९० विद्यालयमा वाटर फिल्टर

कान्तिपुर संवाददाता

(पर्सा) — वीरगन्ज महानगरपालिका अन्तर्गतका ९० सामुदायिक विद्यालयमा स्वचालित ‘वाटर फिल्टर प्लान्ट’ जडान गरिने भएको छ । ‘सबैका लागि सरसफाइ तथा खानेपानीमा तीव्रता’ कार्यक्रम अन्तर्गत यो अभियान चलाएको महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनिल कुमार कर्णले जानकारी दिए । 

‘५४ विद्यालयमा वाटर फिल्टर प्लान्ट जडानका लागि टेन्डर आह्वान गरिएको छ,’ उनले भने, ‘बाँकी ३६ विद्यालयको हकमा युनिसेफलाई आग्रह गरेका छौं ।’ प्रत्येक वाटर फिल्टर प्लान्टको लागत २ लाख ५० हजार रुपैयाँ पर्नेछ । विद्यार्थी तथा शिक्षकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने योजनाअन्तर्गत जडान गर्न लागिएका फिल्टरले प्रशोधित पानी दिनुका साथै जाडोमा तातो र गर्मीमा चिसो पानी दिनेछ । यो प्लान्ट मोटरमा जोडिएको हुनेछ ।


यसै वर्षको भदौ २८ गते पर्सा खुला दिसामुक्त जिल्ला घोषित भएसँगै हाल महानगर पूर्ण सरसफाइ कार्यक्रममा केन्द्रित भएको उनले बताए । ‘पूर्ण सरसफाइका लागि विद्यालयबाट जनचेतनामूलक कार्यक्रम सुरु गरेर स्वास्थ्य संस्थासम्म पुग्ने योजना छ,’ उनले भने, ‘शुद्ध पिउने पानीमा स्थानीयको पहुँच बढाउँदै खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसाल्नु कार्यक्रमको मुख्य उद्देश्य हो ।’


कार्यक्रमअन्तर्गत छात्रालाई सेनिटरी प्याड विसर्जन गर्ने तरिका सिकाउनुका साथै अस्पतालबाट निस्कने फोहोरलाई पनि सुरक्षित रुपमा विसर्जन गर्ने योजना छ । यसका लागि हाल निर्माणाधीन ल्यान्डफिल साइटमै एउटा प्लान्ट जडान गर्ने तयारी भइरहेको कर्णले बताए । महानगरका सबै वडामा गरी १० लाख बिरुवा रोप्ने योजना पनि रहेको उनले बताए । यसका लागि वडा नं. ३१ बेल्वामा महानगरले आफ्नै नर्सरी बनाउन लागेको छ । कार्यक्रमअन्तर्गत नै महानगरमा रहेका ३/४ वटा पोखरीलाई यस वर्ष संरक्षण गर्ने योजना पनि रहेको कर्णले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?