कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘करेसाबारीले जोगियो फजुल खर्च’

पर्सा — वीरगन्ज महानगरपालिकाका तीनवटा वडामा किशोरीहरूले अर्ग्यानिक तरकारी खेती थालेका छन् । वडा नं २९, ३० र ३१ का किशोरीहरूले करेसाबारीमा खेती थालेका हुन् । 

‘करेसाबारीले जोगियो फजुल खर्च’

नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा सञ्चालित किशोरी संवाद कार्यक्रमले यो अभियानलाई सहयोग गरेको छ । कार्यक्रमले ३ सय ५० किशोरी तथा अभिभावकलाई करेसाबारी बनाउने तालिम तथा तरकारीको बीउ सहयोग गरेको हो । विषादीयुक्त तरकारीले स्वास्थ्यमै समस्या आउन थालेपछि अर्ग्यानिक खेतीमा जोड दिइएको हो । किशोरीहरूले घरका करेसाबारीमा साग, काउली, बन्दा, लसुन, प्याज, धनिया, बंगला तरकारी लगाएका छन् ।


वीरगन्ज–३० लालपर्सास्थित सागर संवाद केन्द्रकी किशोरी सीताकुमारी गुप्ताले अभिभावकलाई अर्ग्यानिक खेतीबारे बुझाउन सकिएको बताइन् । बुबा वीरबहादुरले आफू किसान भए पनि अन्नबालीतर्फ मात्र ध्यान दिएको र किनेर तरकारी खाँदै आएको सुनाए । ‘करेसा बारीको खेतीले तरकारी किन्ने फजुल खर्च जोगियो,’ उनले भने, ‘तरकारी विक्री गरे केही आम्दानी हुँदा घर खर्च पनि जुटेको छ ।’ तारा संवाद केन्द्र मुसैलीकी किशोरी इन्दु गुप्ता करेसाबारी नहुँदा प्रायः आलुको तरकारी खानु परेको सम्झिन्छिन् । ‘अहिले जुन तरकारी खान मन लाग्यो, बारीबाट टिप्यो पकायो,’ उनले भने, ‘हरियो, ताजा र स्वादिलो तरकारी खान पाइएको छ ।’ बालबालिका तथा गर्भवती महिलाका लागि हरियो तरकारी अति आवश्यक रहेको संवाद केन्द्रको छलफलबाट सिक्न पाएको उनले सुनाइन् ।


संस्थाका संवाद अधिकृत प्रकाश पाण्डेले करेसाबारीबारे ३ महिने तालिम दिएको बताए । पोषणको पहुँच पुर्‍याउन र विषादीरहित तरकारी उत्पादन तथा उपभोगका लागि तालिम दिइएको उनको भनाइ छ ।


‘तराईका धेरैजसो किसानहरू अन्नबालीमै केन्द्रित छन्, तरकारी खेती थोरैले मात्र गर्छन्,’ उनले भने, ‘संस्थाको उद्देश्य करेसाबारीबाट तरकारी खेतीतर्फ किसानलाई आकर्षित गराउनु हो ।’ युरोपियन युनियनको सहयोगमा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा संस्थाले कार्यक्रम गरेको हो । संवाद कार्यक्रमले विद्यालय जान छाडेका किशोरीहरूलाई विद्यालय फर्काउने अभियान पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?