२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कुलो मासेर प्लटिङ

शिव पुरी

रौतहट — दशकअघिसम्म कुलो, पैनी बनाई चाँदी खोलाबाट ल्याइएको पानीले चन्द्रपुर नगरका खेतमा सिँचाइ हुन्थ्यो । प्रत्येक घरबाट स्थानीयहरू खटिन्थे र बर्सेनि कुलो, पैनी सफा गर्थे । जसले सिँचाइ सहज बन्थ्यो ।.अहिले त्यस्ता कुलो, पैनी मासेर प्लटिङ गरिएको छ ।

कुलो मासेर प्लटिङ

चन्द्रपुर नगरपालिकाको टेकान र चिडियादह हुँदै दक्षिणभेगका एक सयभन्दा बढी पूराना कुलो मासेर प्लटिङ गरिएको नापी कार्यालय चन्द्रपुरका अमिन कमल शाहले बताए । उनले सार्वजनिक सम्पत्तिको जग्गा नापिदिन स्थानीयबाट आग्रह हुने गरेको बताए । ‘कुलो, पैनीजस्ता सार्वजनिक सम्पत्ति मासिने क्रम बढ्यो, जोगाउनुपर्‍यो भन्दै स्थानीयहरू हामीकहाँ आउनुहुन्छ,’ उनले भने, ‘तर यस्ता सम्पत्तिको संरक्षण र नापनक्सा गर्ने अधिकार अहिले स्थानीय तहलाई दिइएको छ । हामी केही गर्न सक्दैनौं ।’


नापी कार्यालयको नक्सामा कुलोले चर्चेको देखिए पनि जग्गा कारोबारीले त्यहाँ प्लटिङ गरेका छन् । प्लटिङ गरिएको जग्गाको किनबेचसमेत भइरहेको छ । चन्द्रपुर अस्पताल आसपासको क्षेत्रमा पुरानो पैनी मासेर प्लटिङवालाले बाटो बनाएको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन् । चन्द्रपुर–६ का किसान प्रह्लाद थापाले कुलो मासिएपछि खेतमा सिँचाइ गर्न समस्या भएको गुनासो गरे । ‘चुरेको पानी पैनी हुँदै खेतसम्म पुग्थ्यो,’ उनले भने, ‘त्यो पैनी अहिले मासिएको छ । नक्सामा देखिए पनि भोगचलनमा छैन ।’ चन्द्रपुर–६ स्थित झनझने टोलमा मात्रै दुई सय साना–ठूला कुलो र पैनी छन् । उनका अनुसार कुलो मासिन थालेपछि किसानले पम्पसेटबाट जमिनमूनिको पानी तानेर सिँचाइ गर्न बाध्य छन् । जग्गा व्यवसायी सन्तोषकुमार चौधरीले झनझने टोलमा आफ्नो जग्गासँगै रहेको १४ फिटसम्म फैलिएको पैनी मासेर प्लटिङ गरेका छन् । ‘सार्वजनिक पैनी मास्ने काम गरेको छैन,’ उनले भने ।


चन्द्रपुर बजार क्षेत्रबाट दक्षिणपूर्वमा रहेको १६ फिट फराकिलो कुलो मासेर बाटो बनाइएपछि स्थानीयले गत माघ ११ मा नगरपालिकामा उजुरी दिएका थिए । हाल उक्त कार्यलाई वडा कार्यालयले रोक्ने प्रयास थालेको छ । वडासदस्य जंगबहादुर घलानले सार्वजनिक कुलो मासेर व्यक्तिले फाइदा लिन खोजेकाले फेरि कुलो बनाउन लागेको बताए । ‘बाटो बनाउन पुरेको माटो हटाई कुलो बनाउन लागेका छौं,’ उनले भने, ‘सार्वजनिक पैनी र कुलो मास्ने काम बन्द गराउँछौं ।’


वडाभित्र रहेका कुलो तथा सार्वजनिक जमिन अतिक्रमण हुने क्रम बढेकोले त्यसको संरक्षणमा लागेको घलानले सुनाए । कुलो नै मासिएपछि स्थानीय किसानहरूले मौखिक रुपमा गुनासो गर्न थालेको चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले बताए । उनका अनुसार मासिएको कुलो, पैनीको तथ्यांक निकाल्न नगरपालिकाबाट कर्मचारी खटाइएको छ । उनले भने, ‘तथ्यांक आएपछि अतिक्रमण रोक्ने र संरक्षणको प्रयास थाल्छौं ।’

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?