कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सडक अतिक्रमणले दुर्घटना

(रौतहट) — पूर्वपश्चिम राजमार्ग र सदरमुकाम गौर खण्डमा सडक अतिक्रमण बढेको छ । दशकयता सडक मिचेर घरटहरा बनाउने क्रम रोकिएको छैन । तर, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले अतिक्रमण हटाउन चासो नदिएको सरोकारवालाले औंल्याएका छन् । 

सडक अतिक्रमणले दुर्घटना

सडक डिभिजन चन्द्रनिगाहपुरले आइतबार आयोजना गरेको ट्राफिक जनचेतनामूलक सडक बोर्ड हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरीप्रमुख एसपी रविराज खड्काले सडक अतिक्रमण चुनौती बनेको बताए । ‘सडकमै पसल थाप्ने, पशु बाँध्ने, गोठ बनाउनेजस्ता काम भइरहेकाले तत्काल हटाउनुपर्छ,’ उनले भने, ‘यस्ता कार्यले दुर्घटनासमेत हुने भएकाले अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्छ ।’


चन्द्रपुरको मुख्य चोक बजार क्षेत्रमा सडक मिचेर पसल थापिएका छन् । गौर सडकमा पशु बाँध्ने, पसल थाप्ने र घर–टहरा बनाउने काम तीव्र छ । चन्द्रनिगाहपुरबाट दक्षिणतिर लागेपछि अतिक्रमण प्रस्टै देखिन्छ । मुख्य राजमार्गको चोक फलफूल पसलले ओगटेका छन् । सडक डिभिजन भने अतिक्रमण हटाउन सूचना जारी गरेर चुपचाप बसेको छ । ‘अब हामी एक्सनमा जान्छौं, सरोरकावाला बसेर प्लान गर्छौं,’ सडक डिभिजन प्रमुख दरोगा प्रसादले भने । चन्द्रनिगाहपुर–गौर खण्डमा पनि अतिक्रमण बढ्दो छ । सडक ओगटेर पशु बाँधिनुका साथै परालका टाल र पसल राखिएका छन् । स्थानीय प्रशासनले २ वर्षअघि हटाए पनि स्थानीयले फेरि अतिक्रमण गरिसके छ । सडक सबैभन्दा बढी बालचनपुर पडोरिया क्षेत्रमा मिचिएको छ । राष्ट्रिय राजमार्गमा सडकको बीच भागबाट २५ र सहायक मार्गमा १५ मिटर छाडेर मात्र संरचना बनाउन पाइन्छ ।


अतिक्रमणले सडक साँघुरिएर यातायात सञ्चालनमा कठिनाइ हुने गरेको बारे प्रशासन बेखबर छैन । चन्द्रनिगाहपुरमा सडक मिचेर बनाइएका संरचना पटकपटक भत्काई पनि सकेको छ । तर, अहिले उस्तै भइसक्यो । ‘देशको मुख्य राजमार्गको अतिक्रमण तत्काल हटाइहाल्नुपर्छ,’ स्थानीय समाजसेवी बाबुराम दाहालले भने, ‘सडक डिभिजन चुप बस्नुले अतिक्रमणले प्रश्रय पाएको हो ।’ चन्द्रनिगाहपुरदेखि गौर (४२ किमि) सम्म कतिपय स्थानमा सडक क्षेत्र ओगटेर पोखरी खनिएका छन् । कतै चिम्नी उद्योगले पनि सडककै माटो खन्छ । केही स्थानमा मोटरसाइकलका ग्यारेज राखिएका छन् । सडक साँघुरो भएकाले दुइटा गाडी एकैचोटि पार हुन मुस्किल पर्छ ।


अतिक्रमणले दुर्घटना

प्रदेश २ ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले सडक अतिक्रमण, मानवीय त्रुटि र लापरबाहीका कारण दुर्घटना बढेको बताए । सडक बोर्ड हस्तान्तरण कार्यक्रममा उनले भने, ‘सहायक मार्गमा जताततै सडक अतिक्रमण गरेर घर बनाइएका छन् । गाडी पास हुन समेत समस्या छ ।’


चालकको लापरबाही, गलत ओभरटेक, मापसे, हेलमेट प्रयोग, सिट क्षमताभन्दा बढी यात्रु, सिट बेल्ट प्रयोग नगर्नु, तीव्र गति र बत्तीको गलत प्रयोगलाई उनले दुर्घटनाका अन्य कारण औंल्याए । एसपी महतोका अनुसार प्रदेश २ का आठ जिल्लामा ३ सय ७८ जना मात्र ट्राफिक जनशक्ति छन् । अहिले उपलब्ध जनशक्तिका आधारमा एक ट्राफिकले १२.५ किलोमिटर सडक र १ हजार ९ सय ५१ सवारी साधन जिम्मा लिनुपर्ने अवस्था छ ।

प्रकाशित : माघ ८, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?