३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तस्करीको चौपाया नियन्त्रण

कान्तिपुर संवाददाता

पर्सा — पर्साको पश्चिमी नाका हुँदै तस्करी गर्न लागिएको भैंसी तथा पाडापाडी नियन्त्रण लिइएको छ । सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले भारतबाट तस्करी गरी ल्याउँदै गरेको ५० वटा भैंसी तथा पाँडापाडी जगरनाथपुर गाउँपालिका–१ सुपौलीबाट नियन्त्रणमा लिएको हो ।

तस्करीको चौपाया नियन्त्रण

यसअघि जानकीटोला नाकासम्म मात्र फैलिएको चौपाया तस्करीको जालो हाल त्यसभन्दा पश्चिमतर्फ पुगेको यस घटनाक्रमले देखाएको छ । बरामद भएका चौपायामध्ये १३ वटा थारो भैंसी र ३७ राँगा पाडापाडी छन् । ती चौपाया वीरगन्ज भन्सार कार्यालयले मंगलबार पटेर्वासुगौली गाउँपालिकामा पुगेर लीलामी गरेको थियो । ५० वटा भैंसी रपाडापाडी १२ लाख रुपैयाँमा लीलाम भएको भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ । हाल भैंसी बरामद भएको नाकाभन्दा पश्चिम ठोरी गाउँपालिका क्षेत्रबाट पनि पछिल्लो समय यस्ता तस्करीका चौपाया नियन्त्रणमा लिने गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जका पशु चिकित्सकहरूको टोली मंगलबार स्थलगत रुपमै पुगेर बरामद भएका चौपायाको स्वास्थ्य परीक्षण गरेर फर्केको थियो । पशु चिकित्सक अरुण कुमार सिन्हाले यति धेरै परिमाणमा भैंसी र पाडापाडी बरामद भएको यो पहिलो पटक रहेको बताए । यसअघि एकै साथ ४४ वटासम्म भैंसी यसरी बरामद भएको र ती हालको भन्दा आकारमा साना रहेको उनले बताए ।


भारतबाट नेपालतर्फ वैधानिक रुपमा पशु निर्यात गर्न भारतीय निर्याकर्ताले त्यहाँस्थित पशु क्वारेन्टाइन कार्यालयको प्रमाणपत्र लिनु आवश्यक हुन्छ । परम्परागत रुपले भारतबाट यस्ता चौपाया नेपाल ल्याउने गरेका चौपाया तस्कर गिरोहले भारतीय क्वारेन्टाइन कार्यालयको प्रमाणपत्र बिनै चौपाया नेपाल भित्र्याउने गर्छन् । यसो गर्दा क्वारेन्टाइन कार्यालयमा बुझाउने राजस्व र नेपालको भन्सार कार्यालयमा लाग्ने भन्सार शुल्क पनि तिर्नु पर्दैन ।


विभिन्न नाकाबाट भित्रिने यस्ता भैंसी र पाडापाडी बाराको परवानीपुर तथा जीतपुरमा लाग्ने भैंसी बजार सम्म पुग्ने गरेका छन् । त्यहाँबाट सोझै राजधानी लग्ने गरिएका छन् । राजधानीमा भैंसीको मासुको माग अत्यधिक छ । त्यहाँको ९० प्रतिशत माग यी दुई भैंसी बजारले धानिरहेका छन् । अधिकांश भारतबाट अवैध रुपमा भित्रिने गरेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?