेजहरूमा लामो समयदेखि भारतीय गाडी थन्किएको छ । मर्मतको बहानामा राजस्व छल्न ग्यारेजमा गाडी थन्काइएको हो । राजस्व तिरेर मात्र चलाउन पाइने नियममा कडाइपछि जिल्लामा भारतीय गाडी कमै देखिएको छ । तर, राजस्व छलीका लागि ग्यारेजमा थन्काउने क्रम भने बढेको छ ।

राजस्व छल्न ग्यारेजमै गाडी

गरुडा, शिवनगर, गौरमा सबैभन्दा धेरै भारतीय नम्बर प्लेटका गाडी वर्षौंदेखि ग्यारेजमा अलपत्र छन् । यस्ता गाडीले एक दिनको पनि राजस्व तिर्दैनन् । वर्षमा ३० दिन मात्र भन्सार तिर्ने नियम छ । आर्थिक वर्षको साउन १ गतेदेखि असार मसान्तसम्म ३० वटा मात्र भन्सार काट्न पाइने प्रावधान रहेको गौर भन्सार कार्यालयका अधिकृत आशुतोष राईले बताए । ‘पहिला मेनुअल सिस्टम हुँदा भारतीय गाडीले प्रवेश गर्दा झुक्याउन सक्थ्यो,’ उनले भने, ‘अब कम्यूटराइज सिस्टम लागू भएपछि झुक्याउन सक्दैन । एउटा गाडीले कतिपटक भन्सार तिर्‍यो थाहा हुन्छ ।’


भारतबाट नेपाल प्रवेश गरेपछि कार, जिपलगायतका साना गाडीले दैनिक ५ सय राजस्व तिर्नुपर्छ । त्यस्तै मोटरसाइकलले १ सय ५० र ठूला सवारीले १ हजार ७ सय रुपैयाँ राजस्व तिर्नुपर्छ । भारतबाट सामान बोकेर आउने ठूला सवारी ट्रकलगायतले भन्सार राजस्व तिरेका हुन्छन् । साना सवारीले मात्र झुक्याउने गरेको भन्सारका कर्मचारहरूले बताए । रौतहटमा करिब ५ सय भारतीय गाडी रहेको अनुमान छ । बाटोका ग्यारेजहरूमा कति छन् भन्ने स्थानीय प्रशासनले तथ्यांक राख्ने भएको छ ।


भन्सार अधिकृत राईले ग्यारेजमा मर्मतको नाममा लामो समयसम्म राख्ने सवारी सुरक्षाकर्मीले समातेर बुझाएको खण्डमा ‘सिज’ गर्न सकिने बताए । ‘मर्मत गर्न राखेको वा कुनै आधार पेस गरेमा प्रतिदिन २ हजार ५ सयका दरले राजस्व लिई छाड्न सकिन्छ,’ उनले भने । ग्यारेजमा स्कार्पियोदेखि महँगा भारतीय गाडीहरू छन् । जिल्ला प्रहरीका डीएसपी नवीन कार्कीले भन्सार राजस्व नतिरेर बसेको भारतीय नम्बरप्लेटका गाडीलाई कारबाहीका लागि पठाउने गरेको बताए । ‘पछिल्लो समय भारतीय गाडी सञ्चालनमा कडाइ गरेका छौं,’ उनले भने, ‘ग्यारेजमा थन्काएका सवारीको हकमा योजना बनाउँदै छौं ।’ जिल्लाका ठूला पार्टीका नेतादेखि सामान्य कार्यकर्ताले समेत भारतीय गाडी चढ्छन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?