कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘शान्ति र समृद्धिका लागि इज्तिमा’

अवधेशकुमार झा

(राजविराज) — मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’ पूर्ण रूपमा धार्मिक, समाज र मुलुकमा शान्ति तथा समृद्धि लक्षित रहेको मुस्लिम अगुवाहरूले बताएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा शनिबार सुरु सम्मेलनमा मुस्लिम समुदायका विश्वकै प्रमुख धर्मगुरु तवालिकी जमातका प्रमुख मौलाना हजरत साद प्रमुख प्रवचनकर्ताका छन् ।

‘शान्ति र समृद्धिका लागि इज्तिमा’

नेपाल तथा भारतका अन्य धर्मगुरुहरूले पनि प्रवचन दिने सम्मेलनको अनुगमन गरिइरहेको राष्ट्रिय मुस्लिम आयोग अध्यक्ष मोहमद समिम अन्सारीले बताए । सम्मेलनस्थलमा शनिबार साँझसम्म दुईलाख भन्दा बढी सहभागी आएको सरकारी अधिकारीहरूले बताएका छन् । आउने क्रम अझै जारी छ ।


सम्मेलनमा नेपाल तथा भारतबाट आउनेहरूको गाडीको चापका कारण पूर्व–पश्चिम राजमार्गको सप्तरी खण्ड अस्तव्यस्त बनेको छ । सम्मेलनको अन्तिम दिन सोमबार दुवा (आर्शिवाद) माग्ने दिन भएकाले अझै सहभागी बढ्ने आयोजकको अनुमान छ । सम्मेलनमा आउनेका लागि खडग नदी किनारमा दुईहजार भन्दा बढी अस्थायी शौचालय बनाइएको छ । सम्मेलनमा सहभागी हुनेहरूका लागि बस्न बनाइएको पण्डाल भरिएपछि अहिले पाल टागेर सहभागीले आफै बस्ने प्रबन्ध मिलाएका छन् । सम्मेलनबारे आयोगका अध्यक्ष अन्सारी भन्छन्, ‘यो विशुद्ध धार्मिक प्रवचन हो, ज्ञानका कुरा, समृद्धि र शान्तिका कुरामा केन्द्रित छ । यहा न त कुनै राजनीतिक कुरा हुन्छ न त कुनै देशको शासनबारेमा कुरा हुन्छ, इज्तिमामा इस्लामिक कानुन र पवित्र कुरानबारे जानकारी दिइ एउटा सभ्य मुसलमान तयार गर्ने उद्देश्य मात्र हो ।’ यो हरेक वर्ष कहीं न कहीं आयोजना हुँदै आए पनि यो वर्ष विश्वकै प्रमुख धर्मगुरु तवलिकी जमातका प्रमुख दिल्लीबाट मौलाना हजरत सादको उपस्थितिले सम्मेलनले थप उचाइ पाएको अन्सारीले बताए । उनलाई हेर्न र उनको प्रवचन सुन्न पनि सहभागिता बढेको छ ।


‘हिन्दु धर्मवलम्बीमा महायज्ञ भएजस्तै मुस्लिम समुदायका लागि पवित्र धार्मिक अनुसन्धान हो इज्तिमा,’ केन्द्रीय हज कमिटीका अध्यक्ष शमसेर मियाले भने, ‘यसले राष्ट्रिय समृद्धि, आपसी भाइचारा र धर्मप्रतिको आस्थालाई अझ प्रगाढ बनाउन मद्दत मिल्नेछ ।’ पूर्वमन्त्री जाकिर हुसेनले यो सम्मेलन कसैप्रति लक्षित नभई मुस्लिम समुदायलाई पवित्र कुरानबारे जानकारी र सबै समुदायबीच एकताको भावलाई अझ प्रस्फुटन गर्नमा केन्द्रित रहेको बताए ।


आयोजकले सुरुमा सरकारलाई नेपाल र भारतका सहभागी मात्र हुने बताएर अनुमति लिएको र पछि तेस्रो मुलुकका पनि सहभागी आएपछि सम्मेलन विवादित बनेको थियो । बिहीबार गृह मन्त्रालयले अनुमतिबेगर भेलामा सहभागी गराउन लागेको भन्दै सम्मेलन रोक्न निर्देशन दिएको थियो । पाकिस्तान, बंगलादेश, साउदी अरब, मलेसिया र थाइल्यान्डलगायतका मुलुकबाट आएका सहभागीलाई शुक्रबार साँझ आयोजकले फिर्ता पठाएपछि शनिबारबाट सम्मेलन सुरु भएको हो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?