१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

‘स्थानीयको विरोध, विद्युत् पोल सार्न ढिलाइ, निर्माण सामग्री अभावलगायत कारणले निर्माण सुस्त’
सन्तोष सिंह

(धनुषा) — हुलाकी सडकको जनकपुर–कमला खण्ड निर्माणको म्याद सकिए पनि काम पूरा हुन सकेको छैन । गत असारसम्म सडक बनाइसक्नुपर्ने म्याद थियो । तर, हालसम्म आधा मात्रै काम सकिएको हो ।

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

उक्त सडक तीन चरणमा निर्माण भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरका अनुसार ३० दशमलव ५८ किलोमिटरमध्ये हालसम्म ११ किमी मात्र कालोपत्र भएको छ । पहिलो चरणमा कदमचोक–कपटौल हुँदै तिनकौरियासम्म १२ किमी र दोस्रो चरणमा १३ किमी गरी २५ किमी कालोपत्र र नाला निर्माण गर्न सडक लामा/रमण कन्स्ट्रक्सन कम्पनी जेभी र निर्देशनालयबीच २०७३ असार ३१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ असारसम्म निर्माण सक्नुपर्ने थियो । एक वर्ष म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।


तेस्रो चरणमा तिनकौरिया–लगमा–सघारा हुँदै कमला पुलसम्म ५ दशमलव ५८ किमी सडक बनाउन ढुकुचु कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । कम्पनीले २०७४ असार ३० देखि २०७५ पुस मसान्तसम्म काम पूरा गर्नुपर्ने सम्झौता थियो । काम पूरा नहुँदा २०७६ असोज मसान्तसम्म म्याद थपिएको थियो । थपिएको म्याद नाघिसक्दासमेत निर्माण सुस्त छ । सडकको निर्माण लागत ७० करोड ७ लाख २५ हजार रुपैयाँ रहेको छ ।


जनकपुर–कमला हुलाकी सडक खण्डको हालसम्म ५५ प्रतिशत मात्र काम भएको हुलाकी सडक कार्यालय जनकपुरका प्रमुख राजेन्द्र दासले बताए । पहिलो पटक थपिएको ६ महिनाको म्याद गत असोजमा सकिएपछि एक वर्ष म्याद थप्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘निर्माण सुस्त छ,’ उनले भने, ‘स्थानीयको विरोध, विद्युत् पोल सार्न ढिलाइ, निर्माण सामग्री अभावलगायत कारणले निर्माण सुस्त भएको हो ।’ उनले गाउँ क्षेत्रमा घर र सडकमा रहेको विद्युत् पोल समयमा खाली नहुँदा निर्माणमा प्राविधिक समस्या आएको बताए ।


सडक निर्माण सुस्त हुँदा कम्पनीको भुक्तानीसमेत रोकिएको दासले बताए । जनकपुरसँग धनुषाको पूर्वी गाउँ जोड्ने हुलाकी सडक सिरहा सदरमुकाम जोड्ने छोटो बाटो पनि हो । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण भारत क्षेत्रबाट जनकपुर आवतजावत गर्न बाध्य छन् । हुलाकी सडकअन्तर्गत सर्लाहीको नवलपुर–मलंगवा सडकको काम समेत पूरा हुन सकेको छैन । नवलपुर–गैर र गैर–मलंगवा गरी दुई खण्डमा काम भइरहेको सडकको काम पूरा हुन नसकेको हो । पहिलोपटक भएको सम्झौताअनुसार २०७५ असोज मसान्तसम्म काम पूरा नहुँदा २०७६ भदौ २४ गतेसम्म म्याद थप भएको थियो । तर, काम सकिएको छैन ।


गैर–मलंगवा खण्डको काम पूरा भए पनि नवलपुर–गैर खण्डको गैरचोकमा काम अधुरो छ । जनकपुर–जलेश्वर–भिठ्ठामोड १८ किलोमिटर ५ सय मिटर सडकखण्डको पनि काम सुस्त छ । वर्षा हुँदा जनकपुर–जलेश्वर सडक खण्डमा आवतजावत नै बन्द हुने गरेको छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?