१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तस्करलाई प्रतिचल्ला ८ रुपैयाँ

कान्तिपुर संवाददाता

सर्लाही — नेपालमा भन्दा आधा सस्तो पर्ने हुँदा स्थानीय व्यापारीले भारतबाट चल्ला तस्करी गरेर ल्याउन थालेका छन् । मोटरसाइकल र साइकलमा चल्लाको कार्टुनलाई पोका बनाएर राति नेपाल भित्र्याउने क्रम बढेको हो ।

नेपालमा प्रतिचल्ला ७० देखि ८० रुपैयाँ पर्छ । तर, भारतबाट ल्याउँदा प्रतिचल्ला ३२ रुपैयाँ र सीमा कटाउन तस्करले प्रतिचल्ला ८ रुपैयाँ लिँदा नेपाली रुपैयाँ ४० मात्र पर्छ । प्रतिचल्ला ५ रुपैयाँ थपिदिए तस्करले खोरसम्म चल्ला पुर्‍याउने जिम्मा लिन्छन् । ‘नेपाली चल्लामा बढी लागत लाग्छ,’ एक कारोबारीले भने, ‘त्यसको अनुपातमा भारतबाट ल्याइने चल्लामा आधा मात्र लगानी गर्नुपरेको छ ।’


सर्लाहीको मुख्य नाका मलंगवालगायत नाकाबाट चल्ला तस्करी भइरहेको छ । पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणी क्षेत्रमा भारतका कुखुरा तथा चल्लाको बिगबिगी रहेको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष चन्द्रिका सिंहले बताए । ‘खुला सीमा र मूल्यमा कमीका कारण यस क्षेत्रमा तस्करी बढेको हो,’ उनले भने, ‘यसले नेपाली कुखुरा तथा चल्ला व्यवसायी मारमा परेका छन् ।’


सीमामा खटिएका प्रहरीले सुराकीका आधारमा बेला–बेला तस्करीको चल्ला समातेर गरेर नष्ट गर्दै आएको छ । तर लुकीछिपी चल्ला भित्र्याउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले खुला सीमाका कारण पोके तस्करहरू देखापरेको र यसलाई रोक्ने प्रयास भइरहेको बताए । ‘सीमा क्षेत्रबाट कुनै किसिमको अवैध सामान विना भन्सार निकासी वा पैठारी हुन नदिन निर्देशन दिएको छु । भारतीय चल्ला त समातेर नै नष्ट गर्दै आएको छु,’ उनले भने, ‘लुकीछिपी पोके तस्करलाई पनि नियन्त्रणको प्रयास भइरहेको छ ।’ भारतीय सीमाबाट भित्रिने कुखुराका चल्लामा विभिन्न खाले रोग हुन सक्ने भन्दै कुखुरा व्यवसायी संघले चिन्ता जनाएको छ । भारतमा पटक पटक बर्डफ्लु रोग देखिने हुनाले संघले व्यापारीहरूलाई भारतीय कुखुराको चल्ला नराख्न अनुरोध गर्दै आएको छ ।


प्रकाशित : फाल्गुन १३, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?