२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चर्को ब्याजमा ऋण लिएर उपचार

राजविराज — दुर्घटनामा परी गम्भीर घाइते भएका रुपेश खंगको उपचारका लागि उनको परिवार चर्को ब्याजमा ऋण लिन बाध्य भएको छ । सप्तरीको रुपनी गाउँपालिका–५ वसविटीका रुपेशलाई उपचारकै लागि परिवारले ४८ प्रतिशत (मासिक ४ रुपैयाँ) ब्याजमा लाखौं रुपैयाँ ऋण लिएको हो । विपन्न परिवारका उनको उपचारमा सवारीधनीले खर्च दिएको छैन । 


रुपेशको बाबु रामअवतार र आमा बेलियादेवी दुवै बोल्न सक्दैनन् । सुन्ने क्षमता पनि कमजोर भइसकेको छ । दाजु दुखी खंग वैदेशिक रोजगारीमा छन् । परिवारको एकमात्र सहारा रुपेश चढेको मोटरसाइकललाई गत कात्तिक १० गते लक्ष्मीपूजाका दिन स १ त ४३६९ नम्बरको ट्रयाक्टरले राजविराज–रुपनी सडक खण्डको मलेठमा ठक्कर दिएको थियो ।


मोटरसाइकल चालक दीपेश यादवको मृत्यु भयो । रुपेश गम्भीर घाइते भए । उनको उपचारको लागि परिवारले ५ लाख ५० हजार रुपैंयाँ ऋण लिएको छ । रुपेशको उपचार खर्चले परिवारको अवस्था नाजुक भएको भाउजु अनितादेवीले बताइन् । दुर्घटनामा परी रुपेशको खुट्टा भाँचिएको थियो ।


विराट अस्पताल विराटनगरमा उपचारको क्रममा उक्त रकम बराबरको बिल उठेको अनीतादेवीले बताइन् । रुपेशलाई अहिले घर ल्याइएको छ । उनी अझै उठ्न सकेका छैनन् । खुट्टाको दुई ठाउँमा स्टील सेट जडान गरिएको छ । ‘न जग्गा छ, न त सम्पत्ति नै,’ अनिताले भनिन्, ‘ऋणले परिवारको बिल्लीबाठ नै भएको छ ।’


सवारीधनीबाट उपचार खर्च पाउनका लागि प्रहरी कार्यालयमा गुनासो पोख्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यामलाल बन्जाडेले केही दिनभित्रै घाइतेले उपचार खर्च पाउने गरी प्रक्रिया अघि बढाएको बताए ।



प्रकाशित : माघ १३, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?