१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

शिक्षकको कुटाइले एभरग्रीन बोर्डिङका १६ वर्षीय राजनकुमार ठाकुरको आँखामा चोट लागेको छ
शिव पुरी

(रौतहट) — ‘नबुझेको सोध्दा मैले के गल्ती गरेँ ? गल्ती गरिहाले पनि माफ दिनुपर्नेमा उल्टै अपराधीलाई जस्तै कुटपिट गरे ।’ यति भन्दै गर्दा चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरको आँखा रसायो । आफूलाई शिक्षा दिने गुरुको हातबाट बुधबार कक्षाकोठामै उनी नराम्ररी कुटिए । 

नबुझेको सोध्दा शिक्षकबाट कुटाइ

शिक्षक रामप्रवेश यादवले ‘बढी बोलेको’ भन्दै ठाकुरमाथि मुक्का बर्साएका हुन् । कक्षाकोठाबाट मुक्का हान्दै होस्टलसम्म पुर्‍याएको विद्यार्थी ठाकुरले बताए । ‘मलाई मार्ने नै गरी एकोहोरो बक्सिङ हान्नुभयो,’ उनले भने, ‘सन्तमान सरले बचाउनु भयो ।’ आँखामा चोट लागेका ठाकुरले रुँदै घटनाबारे बेलिबिस्तार लगाए ।


सदाझैं विज्ञान विषय पढाउन शिक्षक यादव बुधबार कक्षाकोठामा प्रवेश गरेका थिए । विद्यार्थी अजित चौधरीले नबुझेको विषयमा सोधे । शिक्षकले यसको जवाफ भोलि भनुलाँ भनेर टारे । विद्यार्थीले चित्त बुझाएनन् । राजनले ‘आजै जवाफ दिनुस् न सर’ भने । यत्तिकैमा शिक्षक यादव राजनमाथि खनिए । आवेगमा आई एकोहोरो मुक्का बजार्न थाले । आफूमाथि एकोहोरो कुटपिट गर्दा अभिभावकलाई बोलाइदेऊ भन्दा कसैले मानेनन् । शिक्षक यादवको डरले अन्य विद्यार्थी चुइँक्क पनि बोल्न नसकेको ठाकुरले बताए ।


घाइते छोरा हेर्न विद्यालय पुगेका बुबा मनोजकुमार ठाकुरमाथि पनि दुर्व्यवहार भएको छ । बालचनपुर चोकमा फार्मेसी थापेर बसेका मनोज घर पुग्नासाथ बोर्डिङका प्रिन्सिपल शंकरप्रसाद साहले फोन गरेर छोरा सामान्य घाइते भएको जानकारी गराए । मनोज हस्याङफस्याङ गर्दै विद्यालय पुगे । छोराको अवस्था देखेपछि उनी सहनै नसक्ने भए । शिक्षक यादवलाई घटनाबारे सोध्दा उल्टै आफूमाथि दुर्व्यवहार गरेको उनले बताए ।


उनको खुट्टामा सामान्य चोट लागेको छ । कक्षा ७ मा पढ्दै गरेको जेठो छोरा निराजन ठाकुरलाई पनि यसरी नै शिक्षक गोविन्द र राजीवले कुटपिट गरेपछि बोर्डिङबाट निकालेर सरकारी विद्यालयमा भर्ना गरेको मनोजले सुनाए । उनले शिक्षक यादवविरुद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका छन् । प्रहरीले घाइते विद्यार्थीको स्वास्थ्य परीक्षण र उपचारको लागि चन्द्रपुर अस्पताल पठाएको छ । प्रिन्सिपल शंकरप्रसाद साहले कुटपिट घटना दुःखद भएको बताउँदै शिक्षक यादवबाट गल्ती भएको जानकारी दिए । ‘यसलाई ठूलो ‘इस्यु’ नबनाऔं । अब के गर्नुपर्छ त्यो भन्नुस्,’ उनले भने, ‘घटनाबारे छलफल गरौं ।’

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?