२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आईसीपीमा थन्किए सवारीसाधन

ग्राहकले बुकिङ गरेपछि मात्र लैजाने हुँदा आयातकर्ताले गोदाम भाडामा लिनु पर्दैन
शंकर आचार्य

(पर्सा) — आयातकर्ताले लामो समयदेखि जाँचपास गरी नलग्दा वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसरमा सवारीसाधन थन्किएका छन् । आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको तथ्यांकअनुसार चौकी परिसरमा अहिले २ सय ५८ थान सवारीसाधन थन्किएका छन् । झण्डै यति नै संख्यामा सवारीसाधन वीरगन्ज भन्सार कार्यालयको यार्डमा पनि थन्किएका छन् । 

आईसीपीमा थन्किए सवारीसाधन

आईसीपीमा थन्किएका सवारीमध्ये २९ वटा कार छन् । अधिकांश कार इसिजु, हुन्डाई र टोयोटा कम्पनीका हुन् । यी कार भारत र तेस्रो मुलुकबाट आयात भएका हुन् । इसिजुको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङ, हुन्डाईको लक्ष्मी क्लियरिङ र युनाइटेड ट्रेड लिंक तथा टोयोटाको आयातकर्ता युनाइटेड ट्रेड लिंकले कार लगेका छैनन् ।


समितिले चौकी परिसरमा पार्किङ गरिने कारको प्रवेश शुल्क १ सय ७ रुपैयाँ लिँदै आएको छ । सातासम्म पार्किङ शुल्क (भ्याट बाहेक) ३ सय २१ रुपैयाँ र ८ दिनपश्चात् दैनिक ४ सय २८ रुपैयाँ ३४ पैसा लिने गरेको समितिले जनाएको छ । चौकीमा थन्किएका २० दिनमाथिका कारबाट ९७ हजार र ३ सय २८ दिनमाथिका कारबाट १ लाख ५८ हजार रुपैयाँ पार्किङ शुल्क असुल्न बाँकी छ । यो नाकाबाट आयात हुने कारको प्रमुख बजार काठमाडौं हो । त्यहाँ ग्राहकले कार बुकिङ गरेपछि मात्र आयातकर्ताले कार जाँचपास गराई छुटाउने गरेका छन् । यसो गर्दा राजधानीमा गोदाम भाडामा लिई कार राख्नु पर्दैन । पछिल्लो केही समययता वाणिज्य बैंकहरूले अटोलोनमा कडाइ गरेपछि कारको खरिदबिक्री घटेकाले पनि आयातकर्ताहरूले कार लगेका छैनन् । समिति वीरगन्ज कार्यालय प्रमुख हेमेन्द्र मोहन शाहीले नियमअनुसार आयातकर्ताले ६० दिनसम्म यस्ता सवारीसाधन लैजानुपर्ने बताए । सो अवधिमा नलगे भन्सार कार्यालयले लिलामी गर्न सक्छ । ‘हामीले यस्ता सवारीसाधनको सूची पटकपटक वीरगन्ज भन्सार कार्यालयलाई दिएका छौं,’ उनले भने, ‘लिलामी गर्ने विषय भन्सार कार्यालयको तजबिजिमा निर्भर हुन्छ ।’


वीरगन्ज भन्सारका सूचना अधिकृत विमल साहले कार जाँचपासबारे आफूले पनि बुझ्नुपर्ने बताए । ‘कतिपय कार जाँचपास प्रक्रियामा पनि हुन्छन्,’ उनले भने, ‘त्यस्ताको हकमा आवश्यक छानबिन गरेर मात्र बाँकी लामो समयसम्म राखेकाहरूको लिलाम गर्नुपर्ने हुन्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?