१० करोड ठगेर सहकारी सञ्चालक फरार

उजुरी दिएको ११ महिना बित्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप
भूषण यादव

(वीरगन्ज) — देवनारायण भँडेलले गत वर्ष पैतृक जग्गा बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ हात पारे । वीरगन्जकै प्राइम बचत तथा ऋण सहकारी संस्थाले वार्षिक १८ दशमलव ७५ प्रतिशत ब्याज दिने भएपछि सबै पैसा मुद्दती खातामा जम्मा गरे ।

ZenTravel

वीरगन्ज महानगरपालिका–४ बिर्तानिवासी उनी अहिले चिन्तित छन् । उनले रकम जम्मा गरेको सहकारी बन्द छ । सञ्चालक ११ महिनादेखि फरार छन् । वीरगन्जको लिंक रोडमा रहेको उक्त सहकारीका अध्यक्ष राजेश पटेल र कोषाध्यक्षसमेत रहेकी श्रीमती रीता पोखरेल भँडेलको घरमा भाडामा बस्दै आएका थिए ।

Meroghar


‘जमिन बिक्रीबाट ठूलै रकम आएको पटेलले थाहा पाएका थिए,’ उनले भने, ‘सहकारीमा रकम जम्मा गर्न दम्पतीले अनेक तरिकाले फकाउन थाले । आकर्षक ब्याज आउने लोभमा एक वर्ष ‘मेचुरिटी टाइम’ रहने गरी रकम जम्मा गरेको थिएँ ।’ उनका अनुसार ‘मेचुरिटी टाइम’ सकिएपछि पैसा झिक्न जाँदा सहकारीमा त्यति पैसा नभएको पटेलले बताएका थिए । पटेलले आफ्नो जमिन बेचेर भए पनि पैसा दिने आश्वासन दिएका थिए । ‘गैरसरकारी संस्था जेसिजका पूर्वअध्यक्ष र जिल्ला सहकारी संस्थाका कोषाध्यक्ष समेत भएकाले उनी सहकारी बन्द गरी पैसा लिएर फरार होलान् भन्ने सोचेको पनि थिइनँ,’ सोमबार वीरगन्जमा सहकारी पीडित संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भावुक हुँदै भँडेलले भने, ‘प्रहरी प्रशासनमा उजुरी दिएको पनि ११ महिना बित्न लाग्यो । हालसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।’

वीरगन्ज महानगरपालिका–२ छपकैया निवासी खैरुन नेसाले चिया र कबाड बिक्रीबाट जम्मा भएको ७२ हजार रुपैयाँ सोही सहकारीमा जम्मा गरेकी थिइन् । ४ छोरीकी आमा नेसाले छोरीहरूको विवाहका लागि पैसा जम्मा गरेको बताइन् । ‘मजदुरीबाट कमाएर जोगाएको पैसा थियो,’ उनले भनिन्, ‘सहकारीले हामी गरिबलाई दुःख दियो ।’ सहकारी सञ्चालक पैसा लिएर फरार भएको खबर सुनेर छपकैयामा दुई महिलाले मानसिक सन्तुलन गुमाएको उनले सुनाइन् ।

स्थानीय अदिना खातुनले आफ्नो एक लाख ६० हजार रुपैयाँ फसेको बताइन् । ‘कामधन्धा छोडेर सधैं प्रहरी प्रशासनकहाँ जान सक्दैनौं,’ उनले भनिन्, ‘अनुसन्धानमा प्रहरीले चासो देखाएको छैन ।’

वीरगन्ज–१६ इनर्वाभठ्ठा निवासी राजदेव राउत अहिरले आफ्नो २ कठ्ठा जग्गा त्यही सहकारीमा दृष्टिबन्धक राखी २५ लाख रुपैयाँ ऋण लिएका थिए । सहकारीले राजदेवको त्यही जग्गा राष्ट्रिय सहकारी संस्थामा धितो राखेर ४५ लाख रुपैयाँ ऋण निकालेको खुलासा भएको छ । ‘राष्ट्रिय सहकारीेले किस्ता रकमका लागि १५ दिने प्रकाशित गरेको सूचनाको रसिद घर पठाएको थियो,’ उनी भन्छन्, ‘सुरुमा त हामीले के भएको बुझ्नै सकेनौं, जग्गा त हामीले प्राइममा राखेका थियौं । तर, किस्ता नबुझाएको पुर्जी राष्ट्रिय सहकारीले काट्यो ।’ राजदेवका अनुसार राष्ट्रिय सहकारीको कार्यालयमा पुगेपछि सबै थाहा भयो ।

२०७५ चैत २४ मा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराए पनि हालसम्म कोही पनि पक्राउ नपरेको उनले बताए । ‘सरकारले सहकारी सञ्चालनको अनुमति त दिन्छ, तर अनुगमन गर्दैन,’ उनले भने, ‘सहकारी भाग्दा जिम्मेवारी लिने कोही भएन ।’ वीरगन्जका अधिकांश सहकारीले ऋण दिएको भन्दा झन्डै दोब्बर मूल्यमा धितो अन्यत्र राख्ने गरेको उनले बताए । प्रहरी कार्यालयमा बुझ्न जाँदा उल्टै प्रहरीले पीडितलाई नै धम्काउने गरेको सहकारी पीडितको आरोप छ ।

‘जिल्ला प्रहरी कार्यालय पर्साका मुद्दा फाँटका तत्कालीन प्रहरी निरीक्षक असरफ अली अन्सारीले अनुसन्धान गर्नुको सट्टा तिमीहरू अब फस्यौ, यसको पछाडि नपर भन्दै कार्यकक्षबाट निकाल्ने गरेका थिए,’ उमेश कुशवाहा भन्छन्, ‘पछिल्लो २ दिन लगातार डीएसपीको कार्यकक्षमा पुग्दा पनि कुनै सुनवाइ भएन ।’ पीडितका अनुसार सहकारीमा जम्मा भएको करिब १० करोड रुपैयाँ लिएर सञ्चालक फरार भएका छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले अहिले प्रहरीले खोजीखोजी अपराधी पक्राउ गर्ने अभियान नै सञ्चालनमा ल्याएको बताए । ‘जानाजान नसमात्ने त हुनै सक्दैन,’ उनले भने, ‘घर/ठेगाना नमिलेको होला, भारतमा लुकेर बसेका होलान् ।’

प्रकाशित : माघ १४, २०७६ ०९:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वैज्ञानिक वन व्यवस्थापन : पुराना झिक्दै, नयाँ रोप्दै

चारकोसे जंगलको १२ हजार हेक्टर क्षेत्रफलमा सखुवासहित विभिन्न जातका ५ हजार पुराना रुख काटिएको छ र ती क्षेत्रमा २० हजार बिरूवा लगाइएको छ 
विनोद भण्डारी

(विराटनगर) — पातलिँदै गएको मोरङको चारकोसे जंगलमा नयाँ बिरुवा हुर्कन थालेका छन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअनुसार जंगलमा रहेका सबैभन्दा पुराना /धोध्रा रूख काट्ने र ती स्थानमा नयाँ बिरुवा रोप्ने गरिएको छ । 

संघीय र प्रदेश सरकारले दिगो व्यवस्थापनमार्फत वन क्षेत्रको उत्पादकत्व र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ०७० मा लागू गरेको वैज्ञानिक वन व्यवस्थापन नीतिअनुसार पुराना काट्ने र नयाँ लगाउने गरिएको हो । अहिले चारवटा साझेदारी वन र २५ वटा सामुदायिक वन उपभोक्ता समितिले चारकोसे जंगलको १२ हजार १९२ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा सक्रिय रहेको डिभिजन वन मोरङका प्रमुख विशाल घिमिरले बताए ।

उनका अनुसार उक्त क्षेत्रफलमा सखुवासहित विभिन्न जातका ५ हजार २२ वटा पुराना धोध्रा रूख काटिएको र ती रुखले ओगटेको क्षेत्रफलमा २० हजारभन्दा बढी नयाँ बिरुवा हुर्काइएको छ । कागजी रूपमा ५५ हजार ५ सय हेक्टर जमिनमा रहेको चारकोसे जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको तथ्यांक छ । भू–सूचना प्रणाली (जीआईएस) ले दुई वर्षअघि सार्वजनिक गरेको नापी सर्भे प्रतिवेदनमा चारकोसेको उक्त क्षेत्रफल उल्लेख छ ।

सरकारले जंगल संरक्षण गर्न ०५५ देखि चारकोसे जंगल सामुदायिक र साझेदारी समूहलाई हस्तान्तरण सुरु गरेको हो । अहिलेसम्म १ सय ३४ वटा सामुदायिक र चारवटा साझेदारी समूहलाई २७ हजार ७ सय ९० हेक्टर चारकोसे जंगल हस्तान्तरण गरिसकेको छ । यीबाहेक विभिन्न १२ वटा धार्मिक समूहले ४४ हेक्टर र कबुलियत वनका नाममा ७८ हेक्टर वन क्षेत्र उपभोग हुँदै आएको छ ।

चुरेको फेददेखि माथिल्लो भागमा रहेको १६ हजार ६ सय ७८ हेक्टर क्षेत्रफल मात्र अब पूर्वी तराईमा राष्ट्रिय वनका रूपमा संरक्षित छ । १६ सय ४६ हेक्टरमा रहेको बेलबारी चिसाङ साझेदारी वन समूहले ४४ हेक्टरका पुराना र धोध्रा रूख निकालेर त्यहाँ सखुवा, सतिसाल, जामुनलगायतका जातका नयाँ बिरुवा हुर्काएको छ ।उक्त वनका अध्यक्ष दिनेश गिरीका अनुसार समूहले चालु वर्ष थप २२ हेक्टर क्षेत्रफलका धोध्रा रूख निकालेर नयाँ बिरुवा रोप्ने र बीउ छर्ने तयारी छ । ‘पुराना र धोध्रा रूख भएको स्थान र वरपर एउटा पनि बिरुवा थिएनन्’ गिरीले भने, ‘ती रूख निकालेर नयाँ बिरुवा हुर्काएपछि जंगल फेरि हरियाली हुन थालेको छ ।’ वन क्षेत्र तारले घेराबारा गरेर बिरुवाको संरक्षण गरिएको छ ।

साझेदारी वनले जंगलबाट निकालेको काठ आधा सरकारलाई बुझाउने र आधा जंगलको पहुँचभन्दा बाहिरका उपभोक्तालाई सरकारी दरमा बिक्री गर्ने प्रावधान छ । यो वनले गत वर्ष जंगलको पहुँचभन्दा बाहिरका २ हजार ४ सय उपभोक्तालाई सरकारी दरमा काठ र दाउरा वितरण गरेको गिरीले बताए ।

मोरङमा साझेदारीतर्फ बेलबारी चिसाङ, पथरी शनिश्चरे, लोहन्द्रा केराबारी र लाटीझोडाले गरी ७ हजार २ सय ६२ हेक्टर र विभिन्न २५ वटा सामुदायिक वनले ४ हजार ९ सय ३० हेक्टरमा क्षेत्रफलमा कार्यक्रम लागू गरेर त्यस क्षेत्रमा नयाँ बिरुवा हुर्काएपछि चारकोसे जंगल पुनः बाक्लो हुँदै गएको डिभिजन वन प्रमुख घिमिरेले बताए । उनका अनुसार यही क्रममा नयाँ बिरुवा हुर्काउने हो भने दशकपछि चारकोसे जंगल घना हुनेछ । सरकारले यो कार्यक्रम २०६१ सालमा पर्साबाट सुरु गरेर मोरङको चारकोसे जंगलमा २०७० सालमा लागू गरेको हो ।

प्रमुख घिमिरेका अनुसार वैज्ञानिक वन व्यवस्थापन गर्दा प्रतिहेक्टरमा बढीमा १५ देखि २५ वटा स्वस्थ्य माउ रूख राखेर अरू धोध्रा काटिन्छ । त्यसरी रूख काटिएपछि वन क्षेत्रलाई आठ खण्डमा विभाजन गरिन्छ । विभाजन गरिएका हरेक खण्डमा १०–१० वर्ष उमेर फरकका १० देखि ८० वर्षसम्मका नयाँ रूख हुर्काइन्छ । यसका लागि सरकारले मोरङमा मात्रै हरेक वर्ष सरदर एक करोड रुपैयाँ लगानी गर्दै आएको घिमिरेले बताए ।

वैज्ञानिक वन व्यवस्थापन प्रणालीका कारण जंगलमा कुहिने अवस्थामा रहेका वर्षौं पुराना रूख निकाल्दा राज्यलाई राम्रो राजस्व संकलन हुने र जंगलको पहुँचभन्दा बाहिरका उपभोक्तासमेत लाभान्वित हुँदै आएको सब–डिभिजन वन कार्यालय बेलबारीका फरेस्टरसाहिल चौधरीले बताए । गत वर्ष वैज्ञानिक वन कार्यक्रम सुरु भएका सामुदायिकबाट १ लाख ५४ हजार ७ सय ४५ क्युबिक फिट, वैज्ञानिक लागू नभएका ६३ वटाबाट ८२ हजार १ सय ६५ क्युबिक फिट, विभिन्न ८७ वटा समूहबाट २ लाख ३६ हजार ९ सय १० क्युबिक फिट बिक्री गरिएको थियो ।

यसैगरी, साझेदारी वनबाट १ लाख ६९ हजार ३ सय ६५ क्युबिक फिट काठ निकाल्दा राज्यलाई ११ करोड २२ लाख राजस्व संकलन हुनुका साथै जंगलमा नयाँ बिरुवासमेत हुर्केको र जंगलको पहुँचबाहिर रहेका जिल्लाका २ हजार ३ सय ६१ उपभोक्तालाई १ लाख ८० हजार ३ सय ५० क्युबिक फिट काठ आपूर्ति समितिले बिक्री गरेको घिमिरेले बताए ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम मोरङसहित प्रदेश १ का झापा, सुनसरी, उदयपुर र धनकुटामा लागू छ । यसबाहेक बारा, पर्सा, महोत्तरी, रौतहट, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कास्की, स्याङ्जा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बझाङलगायतका जिल्लामा लागू छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×