कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेयरका पक्षधरमाथि मुद्दा 

लक्ष्मी साह

बारा — महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवविरुद्ध बोल्ने स्थानीय मुकेश कुसवाहालाई निर्घात कुटपिट गरी घाइते बनाएका मेयरका पक्षधरहरुमाथि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेर संलग्नमध्ये एकजना युवकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको क्रममा अदालतबाट ५ दिनको म्याद थमाएर हिरासतमा राखेको छ । 

मेयर यादवका नजिक रहेका सुचिन्द्र बैठालाई पक्राउ गरिएको प्रहरीले जनायो । बैठा त्यहाँका करारका कर्मचारी हुन् । सुचिन्द्रसहित नौ जनामाथि मुद्दा दर्ता गरिएको हो । अरु आठजना फरार छन् । ‘फरारको खोजी भइरहेको र पक्राउ पर्नेबाट अनुसन्धानको क्रममा बयान लिने काम भइरहेको छ,’ प्रहरी उपरिक्षक कृष्ण पंगेनीले भने, ‘घटनाको जरोसम्म पुगेर अनुसन्धान हुन्छ । घटनामा संलग्न दुबै पक्षको पृष्ठभूमि बुझिरहेका छौं ।’ अनुसन्धानमा काखापाखा नहुने उनले बताए । मेयर पक्षधरमाथि प्रहरीले मुद्दा दर्ता गरेपछि मेयरले आफ्ना कार्यकर्ता र कर्मचारी जोगाउन कर्मचारी संगठनसहित काँग्रेस पार्टीबाट प्रदर्शन गराउँदै आएका छन्।


महागढीमाई नगरपालिका–२ का मुकेशले आफ्नो घरसहित छिमेकको घरमा नालाको फोहोर पानी पसिरहेकोले त्यसको निकासको लागि नाला निर्माण गरिदिन आग्रह गर्दै मेयर यादवलाई गत फागुन ५ मा मैनी टोलमा बोलाएका थिए । त्यो बेला मेयर यादव दलबलसहित त्यहाँ पुगेका थिए । त्यसपछि स्थानीयले नालाबाट भएका समस्याबारे मेयरलाई अवगत गराएका थिए ।

बारामा मेयरविरुद्ध बोल्ने कुटिए


त्यसपछि मेयर यादवले सार्वजनिक रुपमै तत्काल नाला नबन्ने प्रतिक्रिया दिएपछि मुकेशले त्यो प्रतिक्रिया भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल बनाएर सम्पर्कविहिन भएका थिए । त्यसपछि मेयर यादवले नगर प्रहरी भिडाएर खेतमा काम गर्दै गरेका उनका बुबा हरेन्द्र कुसवाहालाई नगरपालिकामा झिकाएर दुर्व्यवहार गर्दै धम्काएका थिए । त्यो बेला केहीबेर नगरपालिकाको चर्पीमा थुनेका थिए । केहीबेर मेयरले हरेन्द्रलाई आफ्नो घरमा लगेर नियन्त्रणमा राखेका थिए ।


त्यो घटनाबारे हरेन्द्र र उनका छोरा मुकेशले प्रहरीमा उजुरी गर्न कलैया गए । बाबुछोरा कलैयाबाट साँझ घर फर्किए । फर्किदा मुकेश बरियारपुर बजारमै अल्मलिए । त्यतिकैमा मेयरका पक्षधरहरुले मुकेशमाथि आक्रमण गर्दै निर्घात कुटेका थिए । मुक्काले प्रहार गरेपछि उनको कोख, आन्द्रा र मुटु, किडनीमा गहिरो चोट छ । थप उपचारका उनी काठमाडौं सिभिल अस्पतालमा भर्ना छन् ।


मेयरका पक्षधरहरुले मुकेशमाथि आक्रमण गर्ने क्रममा स्थानीयले मुकेशलाई जोगाउँदै प्रतिकार गर्दा मेयरका पक्षधरसमेत घाइते भएका थिए । स्थानीयको कुटाइले नगरपालिका चालक साहेबप्रसाद यादव, धिरेन्द्र लहेरा र साजन गुप्तालाई चोटपटक लाग्यो । टाउको फुटेका चालक यादव र लहेरा नेसनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?