१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

३ दिनमै भत्कियो ढलान सडक

भूषण यादव

वीरगन्ज — पर्साको कालिकामाई गाउँपालिका–२ गदियानीमा ३ दिन अगाडि ढलान गरिएको सडक भत्किएको छ । गाउँपालिका अध्यक्ष निकटको समितिले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले ढलान भत्किएको स्थानीयको आरोप छ । 

३ दिनमै भत्कियो ढलान सडक

स्थानीय रामबाबु साहको घरदेखि लालबाबु साहको गोठसम्मको सडक ढलान गर्न गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको थियो । उपभोक्ता समितिमार्फत काम गरिएको थियो । स्थानीय भूषण ढलानको क्रममा मापदण्डबमोजिम डण्डी र सिमेन्ट प्रयोग नगरिएको दाबी गरे । साहका अनुसार गत बुधबार ढलान गर्ने क्रममै स्थानीयले विरोध गरे पनि समितिले निर्माण जारी राखेको थियो ।


स्रोतका अनुसार २० प्रतिशत कमिसनमा उपभोक्ता समितिले काम पाएकाले गुणस्तर बमोजिमको निर्माण हुन नसकेको हो । ‘योजना सम्झौता हुनुअगावै १० प्रतिशत र बाँकी १० प्रतिशत भुक्तानीको बेला दिने सहमति भएपछि योजना वितरण हुने गरेको छ,’ स्रोतले भन्यो, ‘कमिसनकै लागि अधिकांश टुक्रे योजना बनाइएका छन् ।’


उक्त सडक ढलानका लागि गत आर्थिक वर्षमै सडक अतिक्रमण हटाइएको थियो । घर भत्काइएको थियो । कमिसनकै लागि उक्त सडक ३ चरणमा निर्माण गर्न लागिएको स्रोतले बतायो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले गुनासो आउनेबित्तिकै अनुगमनमा गएको बताए । ‘४/५ मिटर ढलानमा कैफियत देखिएको छ,’ उनले भने, ‘तत्काल काम रोक्न निर्देशन दिएको छु ।’ उनका अनुसार प्राविधिक टोलीको सुझावअनुसार भत्काएर निर्माण गर्ने कि त्यसैको माथिबाट ढलान गर्ने निर्णय गरिनेछ ।


गुणस्तरहीन सामग्री प्रयोगको विरोध गत महिना कालिकामाई गाउँपालिका–१ मुड्ली टोलमा निर्माणाधीन नालामा गुणस्तरहीन इँटा प्रयोग भएको पाइएपछि स्थानीयले विरोध गरे । गाउँपालिका प्राविधिकले अनुगमनपछि उक्त इँटा अस्वीकृत गरिदिए । सिक्टा नदीदेखि शिव मन्दिरसम्मको ४ सय मिटर सडक खण्डमा नाला निर्माण गर्ने योजना थियो ।


गाउँपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । गुणस्तरहीन इँटाबारे स्थानीयले गाउँपालिकामा समेत जानकारी गराएका थिए, तर सुरुमा कसैले चासो लिएनन् । विरोध नै गरेपछि गाउँपालिका कारबाही गर्न बाध्य भयो ।


उक्त योजना स्थानीय उपभोक्ताको मागविपरीत भएको खुलेको छ । ‘हाल नाला निर्माण भइरहेको स्थानमा वर्षेनि सिक्टा नदीको बाढी आउने गरेको छ,’ मुड्लीका नरेश चौरसियाले भने, ‘इँदाको सोलिँ एक पटककै बाढीले बगाएर लान्छ, इँटाको सट्टा बोल्डरको प्रयोग आवश्यक छ ।’ गाउँपालिकाका प्राविधिक मिथलेश यादवले पनि स्थानीयले बोल्डर सोलिङ माग गरेको स्वीकारे । स्थानीयको माग बमोजिम गर्न नयाँ इस्टिमेट बनाउनु पर्ने उनको भनाइ छ ।


वास्तविक उपभोक्तासँग समन्वय नगरी योजना बनाइएकोले विरोध भएको गाउँपालिकाका एक कर्मचारीले बताए । सम्झौता पत्रमा एक नम्बर इँटा प्रयोग गर्ने सहमति भए पनि उपभोक्ता समितिले दुई नम्बर इँटा प्रयोग गरेको फेला

परेको प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए । ‘स्थानीयको मागअनुसार नालाको सोलिङमा बोल्डर राख्ने सहमति भएको छ,’ उनले भने, ‘गाउँपालिकाले गुणस्तरहीन निर्माणको भुक्तानी गर्दैन ।’


प्रकाशित : माघ १३, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?