कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बर्दिवासमा फस्टाउँदै होटल

बीपी राजमार्ग, जनकपुर–जलेश्वर राजमार्गको ‘ट्रान्जिट प्वाइन्ट’ भएकाले यात्रु तथा पर्यटकको आराम गर्ने थलोको रुपमा विकास
सुनिता बराल

(महोत्तरी) — पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बर्दिवास व्यापारिक केन्द्र बन्न थालेको छ । सिन्धुलीलगायत पहाडी र तराईका जिल्लाको संगमस्थल भएकाले यहाँ व्यापारिक गतिविधि बढेको हो । बर्दिवासमा ठूल्ठूला घर, व्यापारिक भवन, होटल तथा रिसोर्ट बन्नुका साथै सरकारी र बैंक तथा वित्तीय संस्थाका कार्यालय स्थापना हुन थालेका छन् । 

बर्दिवासमा फस्टाउँदै होटल

तराईका बासिन्दालाई गर्मी र पहाडकालाई जाडो छल्न बर्दिवास उपयुक्त गन्तव्य भएको छ । बीपी राजमार्ग, जनकपुर–जलेश्वर राजमार्गको ट्रान्जिट प्वाइन्ट पनि बर्दिवास बनेको छ । भारतको जयनगर, जटही, जमुनी, सितामढी भिट्टामोड लगायत विभिन्न नाका हुँदै पूर्व तथा पश्चिम नेपाल प्रवेश गर्ने भारतीय र नेपाली आगन्तुकका निम्ति बर्दिवास सुरक्षित गन्तव्यस्थल बन्दै गएको बर्दिवास उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण गौतमले बताए । होटल तथा सपिङ कम्प्लेक्सका कारण पनि आगन्तुकको रोजाइमा बर्दिवास पर्न थालेको उनको भनाइ छ ।


प्राकृतिक रुपमा सुन्दर, सरसफाइ र सुविधायुक्त होटल, लज र जुनसुकै बेला सवारीसाधन पाइने भएकाले यात्रु तथा पर्यटकका लागि बर्दिवास आकर्षणको केन्द्र बन्दै गएको हो । ‘बर्दिबासमा सस्तो र महँगो दुवैखाले आवास पाइने भएकोले जुनसुकै स्तरका ग्राहकले पनि बस्न पाउँछन्,’ गौतमले भने । उनका अनुसार बर्दिवास नगरपालिका क्षेत्रमा करिब ११ सयभन्दा बढी होटल दर्ता भई सञ्चालित छन् ।


बर्दिबासमा सबैभन्दा पहिला २०३५ सालमा सानो घरबाट सुरु भएको ‘गौतम होटल’ अहिले तारे स्तरको बनेको छ । तीनतारे होटलको मापदण्ड पूरा गरिसकेकोले सम्बन्धित निकायमा गुणस्तर कायम गर्न कानुनी प्रक्रियामा रहेको होटल सञ्चालक हीरा गौतमले बताए । प्रदेश २ मा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि गौतम होटल, विनायक, मिथिला, गौरीशंकरलगायत बर्दिवासका होटल रोजाइमा पर्ने गरेका छन् ।


नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि बर्दिवासका अधिकांश होटल भरिभराउ छन् । भ्रमण वर्ष सुरु भएको २१ दिनमै दुई सय जनाभन्दा बढी विदेशी पाहुना गौतम होटलमा बसिसकेको सञ्चालक गौतमले बताए । उनले २० वर्षअघि डेढ लाख रुपैयाँ ऋण लिएर सुरु गरेको होटलको पुँजी एक अर्ब पुगेको बताए । बर्दिवासमा रहेको होटल विनायक तीन वर्षअघि करिब ३० करोड रुपैयाँ लगानीमा खुलेको हो । करिब २० करोड रुपैयाँ लगानीमा होटल रिसोना र मिथिला होटल लगायत अन्य सुविधायुक्त होटल पनि खुलेका छन् । प्रदेशको राजधानी जनकपुर भएपछि प्रदेशस्तरीय कार्यक्रमहरू समेत बर्दिवासमै सञ्चालन हुन थालेका छन् । व्यवसाय फस्टाएपछि होटल स्थापनाका लागि व्यवसायीहरू उत्साहित छन् ।


होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बर्दिवास बजार क्षेत्रमा मात्रै सञ्चालित करिब २ सय होटललाई ४ तहमा विभाजन गरेको छ । लगानीको आधारमा १५ देखि ५० करोडसम्म लगानीका ५ वटा होटललाई क श्रेणी, १५ करोडसम्म लगानीमा बनेका होटल सिसमहल, नमोबुद्ध, पन्चधुरा, विश्वमित्र, जनता होटल, खड्ग होटल लगायत १५ वटालाई ख श्रेणी र अन्य होटललाई ग श्रेणीमा वर्गीकरण गरिएको संघका अध्यक्ष दीपेन्द्र पराजुलीले बताए । उनले यहाँका होटल व्यवसायीले पाहुनालाई राम्रो सेवा दिएकाले बर्दिबास रोजाइमा पर्ने गरेको बताए । होटल व्यवसाय रोजगारीको स्रोत पनि भएकोले सेवा विस्तार गर्दै प्रभावकारी बनाउन जरुरी रहेको प्रदेश २ की सांसद शारदादेवी थापाले बताइन् । सुविधासम्पन्न होटलहरू थपिँदै जानु बर्दिवासको समृद्धि र विकास मान्न सकिने बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले बताए ।


प्रकाशित : माघ ९, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?