कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भुटानीलाई नागरिकता प्रकरण : १३ वर्ष भयो, अनुसन्धान सकिएन

शिव पुरी

(रौतहट) — भुटानीहरूले झुक्याएर नागरिकता बनाएको विषयमा जिल्ला प्रशासनले अनुसन्धान थालेको १३ वर्ष भइसक्दा पनि पूरा भएको छैन । त्यस बेला गाउँमा खटिएको टोलीबाट लिइएका नागरिकताबारे कागजात प्रशासन कार्यालयमा नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको हो । 

भुटानीलाई नागरिकता प्रकरण : १३ वर्ष भयो, अनुसन्धान सकिएन

जिल्लाको साविक जिंगडिया गाविस हाल गरुडा नगरपालिका–८ स्थित बसबिटी जिंगडिया गाउँमा ०६३/०६४ मा पुगेको टोली नम्बर ११ ले ३० भन्दा बढी भुटानीलाई नागरिकता दिएको थियो । भुटानीले नागरिकता लिँदा त्यहीँ जन्मेको झूटो विवरण पेस गरेका थिए । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको अभिलेखमा त्यस बेला टोलीले ६३ जनालाई जन्मका आधारमा नागरिकता वितरण गरेको उल्लेख छ । ‘जिंगडियामा पहाडी समुदायका मानिस नै छैनन् । कसरी नागरिकता बनाए भन्ने अनुसन्धानकै विषय छ,’ प्रशासकीय अधिकृत किरणनिधि तिवारीले भने । उनले त्यस बेलाको कागजपत्र सुरक्षित नरहेकाले अनुसन्धानमा समस्या आएको बताए । ‘हामीसँग रजिस्टर मात्र सुरक्षित छ,’ उनले भने । भुटानीले नागरिकता लिँदा तयार गरिएको रजिस्टरको कैफियतमा सचिवको नामसमेत उल्लेख छैन ।


नागरिकता लिएका भुटानीहरू अहिले कहाँ बसेका छन् भन्ने पनि कसैलाई थाहा छैन । तीन वर्षअघि सदरमुकाम गौरबाट पक्राउ परेका ठाकुरप्रसाद न्यौपाने भुटानी भएको खुल्यो तर उनीसँग रौतहटबाटै लिएको नागरिकताको प्रमाणपत्र थियो । प्रहरीले सोधखोज गर्दा साबिक जिंगडिया गाविसमा २०६३ सालमा खटेको टोलीबाट १८ हजार रकम दिएर नागरिकता लिएको उनले बताए । प्रहरीले तत्कालै अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई टोलीले वितरण गरेको अनुसूची फारामलगायत कागजपत्र मागेको थियो । तर उक्त गाविसमा खटिएको टोलीले नागरिकता वितरण गरेको सम्बन्धी सबै कागज पानी चुहिएर सडिगली नष्ट भएको जवाफ प्रशासनले जिल्ला प्रहरीलाई पठायो । जिल्ला प्रहरीले तत्कालीन प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीलाई छानबिन गर्न अनुरोध गर्‍यो । उनको सरुवापछि मुद्दा त्यतिकै सेलायो । त्यसपछि आएका प्रजिअहरूले अनुसन्धान हुँदै छ भन्ने गरेका छन् तर काम केही भएको छैन । ओलीपछि प्रमुख जिल्ला अधिकारी बनेर आएका शिवहरि उपाध्यायले कर्मचारीको बदमासी भएको बताएका थिए ।


जिंगडियामा मुस्लिम, साह, चमार, बनिया, कानु, यादवलगायतका समुदाय छन् । यहाँ मुस्लिम समुदायको बाहुल्य छ । टोलीले गौतम, भट्टराई, तिमल्सिना, न्यौपाने, आचार्य, पौडेल र कार्की थरका भुटानीलाई नागरिकता दिएको थियो । तत्कालीन गाविस सचिवकै सिफारिसमा उनीहरूलाई नागरिकता दिइएको हो । जिंगडियाका शेख अब्दुलले गाउँभरि पहाडी समुदायका मानिस नभएको बताए ।

प्रकाशित : माघ ७, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?