कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव

लक्ष्मी साह

(बारा) — फेटा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव बढेको छ । दुवै पक्षले आआफ्नै अनुकूलता खोज्दा विवाद सतहमा आएको हो । अध्यक्षलगायत जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत एक महिनादेखि आरोप प्रत्यारोपमा उत्रिएका छन् । विवाद समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन जना प्रशासकीय अधिकृत पठाइसकेको छ । तर पनि विवाद समाधान भएको छैन । 

गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादको समूहले गत मंसिर २३ मा अघिल्लो प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पाल बिदामा बसेको मौकामा कार्यालयकै अर्का कनिष्ठ अधिकृत मुरारीप्रसाद तिमिल्सेनालाई कामु प्रमुख प्रशासकीय अधिकृत बनाएको थियो । त्यसको विपक्षमा पाल मंसिर २४ गते मन्त्रालय पुगे । मन्त्रालयबाट तिमिल्सेनालाई बदर गराएर पाल पुनः आए । त्यसपछि उनको विरुद्धमा अध्यक्षको नेतृत्वमा पदाधिकारी समूह नै मन्त्रालय पुगेको थियो । मन्त्रालयले पर्सा जिल्ला प्रशासन कार्यालयका अधिकृत प्राण मेहतालाई पालको स्थानमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएको छ ।


पालले गोप्य योजनाबारे विरोधीलाई सूचना चुहाएको आरोप अध्यक्ष अमिरीलाल समूहको छ । साथै, मनोमानी रुपमा सुविधा माग्न थालेको, योजनामा कमिसन मागेको र बजेट दुरुपयोग गरेको अध्यक्ष समूहको भनाइ छ । ‘अधिकृत पालले वीरगन्जमा घर हुँदाहुँदै फ्लाट र गाडी सुविधा मागे,’ अध्यक्ष अमिरीलालले भने, ‘त्यसैले उहाँको सरुवा गरायौं ।’


पालले भने आफूलाई सुरक्षित रुपमा काम गर्ने वातावरण अध्यक्षले नबनाइदिएको बताए । ‘आफ्नो अनुकूलका कर्मचारीलाई मात्र राख्ने र अनुकूल नभएकालाई बेइज्जत गर्ने अध्यक्षको प्रवृत्ति छ,’ उनले भने । अध्यक्षले अहिलेसम्म ४ जना अधिकृतलाई डराई धम्काई बेइज्जत गरी पठाएको उनको आरोप छ । ‘महिनौंदेखि पालिकाका निलम्बित अधिकृतले सदरमुकाममा ‘फ्ल्याट’ लिएर बस्दा कसैको आपत्ति नहुने ?’ उनले प्रश्न गरे, ‘म अन्तै बस्न खोज्दा किन आपत्ति हुने ?’ कार्यालयको आन्तरिक मामिला कसैलाई पनि नसुनाएको उनले बताए ।


गाउँपालिकामा सरुवा सदर र बदरकै विषयले एक महिनादेखि कामकाज प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारीले दुवै पक्षबीच समन्वय गराउन खोजे पनि सफल हुन सकेको छैन । प्रजिअ फणिन्द्रमणि पोखरेलले पालिकामा गुटबन्दी भएकाले तालमेल नमिलेको बताए । यहाँका पालिकाको प्रशासन हेर्ने जिम्मा स्वास्थ्यकर्मी र प्राविधिकलाई दिँदा विवाद बढेको नागरिक अगुवा हीरालाल साहको भनाइ छ । ‘शिक्षक र स्वास्थ्यकर्मीलाई जिम्मा दिएपछि विकासको आशा कसरी गर्न सकिन्छ ?’ उनले भने, ‘पालिकालाई जनप्रतिनिधि र कर्मचारीहरूले अतिरिक्त आम्दानी गर्ने थलो ठानेका छन् ।’


प्रकाशित : माघ ७, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?