१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सिरहामा झन्डा मेला

कान्तिपुर संवाददाता

(सिरहा) — सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा दोस्रो झन्डा महोत्सव आयोजना गरिएको छ । १० दिनसम्म चल्ने मेला माघ २३ गतेदेखि सुरु भएको हो । मेलामा हनुमानको प्रतिमामाथिको झन्डा मुख्य आकर्षण बनेको छ । १५ फिट अग्लो हनुमानको प्रतिमा माथि ८५ फिट अग्लो ध्वजासहित बनाइएको झण्डा महोत्सवको मुख्य आकर्षण बनेको हो । महोत्सवस्थल पुग्ने जोकोही आगन्तुक रामायणकालीन हनुमानसहित राम, लक्ष्मण र सीताको प्रतिमा दर्शनपछि झण्डाको अवलोकन गर्न पुग्छन् । 

सिरहामा झन्डा मेला

हनुमानको प्रतिमा र झण्डा सर्लाहीका ५ जना कालीगढले १५ दिन लगाएर बनाएका हुन । महोत्सव मूल आयोजक समितिका संयोजक एवं सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवका अनुसार प्रतिमा र झण्डा निर्माण गर्न १ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ । महोत्सवमा कृषि, इलेक्ट्रोनिक्स, खाद्यान्नसँग सम्बन्धित सयभन्दा बढी स्टल रहेको उनले जानकारी दिए । महोत्सव स्थलमा राखिएको ५ सय ५० कलश पनि आकर्षण बनेको छ । महोत्सव स्थलमा नेपालको चार सयभन्दा बढी राष्ट्रिय झण्डा समेत टाँगिएको छ ।


कृषि ज्ञान केन्द्रद्वारा प्रदर्शनीमा राखिएको आधुनिक कृषि उपकरणमा पनि कृषकले चासो दिएका छन् । महोत्सवमा हाते ट्र्याक्टर, धान रोप्ने र काट्ने मेसिनदेखि कृषि उपज ओसारपसारमा प्रयोग हुने आधुनिक उपकरणबारे जानकारी पाएको स्थानीय कृषक गेनाई यादवले सुनाए ।


‘माछापालन, आधुनिक कृषि खेती प्रणालीबारे जानकारी पाएँ,’ उनले भने । मेलामा २९ किलोग्राम तौलको फर्सीसमेत प्रदर्शनीमा राखिएको छ । साथै, बालविवाह, बहुविवाह, दाइजोप्रथा र लैंगिक हिंसासम्बन्धी दिनहुँ जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिए ।


प्रकाशित : फाल्गुन १, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?