१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कटेरोमा दुई सन्तान स्याहार्दै

महोत्तरी बर्दिवास हात्तीलेटका एक दम्पती मानसिक रोगी छोरी र अपाङ्गता भएका छोरालाई आर्थिक अभावमा उपचार गराउन नसकेर २० वर्षयता कटेरोमा थुनेर राखेका छन् ।  
सुनिता बराल

(महोत्तरी) — बर्दिवास ८ हात्तीलेटकी ७० वर्षीया धनमाया बमजन भोक–निन्द्रा भुलेर २० वर्षदेखि दुई छोराछोरीको सेवामा खटिएकी छन् । जेठी छोरी सुकुमाया र कान्छो छोरा मानबहादुरलाई उपचार गर्न नसकेपछि धनमायाको परिवारले २० वर्षदेखि कटेरोमा थुनेको छ । 

रहरको पहिलो सन्तान छोरी जन्मिएपछि धनमाया र बादल बमजन निकै खुशी थिए । छोरीको प्रगति हेर्न आतुर उनीहरू छोरीले मानसिक सन्तुलन गुमाएपछि उपचारमा पनि तल्लीन भए । चिनेजानेका धामी र डाक्टर लाउँदा छोरीको उपचारमै सबै सम्पत्ति सकियो ।


सिन्धुली रानीचुरीको घर, खेती, हल गोरु, बाख्रा सबै साहुलाई बुझाएर उनीहरूले थातथलो छाडे । २० वर्षदेखि धनमायाको परिवार महोत्तरीको बर्दिवास ८ हात्तीलेटमा बसोबास गर्दै आएका छन् । सम्पत्ति सकिएपछि छोरीलाई राम्रो उपचार पाउने ठाउँमा लान नसकिएको बादलले बताए । छोरी सुकुमाया अहिले ४५ वर्ष पुगिसकेकी छन् । उपचार गर्न नसकेपछि उनलाई २० वर्षदेखि एउटै कटेरोमा कोचेर राखिएको छ । सुकमायालाई सुरुमा सिन्धुलीको भिमानमा एक डाक्टरलाई देखाएका थिए । त्यसपछि धामी कहा झारफुक गराए पनि निको नभएको धनमायाले बताइन् ।


सुरुका दिनमा छोरीलाई बाँधेर राखेको बताउने धनमाया अहिले आफ्नो छोरीको अवस्था देख्दा आँसु खसाल्छिन् । बादल र धनमायाको कान्छो छोरा मानबहादुर ३० वर्षका भए । उनी बिरामी परेपछि उपचार गर्ने पैसा नहुँदा मानबहादुरलाई उनको परिवारले धामी र डाक्टरको मुख समेत देखाउन सकेन । कमाउने र आफ्नो जीवन बनाउने उमेरमा रोगले गलेर थला परेपछि धनमाया र बादलले कान्छो छोरालार्ई समेत कटेरो बनाएर कोच्न बाध्य भए ।


छोरा मानबहादुर जन्मिँदा बोल्न नसक्ने भए पनि अन्य शारीरिक अवस्था ठीक थियो । १२ वर्षको उमेरदेखि मानबहादुरमा हिँड्न नसक्ने भयो । ‘त्यतिबेलासम्म बोल्न नसके पनि अरु काम सबै आफै गर्थ्यो । खर्च नहुँदा कतै देखाउन सकिएन,’ धनमायाले भनिन् ।


सम्पति सकिएपछि छोरी ठीक हुने आशामा ७ पटकसम्म ठाउँ सर्दै बसेको उनले बताइन् । टाँट लगाएको सानो झुप्रो घर र छेउमा २ बिरामी छोराछोरीलाई राख्ने कटेरा अहिले आफुहरूको सम्पति भएको उनी बताउँछिन् । ‘आधा रातमा समेत टर्च लिएर यिनीहरूको सेवा गर्छु,’ धनमायाले भनिन्, ‘आमा हुँ, मर्न दिन सक्दिनँ, उपचार गर्न सकिएन ।’ धनमायाले चिसोको समय कटेरामा कोचिएका दुई सन्तान सुकुमाया र मानबहादुरलाई आफ्नै सारिले लट्पट्याउँदै राख्छिन् । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले लाउने, खाने, ओढ्ने, ओछ्याउनेको समेत अभाव रहेको उनले बताइन् ।


दुई सन्तानले उपचार पाएर आफ्नो ख्याल आफैँ गर्न सक्ने भए त्यो भन्दा खुशी आफूलाई अरु केही नहुने उनी बताउँछिन् । आफ्नो पारिवारिक अवस्था सबैले देखेको भए पनि सरकारले कुनै सहयोग नगरेको उनीहरूको गुनासो छ । दुवै सन्तानको अपांगता भएकाको परिचय पत्र अहिलेसम्म उनीहरूले बनाउन सकेका छैनन् । पशु झैं दुई सन्तान कटेरामा राखेर पाल्दा समेत स्थानीय सरकारले नदेखेझै गरेको दम्पतीको गुनासो छ । उनीहरूलाई उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको भूमि अधिकार मञ्च नेपालका केन्द्रिय तथा स्थानीय फौदसिंह स्याङ्वाले बताए । परिवारको आर्थिक अवस्था कमजोर भएकाले पशुको झैं जीवन बाँचिरहेका सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्धार गर्नुपर्ने उनले बताए । वर्षौ देखि गोठमा थुनेर राखेकाले उनीहरूलाई संरक्षरण गर्न उपचार पहिलो आवश्यकता भएको स्याङ्वाले बताए ।


चिसोपीडितको नाम नगरमा पठाएको भए पनि न्यानो समेत उनीहरूले नगरबाट पाउन सकेका छैनन् । वडामा त्यसको लागि बजेट नभएकाले नगरले दिने न्यानो समेत अहिले दिन नसकिएको वडा ८ का वडाध्यक्ष शमशेरसिंह थिङले बताए ।


गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सहितको टोलि लगेर नागरिकता बनाइदिएको र आफूले उनीहरूको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिरहेको थिङले जनाए ।

प्रकाशित : माघ ४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?