कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आलोपालो सुत्छन् कैदीबन्दी

डेढ सय कैदीबन्दी राख्न सकिने कारागारमा अहिले ५१८ जनालाई राखिएको छ
भरत जर्घामगर

(सिरहा) — जिल्ला प्रहरी कार्यालय सिरहाले गत शुक्रबार जाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गर्‍यो । लहान नगरपालिका–१० ग्रामीण चौकबाट सप्तरी सुरुंगा नगरपालिका–८ का प्रेम चौधरीलाई १५ ग्राम ९ सय २० मिलिग्राम ब्राउन सुगर र २ सय मिलिग्राम ह्वाइट सुगरसहित पक्राउ गरिएको थियो ।

आलोपालो सुत्छन् कैदीबन्दी

पछिल्लो समय जिल्लामा लागूऔषध कारोबारी दिनहुँजसो समातिन थालेका छन् । कार्यालयको तथ्याकंअनुसार चालु वर्षको हालसम्ममा लागूऔषधका ८५ मुद्दामा १ सय ६ जनाभन्दा बढी पक्राउ परेका छन् ।


प्रहरीले लागूऔषध कारोबारीलाई धमाधम नियन्त्रणमा लिन थालेपछि सिरहा कारागारमा कैदीबन्दीको चाप बढेको छ । लागूऔषध र पुराना मुद्दाका गरी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारमा एक सय ३५ पुरुष र १५ महिला गरी डेढ सय कैदीबन्दी राख्न मिल्छ । तर, अहिले क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी कारागारमा रहेको निमित्त प्रमुख जेलर बबिता महतोले बताइन् । उनका अनुसार कारागारमा ४ सय ९३ पुरुष, २१ महिला र ४ नाबालक आश्रित गरी ५ सय १८ कैदीबन्दी छन् । तीमध्ये लागूऔषधका मात्रै ९५ जना छन् ।


जीर्ण कारागारमा ९ वटा कोठा छन् । त्यसमध्ये महिला राख्ने तीनवटा र एउटा पुस्तकालय कोठा छन् । पुस्तकालयमा समेत कैदीबन्दी भरिभराउ छन् । कैदीबन्दीहरूले बस्ने र सुत्ने ठाउँ अभावकै कारण कोचिएर बस्न बाध्य भएको गुनासो सुनाए । ‘पालो लगाएर कोही बरण्डा त कोही आँगनमा सुत्छौं,’ एक कैदीबन्दीले भने, ‘पानी पर्दा चुहिने भएकाले रातभर सुत्न पाइँदैन ।’ भवन जीर्ण भइसकेकाले कैदीबन्दी त्रासमा बसेको उनको भनाइ छ । कारागारभित्र पुरुषलाई १२ र महिलालाई दुईटा शौचालय छन् । शौच गर्न बिहान ४ घण्टासम्म लाइन लाग्नुपर्छ । कारागारमा खानेपानीको समेत समस्या छ । यी समस्याबारे अनुगमनमा आउने दलका नेता, अधिकारकर्मीको टोली र प्रशासनलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।


पछिल्लो आठ महिनामा लागूऔषधका दिनहुँजसो थुनुवा र कैदी आएपछि कारागारले थेग्न कठिनाइ भएको जेलर महतोले सुनाइन् । कर्तव्य ज्यान मुद्दाका पुराना फरार व्यक्ति र जबर्जस्ती करणी मुद्दाका आरोपित पनि धमाधम पक्राउ हुन थालेपछि कारागार भरिभराउ भएको उनको भनाइ छ । सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जिल्लामा लागूऔषधसहित अपराध नियन्त्रणका लागि कडाइ गरिएको जानकारी दिए ।


२०२८ सालमा बनेको सिरहा कारागारको भवन र चारैतिरको पर्खाल जीर्ण भइसकेको छ । सोही कारण कैदीबन्दी अन्यत्र सार्न माथिल्लो निकायमा जानकारी गराएको जेलर महतोले बताइन् । जिल्ला कारागार सिरहाको नाममा २ बिघा १ कठ्ठा ६ धुर जग्गा रहे पनि सुरक्षा दृष्टिकोणले संवेदनशील र अतिक्रमणको चपेटामा रहेको उनले जानकारी दिइन् ।

प्रकाशित : माघ ७, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?