१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिर्सिया खोलामा उद्योगको ढल

बेलाबेलामा विभिन्न उद्योगका पदाधिकारीलाई कारबाही गरिए पनि प्रदूषित पानी मिसाउन छाडेका छैनन् 
शंकर आचार्य

(पर्सा) — पर्साको सिर्सिया खोलामा हेलिएर वीरगन्जका अधिवक्ता सुरेन्द्र कुर्मी पौडी खेल्न सिपालु भए । वीरगन्जस्थित रमगढवाका कुर्मीलाई सिर्सिया खोलामा अहिले पनि पौडिन मन लाग्छ । तर, उनको जाँगर खोलाको कालो न कालो पानीले मारिदिन्छ ।

सिर्सिया खोलामा उद्योगको ढल

बाल्यकालमा सिर्सियामा घन्टौं पौडी खेल्ने उनलाई सिर्सियाको प्रदूषित पानीले निराश बनाएको छ । त्यसैले दुई वर्षयता सिर्सिया खोला सफाइ अभियान नै थालेका छन् । त्यससँगै वीरगन्ज प्रदूषणमुक्त अभियानलाई पनि जोडेका छन् ।


सिर्सिया खोला प्रदूषणको आरोपमा गत कात्तिकमा एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी दुई जनालाई प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि खोलाको पानी संग्लिने आशा बढेको थियो । तर, त्यसको दुई साता नबित्दै खोलामा फेरि कालो पानी बग्न थाल्यो । व्यवस्थापक र प्रबन्धक नै पक्राउ परेपछि खोलामा मिसाइएको उद्योगको ढल बन्द त भयो । तर, घटना सामसुमपछि फेरि पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगले फोहोर पानी मिसाउन थाले ।


‘सिर्सियाको पानी सफा बनाउनैपर्छ,’ कुर्मीले भने, ‘खोलाको पानी दूषित हुँदा समाजलाई नै असर परेको छ । आउँदो पुस्ताका लागि पनि खोला सफाइलाई निरन्तरता दिनुपर्छ ।’ तीन दशकयता यो खोला प्रदूषणको चपेटामा परेको हो । खोलाको पानी मानव तथा चौपायाका लागि प्रयोगयोग्य छैन । खोलाको कालोपानीले सिँचाइ पनि सम्भव छैन । खोलामा धार्मिक परम्पराअनुसार पूजापाठ गर्न र मृत्युमा अन्त्येष्टि संस्कार गर्नसमेत अप्ठेरो छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करीब ३ किमी दक्षिण बगेपछि प्रदूषित हुन थाल्छ । वीरगन्जसम्म बग्दा त खोलाको पानी पूरै कालो भइसक्छ ।


सफाइ अभियानले पुस १७ गते वीरगन्जको घण्टाघरमा धर्नासमेत थालेको थियो । त्यसअघि हस्ताक्षर संकलन, सर्वदलीय सर्वपक्षीय भेला, प्रदूषणको कारक ५१ उद्योगविरुद्ध जिल्ला अदालतमा मुद्दा लगायतका दबाबमूलक अभियान थालिएको थियो । तर, लामो समयको जनदबाबले पनि सिर्सिया खोला प्रदूषणमुक्त हुन सकेको छैन । अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले सिर्सिया खोला सफाइका लागि साताभित्रै संघर्षको अर्को कार्यक्रम तय गरिने बताए ।


पर्सा–बारा औद्योगिक कोरिडोर भएर बग्ने क्रममा सिर्सिया खोलाले यहाँका उद्योगहरूबाट छोडिएको प्रदूषित पानी र रसायन लिएर भारतमा प्रवेश गर्दा भारतीय पनि आजित छन् । वीरगन्ज नजिकको भारतीय सहर रक्सौलका स्थानीयले समेत यो खोलाको प्रदूषण नियन्त्रणका लागि महाअभियान चलाएका छन् ।


गत छठ पर्वअघि सिर्सिया खोला प्रदूषणमा जिम्मेवार रहेको आरोपमा पर्सा बारा औद्योगिक कोरिडोरस्थित हिमालयन लेदर उद्योगका व्यवस्थापक चिनियाँ नागरिक लिउता छुवाङ र म्यानेजर भारत घर भई हाल मकवानपुर बस्ने तिनजुङ गुरुङ पक्राउ परेका थिए । सार्वजनिक अपराध मुद्दा चलाइएका उनीहरू त्यसपछि सामान्य धरौटी राखी मुक्त भए ।

उद्योगविरुद्ध स्थानीयले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको उद्योगबाट निस्केको दूषित पानी वीरगन्ज महानगरपालिका–२३ चोर्नीबाट सिर्सिया खोलामा झार्ने गरिएको छ । उनीहरू पक्राउ परेको केही दिनसम्म अन्य उद्योगले खोलामा सोझै प्रदूषित पानी झार्ने साहस गरेका थिएनन् ।


तर दुवै रिहा भएलगत्तै सबै उद्योगले फोहोर फाल्ने कामलाई निरन्तरता दिएका छन् । एक दशकअघि सिर्सिया खोलाको प्रदूषणको स्रोत पत्ता लगाउन सिर्सिया नदी अनुगमन समिति गठन गरिएको थियो । समितिले आफ्नो प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाएको थियो । प्रतिवेदनमा सिर्सिया खोलालाई प्रदूषित बनाउने ४८ वटा स्रोत किटान गरिएको छ । ती स्रोतमध्ये पर्सा–बारा औद्योगिक कोरिडोरका ४६ उद्योग, वीरगन्ज महानगर कार्यालय र वीरगन्ज नगर क्षेत्रमा सञ्चालित अवैध मदिरा भट्टीलाई किटान गरिएको थियो ।


प्रतिवेदनले खोला प्रदूषित बनाउने मुख्य उद्योगहरूमा छाला उद्योग, कपडा उद्योग, फलाम उद्योग, साबुन उद्योग, घिउ उद्योग र मदिरा उद्योग रहेको दाबी गरेको थियो । हालसम्म तीमध्ये केही उद्योगले मात्र आफ्नो वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर प्रयोग गरेका छन् । अधिकांशले अझै खोलामै प्रदूषित पानी र खरानी फाल्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?