कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश १ मा अनुदानको चामल पठाइँदै

पर्सा — वीरगञ्ज हुँदै भित्रिएको जापानी अनुदानको चामल प्रदेश १ मा पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्जले प्रदेश १ का पहाडी जिल्लामा अनुदानको चामल पठाउन लागेको हो । 

कार्यालयका वरिष्ठ सहायक तथा सूचना अधिकृत मुनिलाल कुशवाहाले लाहान, विराटनगर, विर्तामोडका लागि २ सय १० क्विन्टलका दरले ६ सय ३० क्विन्टल चामल पठाइएको बताए । दुर्गम जिल्लामा प्रतिक्विन्टल ४ हजार ५ सय रुपैयाँमा चामल बिक्री हुने गरेको छ । यसअघि राजधानीमा प्रतिक्विन्टल ६ हजार ५ सय रुपैयाँमा जापानी चामल बिक्री भएको थियो । केन्द्रीय कार्यालयको निर्देशनअनुसार वीरगन्जबाट माग भएको शाखामा चामल पठाउने गरिएको छ ।


वीरगन्ज शाखामा १५ हजार ४ सय ६० क्वीन्टल जापानी चामलको मौज्दात छ । कम्पनीको केन्द्रीय कार्यालय र जापानी दूतावासबीच गत वर्ष भएको सम्झौताअनुरूप अनुदानमा चामल प्राप्त भएको हो । अघिल्ला वर्षहरूमा प्रायः जापानी चामल बाँके, काठमाडौं, गोर्खालगायतका विभिन्न पहाडी जिल्लामा वीरगन्जबाट परिचालन गर्ने गरिएको थियो । यस वर्ष पूर्वबाट बढी माग आएको छ ।


जापान सरकारले अनुदानस्वरूप आव २०७४/७५ मा ५० हजार क्विन्टल र गत आवमा पनि त्यत्ति नै परिमाणमा चामल पठाएको थियो । गत आवको अनुदानको चामल वीरगन्ज शाखामा ल्याइएको थिएन । अघिल्लो आवको भने यस शाखामा भण्डारण गरिएको थियो । त्यति बेला ५ हजार १ सय ७९ क्विन्टल चामल संस्थान वीरगन्ज शाखाको जिम्मामा थियो । बाँकी चामल संस्थानको सुर्खेत र काठमाडौं कार्यालयहरूमा भण्डारण गरिएको थियो ।


दैवी प्रकोप प्रभावित क्षेत्रमा वितरण गर्ने उद्देश्यले जापान सरकारले नेपाललाई चामल अनुदानमा दिँदै आएको छ । यसअघि २०६९ र २०६७ मा पनि जापान सरकारले नेपाललाई अनुदान सहयोगमा चामल उपलब्ध गराएको थियो ।

प्रकाशित : माघ २५, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?