काम पूरा नहुँदै उप्कियो कालोपत्र

ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र नियमाक निकायको लापरबाहीले कालोपत्र उप्किएको स्थानीयको आरोप
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनदेखि कौडेना जोड्ने क्षेत्रीय सडकको कालोपत्र काम नसकिँदै उप्किन थालेको छ । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र नियमन गर्ने निकायको लापरबाहीले कालोपत्र उप्किएको स्थानीयको आरोप छ । 

काम पूरा नहुँदै उप्कियो कालोपत्र

एकातिर कालोपत्रे गर्दै गर्दा अर्कोतिर उप्किन थालेको हो । ३० किलोमिटरको सडकको दर्जन ठाउँमा कालोपत्र उप्किएको छ । हरिपुर नगरपालिकास्थित पिडारीमा पर्ने यो सडकमा बनाइएको कल्भर्ट पनि भत्केको छ । ठेकेदारले भत्केको कल्भर्टमा माटो हालेर पुरेका छन् । यसअघि हरिवनमा पनि बनाइएको कल्भर्ट भत्केको थियो । हस्तान्तरण समेत नभएको सडकमा ठेकेदारले टालटुलको काम गरिरहेको स्थानीयको आरोप छ । कतिपय स्थानमा टालेको ठाउँमा समेत उप्किन थालेको छ । कालोपत्रे सडकको बीचमा रहेको कल्भर्ट भत्केपछि दुर्घटनाको समेत जोखिम बढेको छ ।


‘सडक कालोपत्र हुन थालेपछि हामी निकै खुसी भएका थियौं,’ हेमपुरका स्थानीय बद्रिनारायण मिश्रले भने, ‘तर यो खुसी धेरै दिन टिक्न सकेन, कालोपत्र र कल्भर्ट भत्किन थालेको छ ।’ ठेकेदार र नियमन गर्ने निकायको लापरबाहीले सडकमा गरिएको लगानी बालुवामा पानी हालेझैं भएको उनको भनाइ छ । भत्केको कल्भर्टमा माटो हाल्दा पानी निकासको सम्भावनासमेत छैन । सडक कालोपत्र हुन बाँकी रहेका स्थानमा भने हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्न स्थानीय बाध्य छन् ।


नियामक निकाय पूर्वाधार विकास कार्यालयले माटोका कारण कालोपत्र उप्किएको जानकारी दिएको छ । ‘सडकमा ओटासिल प्रविधिअनुसार कालोपत्र भइरहेको छ, माटोको गुणस्तरका कारण कालोपत्र उप्किरहेको छ,’ इकाइ कार्यालय मलंगवाका साइट इन्जिनियर अरुण महतोले भने, ‘कल्भर्टमा भने अलि लापरबाही भएको देखियो ।’ सडक बनेपछि १३ महिनाभित्र भत्के पुनः बनाउने जिम्मेवारी ठेकेदारको हुने भएकाले अहिले भत्किएको पनि उसैले मर्मत गर्ने महतोको भनाइ छ । कल्भर्टको मर्मत नगरेसम्म ठेकेदारलाई जान नदिइने कार्यालयले जानकारी दिएको छ । पप्पु कन्स्ट्रक्सनका सबइन्जिनियर अरुण यादवले सम्झौताअनुसार नै काम नै गरिएको दाबी गरे ।


‘हामीले सम्झौताभन्दा दायाँबायाँ काम गर्न मिल्दैन,’ उनले भने, ‘तर माटोको गुणस्तरका कारण कालोपत्र र कल्भर्ट भत्एिको हो ।’ उनले टिपरलगायतका सवारीसाधन चलेकाले पनि सडकको कालोपत्र उप्किएको बताए ।


उक्त सडक कालोपत्र गर्न पप्पुले २०७५ जेठ ६ मा काम सक्ने गरी २०७३ वैशाख २२ मा निर्माण सुरु गरेको थियो । करिब २१ किमी सडक मात्र कालोपत्र भएको छ । विश्व बैंकको सहयोगमा बन्दै गरेको सडक दाताले हात झिकेपछि बाँकी काम अलपत्र बनेको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने यो सबैभन्दा छोटो मार्ग छ । समयमा सडकको काम सम्पन्न नगरेकाले पप्पु कन्सट्रक्सनले तीन पटक म्याद थप गराइसकेको छ । तेस्रो पटक थपिएको म्याद पनि सकिएको छ । पप्पुले यस अवधिमा ९० प्रतिशत काम सकेको कार्यालयले जनाएको छ । सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाख रुपैयाँमा ठेक्का सकारेको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?