कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

३ हजार वर्ष कैद असुल्न बाँकी

पर्सा — २०६५ भदौमा उदयपुर, घुर्मीकी देवमतीदेवी साहलाई गोली हानी हत्या गरेका वीरगन्ज–२७ का विक्रम यादवलाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । १२ वर्षदेखि फरार रहेका उनलाई गाउँमै लुकेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

३ हजार वर्ष कैद असुल्न बाँकी

प्रहरीले फरार अपराधी पक्रन सक्रियता देखाए पनि असुल्न बाँकी कैद र जरिवाना अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ । तहसिल फाँटका अनुसार बिहीबारसम्म असुल गर्न बाँकी जरिवाना रकम ९६ करोड ५१ लाख ८५ हजार १ रुपैयाँ २१ पैसा र कैद बक्यौता ३ हजार १ सय ५३ वर्ष १५ दिन छ ।


पुसमा मात्र कुल जरिवाना तथा कैदको क्रमशः ३ दशमलव ०४ प्रतिशत र १३ दशमलव ०८ प्रतिशत फर्छ्योट भएको छ । जिल्ला अदालतका तहसिलदार शम्मीकपुर साह पछिल्लो समय प्रहरीले सक्रियता बढाएपछि फरार अपराधी धमाधम पक्राउ पर्न थालेको दाबी गर्छन् । ‘पुस ११ गते जिल्ला प्रहरी र जिल्ला अदालतबीच अपराधी पक्राउ गर्न विशेष अभियान चलाउने समझदारी नै भएको छ,’ उनले भने, ‘अभियानमा जिल्ला अदालतले सक्दो सहयोग र सहकार्य गरिरहेको छ, प्रहरीले पनि दैनिकजसो फरार अपराधी पक्राउ गरिरहेको छ ।’


लामो समयदेखि लुकीछिपी तथा विभिन्न आवरणमा बस्दै आएका अपराधी पक्रन सहज भने छैन । फरार रहेकामा धेरैजसो भारतीय छन् । खुला सीमाका कारण नेपाली पनि अपराध गरेर भारतमा लुक्न सक्छन् । कतिपय जिल्ला अदालतले कैद तथा जरिवाना तोकेका अपराधी पुनरावेदनका लागि उच्च अदालत जाने भएकाले पनि कैद–जरिवानाको बक्यौता बढी देखिन्छ ।


जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापा फरार अपराधी पक्रनुलाई उच्च प्राथमिकतामा राखेको दाबी बताउँछन् । गत वर्ष १ सय ४१ फरार अपराधी पक्राउ गरी २२ वर्ष ४ महिना २४ दिन कैद र १२ लाख ७१ हजार ३ सय ७३ रुपैयाँ जरिवाना असुल गरिएको उनको भनाइ छ । चालू आवको पुस मसान्तसम्म १ सय ९६ फरार अपराधी पक्राउ गर्नुका साथै उनीहरूबाट ७९ वर्ष ३ महिना कैद र ५५ लाख ५१ हजार ५ सय २५ रुपैयाँ जरिवाना असुलिएको थापाले बताए ।

प्रकाशित : माघ १०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?