मोबाइल एप्सबाट ठगी

पर्सा — सर्लाही लालबन्दी नगरपालिका–२ का राकेश कुमार महतोले मोबाइल एप्समार्फत ठगी गरेको भन्दै ५ जनाविरुद्ध माघ ७ गते जिल्ला प्रहरीमा उजुरी दिए । तीमध्ये ४ जनाको नाम उनले किटान गरेका छन् ।

पाँचौं व्यक्तिको नाम ‘अमेरिकामा बसी ००१७६०९१३९१२१ मोबाइल नम्बर प्रयोग गरी ह्वाट्सएप चलाउने तथा एप्पल कम्पनीको मोबाइल बिक्री गर्न बेस्ट एप्पल स्टोर फेसबुक आइडी चलाएको व्यक्ति’ मात्र उल्लेख गरेका छन् । अन्य आरोपितको ठेगाना उल्लेख गर्न नसकी केवल नाम र बैंक खाता नम्बर मात्र उल्लेख गरेका छन् ।

यही साता अनलाइन सपिङ एप्समार्फत कम मूल्यमा आईफोन पठाउने र विदेश लैजाने झूटो आश्वासन दिई ठगी कार्यमा संलग्न गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा बारा वीरगन्ज मनपा–१५ ब्रह्मचोक बस्ने २९ वर्षीय रोशन सिंह, उनका भाइ २१ वर्षीय विशाल सिंह, भारत कोलकाता घर भई हाल वीरगन्जमै बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँका १८ वर्षीय फारुख आलम छन् ।


उनीहरूले क्लब फ्याक्ट्री नामक अनलाइन सपिङ एप्स खोली सर्वसाधारणलाई आइफोन सस्तोमा मिलाइदिने प्रलोभनमा पार्दै आएका थिए । साथै अमेरिका, क्यानडा, सिंगापुर लगायतका मुलुकको भिसा समेत मिलाइदिने आश्वासन दिई ठगी गरेको आरोप छ । यो गिरोहले सर्वसाधारणबाट रकम लिन नक्कली नागरिकताको प्रयोग गरी बैंकमा खाता खोलेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूको साथबाट ठगी कार्यमा प्रयोग हुने मोबाइल तथा कागजातसमेत फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम थापाले ठगिएका व्यक्तिले उजुरी गरेपछि अनुसन्धानलगत्तै उनीहरूलाई पक्राउ गर्न सकिएको बताए । यो गिरोहबाट अन्य थुप्रै व्यक्तिहरू पनि ठगिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

पछिल्लो समय विभिन्न एप्सहरू प्रयोग गरी सामाजिक सञ्जालबाट सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ । तर, कमैले मात्र उजुरी गर्दै आएका छन् । जिल्ला प्रहरीका अनुसार चालु आवमा यसरी अनलाइन सपिङ एप्स बनाई ठग्नेविरुद्ध २ वटा मुद्दा दर्ता भएको छ । ती मुद्दामा ४ जना पक्राउ परेका छन् । गत आवमा कार्यालयमा इमो, ह्वाट्सएप, भाइबर लगायतबाट २५ लाख रुपैयाँको चिठ्ठा पर्‍यो भनी म्यासेज तथा फोन कल गरी ठग्ने गिरोहविरुद्ध एउटा मुद्दा दर्ता र ३ जना पक्राउ परेका थिए । अघिल्लो आवमा पनि यस्तै प्रलोभन देखाई ठग्नेविरुद्ध ७ वटा मुद्दा दर्ता र ३२ जना पक्राउ परेका थिए ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा तिनमा नयाँनयाँ एप्सहरूको माध्यमबाट सर्वसाधारणलाई ठग्ने क्रम रोकिएको छैन । ठग गिरोहले यसका लागि नयाँ एप्स ल्याउने गरेका छन् । यसबाट बच्न सर्वसाधारण सचेत हुनुपर्ने डीएसपीले थापाले बताए । उनका अनुसार ठगिनेहरू बढीजसो शिक्षित नै हुन्छन् । ‘ठग गिरोहको विश्वासमा परी उनीहरूलाई आइएमईमार्फत रकम पठाउँछन्,’ उनले भने, ‘तर जब सामान पाउँदैनन् तब मात्र आफू ठगिएको चाल पाउँछन् ।’

प्रकाशित : माघ २५, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?