१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कार्बन उत्सर्जनमा कमी

मेटाबिल्ट परियोजना लागू भएको चार वर्ष अवधिमा करिब चार हजार टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आएको छ 

(पर्सा) — मेटाबिल्ड परियोजना लागू भएको चार वर्ष अवधिमा नेपालमा करिब चार हजार टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आएको छ । परियोजनाका नेपाल प्रबन्धक निर्देशक अमरबहादुर मानन्धरले उक्त जानकारी दिँदै ४ वर्षमा नेपालमा कुल ३ हजार ९ सय ९६ टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आएको बताए । साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउन सन् २०१६ मा  युरोपेली संघको सहयोगमा मेटाबिल्ड परियोजना सुरु भएको थियो ।

‘साथै १ करोड ६ लाख युनिट ऊर्जासमेत बचत भएको छ,’ यहाँ आयोजित एक कार्यक्रममा उनले भने, ‘त्यसैगरी ३४ हजार किलो लिटर पानी बचत गरिनुका साथै १ हजार ३ सय ८७ टन वस्तुसमेत बचत गर्न सफलता मिलेको छ ।’


यसबाहेक ४ हजार ५ सय ५७ टन खेर गएका वस्तुबाट पुनरुत्पादन पनि गरिएको छ । सन् २०१६ को मार्च १ बाट नेपाल, श्रीलंका र बंगलादेश गरी ३ मुलुकमा एक साथ सुरु गरिएको यो परियोजनाअन्तर्गत नेपालमा काठमाडौं, ललितपुर, मोरङ सुनसरी औद्योगिक करिडोर, पर्सा बारा औद्योगिक करिडोर, कास्की गरी ८ जिल्लामा परियोजना लागू गरिएको उनले बताए ।


परियोजनाका विशेषज्ञहरूले उद्योगहरूको स्थलगत निरीक्षण गरी फर्नेसमा स्वचालित प्रणाली जडान गर्न तथा कम्प्रेसर मेसिन परिवर्तन गर्नलगायतका अन्य सुझाव पनि दिएका थिए ।


परियोजनाको एक साझेदार अस्ट्रियन रिसाइक्लिङ परियोजनाका प्रमुख तथा मेटाबिल्ड परियोजनाका ३ मुलुक हेर्ने प्रोजेक्ट म्यानेजर स्टेफेन मेलिनेस्कीले नेपालमा यो परियोजना लागू हुनुअघि भारतमा एसिड प्रयोग गरी धातु उत्पादन गर्ने उद्योग लक्षित यस्तै कार्यक्रम सञ्चालन गरिएको बताए । युरोपेली संघको सहयोगमा सञ्चालित यो परियोजना नेपालमा आउँदो फेब्रुअरीको अन्त्यमा सक्किँदै छ । यस ४ वर्षको अवधिमा श्रीलंकाका ८१ र बंगलादेशका २ सय ४० उद्योगमा पनि यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


पर्सा बारा औद्योगिक करिडोरस्थित हिमाल आइरनका प्रबन्धक फिरोज राठीले यो परियोजना आफ्नो उद्योगमा पनि लागू गरिएको र यस क्रममा विशेषज्ञको सुझावअनुसार उद्योगको मुख्य कम्प्रेसर मेसिन परिवर्तन गर्नुका साथै फर्नेसमा स्वचालित प्रणाली जडान गरेको बताए । यसबाहेक मजदुरलाई पनि सुरक्षा तालिम दिइएको उनले बताए । साख: स्टिल उद्योगका प्रबन्धक दीपकेन्द्र गुप्ताले परियोजनाका विशेषज्ञको सुझावअनुसार उद्योगको उपकरण फर्नेस आफूले तत्कालै फेरेको र अन्य कमीकमजोरी पनि सुधार गरेपछि हाल वार्षिक आम्दानी २ देखि ३ करोड रुपैयाँ वृद्धि भएको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष सुबोधकुमार गुप्ताले मुलुकमा राजनीतिकपछि अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताए । औद्योगिक व्यावसायिक क्षेत्रमा रहेका कमी कमजोरी सुधार गरेर ऊर्जाको बचत तथा कार्बन उत्सर्जनमा पनि कमी ल्याउने यस्ता परियोजना देशका सम्पूर्ण उद्योगमा लागू गर्न आवश्यक रहेको पनि उनले सुझाए ।


वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफूले परियोजनाका विशेषज्ञको सुझावमा ४ वर्षअघि नै आफ्नो प्लास्टिक उद्योगमा थुप्रै परिवर्तन गरेको चर्चा गरे । उनले यस्तो परियोजनाको सफल कार्यान्वयनले देशकै कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यक्रमको निरन्तरता र दिगोपनमा जोड दिए ।

प्रकाशित : माघ १२, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?