जसलाई फाँसी दिइयो

श्यामसुन्दर शशि

(जनकपुर) — मुलुकी ऐन संशोधन गरी फाँसी सजाय दिइएका गणतान्त्रिक सहिद दुर्गानन्द झाको ५६ औं स्मृति दिवस बुधबार उनको जन्मस्थल जटहीमा मनाइएको छ । राजनीतिक बन्दीलाई मुलुकी ऐन संशोधन गरी मृत्युदण्ड दिइएको सम्भवतः त्यो पहिलो घटना थियो । 

नेपाली कांग्रेसको औपचारिक निर्णयअनुसार दुर्गानन्दले ०१८ माघ ९ मा जानकी दर्शन गर्न जनकपुर आएका तत्कालीन राजा महेन्द्रमाथि मन्दिर परिसरमै बम प्रहार गरेका थिए । आक्रमणबाट महेन्द्र जोगिए पनि उनी चढेको मोटर भने क्षतिग्रस्त भएको थियो ।


महेन्द्रले ०२० भदौ १ मा मुलुकी ऐनमा संशोधन गरी दुर्गानन्दलाई मृत्युदण्ड दिने बाटो खुलाएका थिए । पछि सर्वोच्च अदालतको फैसलाबाट उनलाई ०२० माघ १५ को राति सुन्धारास्थित केन्द्रीय कारागारमा पहिले पासो लगाएर तथा पछि गोली ठोकेर हत्या गरिएको थियो । पासो लगाइएको रूखको हाँगा भाँचिएकाले उनलाई गोली प्रहार गरी हत्या गरिएको थियो ।


वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार त्यतिबेला ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने व्यवस्था मुलुकी ऐनमा थियो । त्यो व्यवस्थाकै कारण १९९७ मा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई आजीवन कारावासको सजाय सुनाइएको नेपालीको कथन छ । तर, सहिद दुर्गानन्दप्रति महेन्द्र अत्यन्तै निर्मम रूपमा प्रस्तुत भएका थिए । दुर्गानन्दका बालसखा तथा प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरीका अनुसार राजा महेन्द्र सपरिवार विराटनगर भ्रमणमा गएका बेला उनले दुर्गानन्दकी आमा सुकुमारीदेवी झालाई माफीनामा पनि दिएका थिए तर त्यो अस्वीकार गरिएको थियो । ०१७ पुस १ मा बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली कांग्रेस आन्दोलित बनेको थियो । राजतन्त्रीय व्यवस्था विरोधमा जनकपुरका दुर्गानन्द र अरविन्द ठाकुरले राजामाथि बम प्रहार गर्ने जिम्मा लिएका थिए ।


कांग्रेस धनुषाका पूर्वसभापतिसमेत रहेका सांसद चौधरीका अनुसार त्यतिबेला सीमावर्ती उमगाँवस्थित रामनारायण मिश्रको कचहरीमा कांग्रेसको क्याम्प थियो । जहाँबाट राजतन्त्रविरुद्धको गतिविधि सञ्चालित हुन्थ्यो । ०१८ माघ ९ मा उक्त क्याम्पमा महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो । यो कामको जिम्मा दुर्गानन्दसँगै अरविन्दलाई पनि दिइएको थियो । अरविन्दलाई जनकपुर हवाई अड्डामा तथा दुर्गानन्दलाई जानकी मन्दिरमा बम प्रहार गर्न निर्देशन थियो । अरविन्द बमसहित हवाई अडाबाट पक्राउ परे पनि दुर्गानन्द सयौं सुरक्षाकर्मीको घेराभित्र बम प्रहार गरी सकुशल भाग्न सफल भएका थिए ।


नगराइन नगरपालिकाको जटहीमा १९९४ वैशाख १४ मा उनको जन्म भएको थियो । भारतको उमगाँवमा अध्ययन गर्दै गर्दा ०१५ मा प्रथम आमनिर्वाचन भएको थियो । उनी कांग्रेस उम्मेदवारहरूको पक्षमा चुनाव प्रचार गरेको उनका बालसखा चौधरी बताउँछन् । दुर्गानन्दलाई २१ वर्षको अल्पायुमा मृत्युदण्ड दिइएको थियो । छोराको मृत्युपश्चात आमा सुकुमारी देवी तथा श्रीमती काशीदेवी झाले अत्यन्तै कष्टमय जीवन बिताएका थिए । नगराइनमा आयोजित स्मृति दिवसमा कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधि, स्मृतिनारायण चौधरी तथा नगर प्रमुख प्रमेश्वर यादवलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ १६, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?