पति खोज्दै तमिलनाडुदेखि वीरगन्ज

शंकर आचार्य

वीरगन्ज — भारतस्थित तमिलनाडुको एक गार्मेन्ट उद्योगमा सँगै कार्यरत नेपाली युवकसँग उनको माया बस्यो । आखिर मायाले न भिन्न देश भन्दो रहेछ, न फरक संस्कृति । उनीहरूबीच विवाह भयो । तर, त्यति धेरै माया गरेका श्रीमान्‌ले छाडेर भागेपछि अहिले वीरगन्जमा अलपत्र परेकी छन् २० वर्षीया उषाकुमारी रानी ।

श्रीमान् खोज्दै तमिलनाडुदेखि नेपाल आइपुगेकी हुन् उनी । उनलाई प्रहरीले वीरगन्जको घण्टाघरमा माघ २७ गते अलपत्र अवस्थामा फेला पारेको थियो । त्यसयता उनी यहाँस्थित माइती नेपालको आवधिक गृहमाबस्दै आएकी छन् ।


बारा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया टोल घर बताउने उषा माइतीबाट घर फर्कने क्रममा बाटोको भेउ नपाएर अलपत्र परेकी हुन् । उनी केवल तमिल भाषा बोल्छिन् । गृह प्रमुख संगीता पुरीका अनुसार तमिलनाडुमै रोजगारी गर्ने पर्सा ठोरीका एक युवकले दोभाषे बनेर सहयोग गर्दै आएका छन् ।


उषाले नेपाली युवक २४ वर्षीय सरबिन कुशवाहासँग विवाह गरेको बताएकी छन् । तमिलनाडुमै विवाह गरेपछि उनीहरु २०१९ को मेमा नेपाल आए । सुरुमा परिवारमा कुनै समस्या थिएन। पछि भाषा तथा सांस्कृतिक अनमेलका कारण सासु ससुराले भेदभाव र यातना दिन थाले । यातना सहन नसकी गत मंसिर ५ गते विष खाएर उनले आत्महत्या गर्न खोजिन् । वीरगन्जको नेशनल मेडिकल कलेजमा तीन सातासम्म उपचार भयो । मंसिर २९ गते अस्पतालबाट डिस्चार्ज भइन् । विषको असरले उनका दुवै गोडा लुला छन् । हिँडडुल गर्न गाह्रो हुन्छ । पति सरबिनले ‘घरपरिवारले स्वीकारेन, फेरि तमिलनाडु नै फर्कौं’ भनेपछि पुस २१ गते दुवै भारत रक्सौलस्थित रेल्वे स्टेसन पुगेका थिए । सरबिनले दुवैको टिकट काटेको र रेलमा चढेपछि ‘म एउटा काम सक्याएर आउँछु, तिमी रेलबाट नओर्लिनू’ भनेर हिँडेपछि फर्केर आएनन् । उषा रेलमै बसिरहिन् ।


माइती पुगेपछि उषाले जे जस्तो भए पनि पतिसँगै बस्नु पर्छ भनेर हिम्मत बटुलेर पुनः नेपाल फर्किएको बताइन् । माघ २४ गते वीरगन्ज आइपुगेकी उनी भाषागत समस्या तथा घर फर्कने बाटो यकिन नभएपछि वीरगन्जमा अलपत्र परेकी हुन् । उषाको गोडाबाहेक अन्य शारीरिक तथा मानसिक अवस्था दुरुस्त रहेको पुरीले बताइन् ।


गृहमा ल्याएको केही दिनपछि नै उषालाई सीमावर्ती भारतीय सहर रक्सौलस्थित प्रहरी चौकीमा लगेको तर त्यहाँका प्रहरी अधिकृतले पनि भाषागत समस्या र भौगोलिक दूरीका कारण उषालाई सहयोग गर्न नसक्ने भन्दै जिम्मा लिन नमानेको पुरीले बताइन् । ‘त्यसपछि गृहमै ल्यायौं,’ उनले भनिन्, ‘वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास र नेपाल प्रहरीलाई उषालाई उनको घरमा पुनःस्थापना गर्न आवश्यक सहयोगका लागि आग्रह गरेका छौं ।’ प्रहरीमार्फत सरबिनबारे बुझ्दा उनी करीब डेढ महिनादेखि घर नगएको र बेपत्ता रहेका छन् । प्रकाशित : फाल्गुन ५, २०७६ १०:४२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘सरकार कुरै सुन्न चाहन्न’

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ दलकै सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूले सरकार जनप्रतिनिधिसँग टाढिँदै गएको बताए । ‘सरकारले जनप्रतिनिधिका कुरै सुन्न नचाहेको देख्दा अचम्म लागेको छ,’ नेकपाका सांसद महेशदत्त जोशीले भने, ‘मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा भने रातो किताब बाहिरबाट पनि धमाधम योजना वितरण गरिरहेका छन् ।’

उनले कैलाली, कञ्चनपुरमा लागूऔषध र दुर्व्यसनी बढ्दै गएको बताउँदै साना हतियार भित्रिरहेको, चुरे फडानी र काठ तस्करी बढेको प्रति सरकारले चासो लिनुपर्नेमा जोड दिए । उनले छाडा चौपाया व्यवस्थापन गर्ने सवाल नै अलपत्र परेको भन्दै असन्तुष्टि जनाए । करार सेवामा भर्ना गरेर भए पनि कर्मचारी अभाव टार्न सरकारलाई कसले रोकेको हो भन्दै उनले प्रश्न गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले दुई साताअघि प्रदेशसभामा दर्ता गरिएको संकल्प प्रस्तावमा सरकारले चासो नदेखाएकोमा आपत्ति जनाए । उनले सामाजिक विकास मन्त्रालयले खरिद गरेको एम्बुलेन्स खरिद प्रकरणमा भएको भनिएको विवादमा संसदीय छानबिन समिति गठन गर्न माग गरे । उनले सरकारको व्यवहारले संसद्को गरिमा घटाउने काम भएको आरोप लगाए ।

शून्य समयमै बोल्दै नेता रावलले सरकारलाई ‘जे गरे पनि हुन्छ’ भन्ने लागेको बताए । ‘सरकार एकलौटी रूपमा अघि बढको छ,’ उनले भने । प्रदेश योजना आयोग गठन नहुनु आश्चर्यजनक भएको रावलको भनाइ छ । उनले दोहोरो करले जनतालाई आक्रान्त बनाएको भए पनि सरकारले ध्यान नदिएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिहरूको सेवा, सुविधासम्बन्धी विधेयक तत्काल ल्याउनु पर्छ,’ उनले माग गरे ।

राजपाका सांसद कृष्ण चौधरीले कविता वाचन गरेर सरकारका कार्यशैलीमाथि व्यंग्य गरे । उनले दोस्रो चौमासिकसम्म सरकार सुतिरहेको बताउँदै कहिले ब्युँझिन्छ भन्ने प्रश्न गरे । महाकालीवारि भारतीय पक्षले सडक निर्माण गरिरहेको स्मरण गराउँदै सरकार थाहै नपाएझैं चुप लागेर बसेको उनको भनाइ थियो । धनगढीमा लक्ष्मण थारु अनशन बसिरहेकोप्रति प्रदेश सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाए ।

नेकपाका अर्का सांसद नेपालु चौधरीले प्रभावकारी स्वास्थ्य सेवामा सरकारले ख्याल गर्नुपर्ने सुझाए । नगरपालिकामा स्वास्थ्यकर्मीको संख्या थुपार्ने तर दुर्गम र विकट क्षेत्रमा स्थानीयले उपचार नपाउने अवस्था आएको उनको भनाइ छ । सांसद लिलाधर भट्टले अढाई लाखका योजनाको सम्झौता गर्न पनि गाउँबाट धनगढी र दिपायल धाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । उनले सुशासन विधेयक प्रमाणीकरण नहुनुको रहस्य सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरे ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×