कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्य गोदाम ७ वर्षदेखि अलपत्र

कान्तिपुर संवाददाता

(पर्सा) — ठेकेदारले बीचमै काम छोडेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखा परिसरमा निर्माणाधीन गोदाम ७ वर्षदेखि अलपत्र परेको छ । 

खाद्य गोदाम ७ वर्षदेखि अलपत्र

शाखा परिसरको पश्चिम उत्तरी कुनामा १ हजार मेट्रिक टन अन्न भण्डारण क्षमताको ३० मिटर लामो २० मिटर चौडा गोदाम भवन निर्माणाधीन थियो । भवनको ठेक्का श्री स्वस्तिक र श्री विनायक कन्स्ट्रक्सनले पाएका थिए । २०६९ फागुनमा निर्माण बीचमै छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको हो ।


स्थानीय ठेकेदार मोहन यादवले पेटी कन्ट्र्याक्टमा निर्माण गरिरहेको उक्त गोदामको चारै तिरबाट पर्खाल उठाइसकिएको थियो । छानो हालेर प्लास्टर गर्ने काम बाँकी थियो । तर ठेकेदार कम्पनीले काम छोडेर त्यसपछि साइटमै नआएको शाखा प्रमुख नरनाथ अधिकारीले बताए । उनका अनुसार कम्पनी केन्द्रीय कार्यालयबाटै २०६७ फागुन २० मा टेन्डर आह्वान भई उक्त ठेक्का लागेको थियो । ‘ठेक्काको सबै प्राविधिक तथा आर्थिक कारोबार केन्द्रबाटै भएको हो,’ उनले भने, ‘ठेकेदारले बैंक ज्ञारेन्टीबापत राखेको १२ लाख रुपैयाँ पनि झिकिसकेको सुनेको छुँ ।’ शाखामा हाल आधा दर्जन गोदाम रहेकोमा तीमध्ये २ मात्र वर्षभरि प्रयोग गर्नलायक छ । बाँकी ४ गोदाम पानी चुहिने र वर्षायाममा पानी पसेर भण्डारण गरिराखेको अन्न बिग्रन सक्ने भइसकेको अधिकारीले बताए । ‘आउँदो वर्षायाममा यी ४ वटै गोदाममा पानी पस्ने प्रबल सम्भावना छ,’ उनले भने, ‘त्यसैले पनि हामी शाखामा धान र चामलको मौज्दात बढी राख्दैनौं, गोदाममा पानी पसेर अन्न बिग्रिने, कुहिने जोखिम रहेकाले सकेसम्म वर्षायाम अघि चामल र धान परिचालन गरी सक्छौं ।’


नयाँ गोदाम नबन्दा समस्या भइरहेको उनले बताए । गोदामको निर्माणका लागि २० लाख रुपैयाँ बजेट आएको तर त्यति रकमले गोदाम नबन्ने उनको भनाइ छ ।


शाखाको गोदाममा हाल २ सय ३५ क्विन्टल सोना मन्सुली चामल मौज्दात रहेको र केही चामल कुटानी भएर आउन बाँकी रहेको छ । यसका साथै ३२ क्विन्टल जिरा मसिनो धान पनि मौज्दात छ । १९ हजार ९ सय ९९ क्विन्टल २६ किलो सोना मन्सुली धानमध्ये ५ हजार ७६ क्विन्टल २० किलो धान कुटानीका लागि मिलमा पठाइएको र बाँकी धान मौज्दातमा रहेको अधिकारीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?