सीमामा बिओपी थपिँदै

राजविराज — सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) थप्ने काम सुरु गरेको छ ।

सीमाको सुरक्षा, चोरीतस्करी तथा आपराधिक गतिविधि नियन्त्रण र स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश २ मा नयाँ बिओपी थप्ने कार्य सुरु गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।


आइतबार सप्तरीको बोदेवरसाइनमा सशस्त्र प्रहरी कोर्डर आउट पोस्ट, सोभरनपटीको उद्घाटन गर्दै नायव महानिरीक्षक अर्यालले प्रदेश २ अन्तर्गत भारतसँग चार सय ६४ किलोमिटर लामो सिमाना रहेको र सीमा सुरक्षाका लागि हाल ५२ वटा बिओपी रहेको जानकारी दिए । उनका अनुसार नेपाल सरकारको निर्णयअनुरुप प्रदेश २ मा मात्रै १७ वटा नयाँ बिओपी थप्ने काम अघि बढेको छ ।


सप्तरीमा ७८ किलोमिटर सीमा क्षेत्र रहेकोमा हालसम्म ६ वटा बिओपी मात्र छन् । ३ वटा नयाँ बिओपी थपिने क्रममा रहेको उनले बताए । केही दिनभित्रै जिल्लाको बेल्ही र योगिनियामा पनि बिओपी स्थापना गर्ने तयारी भइरहेको अर्यालले बताए ।


बिओपी थपिएपछि ८ दशमलब ६ किलोमिटरको दूरीमा एउटा बिओपी हुने र सीमाको सुरक्षा थप प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । ‘नयाँ थपिएपछि बिओपी बीचको दूरी ८ दशमलब ६ किलोमिटरको हुन्छ, जुन छिमेकी भारतको सीमा सुरक्षा बलभन्दा बढी हो,’ उनले भने, ‘आवश्यकता अनुसार अझै बिओपीहरू थप गरी दूरी घटाउँदै लगिने छ ।’


उनले सीमा क्षेत्रमा दसगजा छुट्याउने काम भइरहेको पनि जानकारी दिए । ‘सीमामा दसगजाबारे नै अन्यौल छ,’ अर्यालले भने, ‘सीमा क्षेत्रमा बस्ने नेपाली नागरिक नै अहिले सीमा रक्षकको रुपमा छन्, पहिलो चरणमा रौतहट, बारा, सर्लाही र सप्तरीमा स्थानीय सरोकारावालसित छलफल गरी दसगजा छुट्याउने कार्य भइरहेको छ ।’


सीमा क्षेत्रलाई क्रमिक रुपमा व्यवस्थित गर्ने योजनाका साथ सशस्त्र प्रहरी अगाडि बढेको उनको भनाइ छ । ‘पछिल्लो समय सीमा क्षेत्रमा निगरानी गर्न सशस्त्र प्रहरीले चौबीसै घण्टा गस्ती सुरु गरेको छ,’ अर्यालले भने, ‘तत्कालका लागि सीमापार अपराध र दसगजा व्यवस्थित गर्नु अत्यन्त जरुरी भइसकेको छ । राष्ट्रिय सार्वभौमिकताका लागि पनि सीमाको रेखांकन जरुरी भइसकेको छ ।’

प्रकाशित : माघ २०, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?