२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एजेन्टले ठग्दा ऋणको भारी

कान्तिपुर संवाददाता

धनुषा — जनकपुर–१३ पिडारीका ३७ वर्षीय बद्री राउतलाई घर खर्च चलाउन लिएको ऋण तिर्न धौधौ परिरहेको थियो । त्यसैले वैदेशिक रोजगारीका लागि कतार जान उनले ४ वर्षअघि प्रक्रिया थाले । फेरि ऋण काढेर काठमाडौं पुगे । तर विदेश जान पाएनन्, उल्टै काठमाडौंमा अलपत्र परे ।

दलालमार्फत विदेश जान खोजेका राउतको टाउकोमा झन् ऋण थपियो । पैसा बुझाएका एजेन्ट फरार भएपछि उनी अहिले घर न घाटका भएका छन् । राउत दलालले ठगेको ९५ हजार रुपैयाँ फिर्ता गराउन सरकारी कार्यालय धाइरहेका छन् । वैदेशिक रोजगारीमा जान गाउँमै लिएको १ लाख २५ हजार रुपैयाँ कर्जाको ब्याजसहित ३ लाखभन्दा बढी रकम बुझाउन दिनहुँ ताकेता आइरहेको छ । दलाललाई बुझाएको पैसा फिर्ता नपाउँदा उनी घर–घडेरी बेच्ने अवस्थामा पुगेका छन् । ‘ऋण लिएकाले गनगन गर्न थाले । कति बहाना बनाएर पन्छिनु । घर–घडेरी बेचेरै पनि पैसा तिर्नुपर्ला,’ राउतले भने ।


कतार जानका लागि धनुषा हंसपुर कठ्ठपुलाका ३९ वर्षीय दशरथ मण्डललाई बद्रीले २०७२ वैशाख ६ मा ९५ हजार बुझाएका थिए । विदेश उड्न उनी काठमाडौं पुगेपछि मण्डल मोबाइल अफ गरी सम्पर्कविहीन भइदिए । काठमाडौंमा बोलाएको ठाउँमा एजेन्ट नभेटेपछि राउत ठगीमा परेको थाहा पाएर घर फर्केका थिए ।


पटक–पटक पैसा फिर्ता लिन मण्डलको घर पुगे पनि पैसा नपाएपछि राउतले २०७५ भदौ २६ वैदेशिक रोजगार विभागमा ठगिएको उजुरी गरेका थिए । विभागमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा आएको पत्रका आधारमा प्रहरीले मण्डललाई पक्राउ गरेको छ । मण्डललाई राउतले नै स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरीमा बुझाएका थिए । थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा बुझाइएका मण्डल हाल तारेखमा छुटेका छन् । तर, ठगिएको पैसा नपाउँदा ऋण लिएका व्यक्तिबाट घर–घडेरी नै कब्जा गर्ने अवस्था आएको राउतले बताए ।


लामो समयसम्म पैसा फिर्ताका लागि काठमाडौ जाँदा निराश भएका राउतले २०७६ असार २४ मा ठगिएको रकम उपलब्ध गराइदिन फेरि जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी गरेका थिए । हालसम्म कुनै पहल हुन सकेको छैन । ठगिएको रकम फिर्ता गराउन पहल गरे पनि पीडितले पाउन नसकेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाका अध्यक्ष कौशल्या कुशवाहाले बताइन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?