कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूरा नहुँदै चर्कियो टिकुलियाघाट पुल

शिव पुरी

रौतहट — गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा बकैया नदीमाथि निर्माणाधीन पुलको पश्चिमतिरको दुईटा गडर (पुलको तल्लो भाग) चर्किएको छ । गुणस्तरहीन सामग्री प्रयोग भएकाले गडर चर्किएको सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर एवं सूचना अधिकारी मदनमोहन सिंहले बताए । 

पूरा नहुँदै चर्कियो टिकुलियाघाट पुल

पुल निर्माणको ठेक्का पप्पु कस्ट्रक्सनले पाएको थियो । तर, समयमै काम नसकेपछि निर्माण अलपत्र छ । कन्स्ट्रक्सनले पछिल्लो समय कामै छाडेर उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सडक डिभिजनविरुद्ध मुद्दा दायर गरेको छ ।


‘ठेक्काको म्यादसमेत थप भएको छैन, काम त्यतिकै अलपत्र छाडेर निर्माणकर्ता बसेको छ,’ सिंहले भने, ‘भुक्तानी नदिएको भन्दै मुद्दा दायर गरेको छ । काम भने गुणस्तरहीन छ ।’ पप्पुले कतिको बिल भुक्तानी माग गरेको भन्ने सडक डिभिजनले खुलाएको छैन । ठेकेदारले पछिल्लो समयमा कछुवा गतिमा गरेको काम गुणस्तरहीन भएको उनको दाबी छ । म्याद थप र चर्केको भागको पुनः निर्माण गर्नेबारे सडकले ठेकेदारलाई पत्राचारसमेत गरेको छ । निवेदन र अन्य कागजमा हस्ताक्षर नगरेसम्म म्याद थप नहुने सिंहले जनाए ।


सदरमुकाम गौर र बकैया जोड्ने निर्माणाधीन पुलको काम २०७४ माघ २९ मा सक्नु पर्ने थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कातिक २९ गते पुलको शिलान्यास गरेका थिए । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा पुल बनाउन बोलपत्र आह्वान भएको थियो । २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउनुपर्ने सर्त थियो । तीन वर्षभित्र निर्माण सक्ने भन्दै पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाखमा ठेक्का सकारेको थियो । २०७१ असार २९ मा ठेक्का सम्झौता भएको थियो ।


निर्माण कम्पनीले पटकपटक काम गर्ने र छोड्ने गर्दै आएको छ । गएको वैशाख र जेठमा कछुवा गतिमा काम गरे पनि अहिले बन्द भएको इन्जिनियर सिंहले बताए । त्यतिखेर बिमको काम भएको थियो । पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कमै नआएको उनको भनाइ छ । टिकुलिया घाटमा पुल नभएकै कारण स्थानीयले डुंगाको भर नदी वारपार गर्दै आएका छन् । बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खापलगायत दर्जनौं गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।


गत भदौ ९ गते यही अधुरो पुलको पिल्लरमा ठोक्किएर डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनापछि निर्माण सक्न चौतर्फी दबाबपछि कम्पनीले काम थाल्ने जनाएको थियो । तर, काम छाडेर मुद्दा दायर गरेपछि पुल बन्नेमा अन्योल देखिएको छ ।

प्रकाशित : माघ २५, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?