चन्द समूहका जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ

शिव पुरी

रौतहट — ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले प्रतिबन्धित नेकपा (चन्द समूह) का रौतहट जिल्ला सेक्रेटरी र सदस्यलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

चन्द समूहका जिल्ला सेक्रेटरीसहित २ जना पक्राउ

चन्द्रपुर ३ स्थित विकट इपिलीघारी बस्तीबाट बिहान ४ बजेको समयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही (सिसम शाही) र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरिएको ईलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले बताए । शाहीको घर कालीकोटको साबिक स्यूना गाविस ४ मा पर्छ । उनी केही समयदेखि चितवन बस्दै आएको प्रहरीले जनायो ।


पार्टीले उनलाई रौतहट सेक्रेटरीको रुपमा दुई महिनाअघि खटाएको थियो । ‘केही दिनदेखि जिल्लाका व्यापारी, जनप्रतिनिधि, व्यवसायीहरु, कर्मचारीलाई धम्क्याउने, एनसेल टावरहरुमा आगजनी गर्ने र आपराधिक गतिविधि गर्दै चन्दा असुली तीव्र बनाएका थिए,’ उनले भने, ‘यस्तै हर्कत गरेपछि पिछा गर्दै जाने क्रममा बिहान विकट बस्तीबाट पक्राउ गरेका हौं ।’ दुबै बसेको स्थान मकवानपुर जिल्लासित सीमा जोडिएको बस्ती हो ।


सेक्रेटरी शाही स्थानीय इन्द्र थिङको घरमा सेल्टर लिई बसेकी थिइन् । प्रहरीले दुबैको साथबाट पार्टीको दस्तावेजहरु, मोबाइल, सिमकार्ड, विस्फोटका लागि राखिएको तार, विस्फोटका लागि प्रयोग गर्ने साना पेजकससमेत बरामद गरेको छ ।


डिएसपी शाहीका अनुसार गएको पुस १५ गते गुजरा नगरपालिका ८ स्थित जुगौलीमा रहेको एनसेलको टावर, यही माघ १३ गते चन्द्रपुर २ कलटोलमा रहेको एनसेलको टावरमा आगजनी गर्ने सेक्रेटरी शाहीकै नेतृत्वको टिम हो । केही दिनदेखि इलाका प्रहरीले सेक्रेटरी शाहीले प्रयोग गर्ने मोबाइलको लोकेसन हेर्दै पिछा गरेको थियो । यही क्रममा उनी पक्राउ परेकी हुन् । पक्राउ परेका दुबैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

दुबैलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २६ अनुसार आपराधिक उपद्रोसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्ने डिएसपी शाहीले जनाए । नेकपा नारायणी ब्यूरो ईन्चार्ज शितलले विज्ञप्ति निकाली प्रहरीले पक्राउ गरेको सेक्रेटरी शाही र सदस्य बललाई बिनासर्त रिहाईको माग गरेका छन् ।

प्रकाशित : माघ १४, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?