१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अनि उनले मेवा खेती रोजे

शिव पुरी

(रौतहट) — गाउँका युवा रोजगारीका लागि विदेश गइरहेका थिए, उनलाई भने आफ्नै भूमिमा केही गर्ने हुटहुटी थियो । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने आत्मविश्वासका साथ उनले व्यावसायिक मेवा खेती सुरु गरे । गत वैशाखदेखि आफ्नै जमिनमा सुरु गरेको खेतीले अहिले आम्दानी दिने बेला भएको छ । 

अनि उनले मेवा खेती रोजे

वृन्दावन नगरपालिका–९ का ३९ वर्षीय प्रवेज आलमको खेती देखेर छिमेकी पनि दंग पर्छन् । मेवाको बोट हुर्केर अहिले धमाधम फल लाग्न थालेको छ । उनी दिनभर मेवाकै बोट वरपर हुन्छन् । भुसाहा कृषि तथा पशुपन्छी विकास फार्म दर्ता गरी उनले खेती सुरु गरेका हुन् । करिब ३ बिघामा रेड लेडी ७८६ ताइवान जातको बोट रोपेका छन् ।


भारतबाट ४ हजार बिरुवा ल्याएको उनले बताए । उनले सुरुमा १५ लाख रुपैयाँ लगानी गरेका छन् । ‘नौ महिनामा बोट निकै राम्रो सप्रेको छ,’ उनले भने, ‘यस्तैगरी सप्रिए राम्रै आम्दानी हुन्छ ।’ घरपरिवारले पनि उनलाई सघाएका छन् ।


‘सुरुमा प्लास्टिकको सानो झोलामा बीउ राख्नु पर्छ,’ मेवा खेतीको तरिकाबारे उनले भने, ‘एक/डेढ महिनापछि हुर्किन्छ अनि खेतमा सार्नुपर्छ ।’ पुस र माघको जाडोबाहेक जुनसुकै महिनामा मेवाको बोट रोप्न सकिने प्रबेजले बताए । सबैभन्दा राम्रो सिजन भने फागुन रहेको उनको भनाइ छ । ‘बोट हुर्केपछि ६/६ महिनामा फूल लाग्छ,’ उनले भने, ‘नौ महिनामा फल लाग्छ ।’


मेवाको बजार भाउ प्रतिकेजी सय रुपैयाँ रहेको प्रबेजले सुनाए । उनका अनुसार थोकमा विक्री गर्दा प्रतिकेजी ५०/६० रुपैयाँसम्म पाइन्छ । उनले लगाएको खेतमा एक सिजनमा झण्डै एक लाख किलो मेवा उत्पादन हुने अनुमान गरिएको छ । ‘यही हिसाबले ५०/६० लाख रुपैयाँको मेवा बिक्री होला,’ उनले भने, ‘बोटमा रोग लागेन भने सोचेभन्दा धेरै आम्दानी हुन्छ ।’ उनले एक जनालाई महिनाबारी तलब दिई राखेका छन् । ज्यालादारीको रुपमा ७/८ जना राखेका छन् । मेवाको आयु २/३ वर्षसम्म हो । एउटा बोटमा मेवा फल्न थालेपछि माथि सर्दै फल लाग्दै जान्छ । अन्तमा बोट बूढो हुन्छ र फल लाग्न छाड्छ । त्यस पछि नयाँ बोट रोप्नुपर्छ । प्रबेजले स्थानीय नदी तथा पम्पसेटको प्रयोग गरेर सिँचाइ गर्दै आएका छन् । २०/२५ प्रतिशत मेवा स्थानीय स्तरमा खपत हुने अनुमान छ । बाँकी राजधानी र पोखरालगायतका सहरमा बिक्री गर्ने उनको योजना छ । जिल्लामा यति ठूलो मात्रामा मेवा खेती गर्ने उनी पहिलो युवा हुन् । राम्रो उत्पादन भए थप ४ बिघामा खेती विस्तार गर्ने उनको योजना छ ।


मौलापुर नगरपालिकाको सोरनियामा रामईश्वर पण्डितले मेवा खेती गरेको देखेर उनले सुरु गरेका हुन् । फतुवा विजयपुर, राजपुर लगायतका नगरपालिकामा पनि केहीले व्यावसायिक रुपमा मेवा खेती सुरु गरेका छन् ।

प्रकाशित : माघ ११, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?