२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोलाहलबीच निस्फिक्री पढाइ

चोहर्वा–सिरवा सडकमै टाँसिएको बहिरा माविका विद्यार्थी सांकेतिक भाषामै राष्ट्रगान गाउँछन् । कोही पढाइमा अब्बल छन्, कोही अतिरिक्त क्रियाकलापमा ।
भरत जर्घामगर

(सिरहा) — विद्यालय प्रायः कोलाहल हुने स्थानभन्दा टाढै राखिन्छ । बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर यसो गरिएको हो । जिल्लाको गुलरियामा भने सडकछेउमै स्कुल छ । चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाज कुद्छन् । तर, कक्षा चलाउन कुनै समस्या छैन । विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन् ।

कोलाहलबीच निस्फिक्री पढाइ

अन्य स्कुलमा जस्तो केटाकेटी होहल्ला गरेको, साथीलाई बोलाएको सुनिँदैन । यहाँ कान नसुन्ने बालबालिका मात्रै अध्ययन गर्छन् ।


२०५४ सालमा स्थापित विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । ७८ छात्र र १७ छात्रा छन् । उनीहरू सबै जना मनले सुन्छन् र संकेतले संवाद गर्छन् । अरू विद्यालयजस्तै यहाँ पनि परेड, व्यायाम र राष्ट्रगानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थी सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् । प्रधानाध्यापक भोलाप्रसाद यादवका अनुसार २०५२ सालमा ४ बालबालिका जुटाएर सिरहा बजारको भाडाको घरमा सुरु भएको पठनपाठन दुई वर्षपछि विद्यालयमा रूपान्तरण भयो । १४ जना बालबालिकालाई राखेर पूर्वप्राथमिक कक्षा (१ देखि ३) सञ्चालन गरियो । त्यसका लागि सांकेतिक भाषाको तालिम लिएका दुई शिक्षक नियुक्ति गरिए । ती बालबालिकालाई पढाउन लाग्ने सम्पूर्ण खर्च सिरहा बहिरा संघले बेहोर्थ्यो । उमेर पुगेका विद्यार्थीलाई साक्षर बनाउन सांकेतिक भाषा सिकाएर विभिन्न तालिम दिइन्थ्यो ।


२०६३ मा जिल्ला शिक्षा कार्यालयले प्रावि शिक्षकसमेतको राहत कोटाको दरबन्दी उपलब्ध गराई बहिरा विद्यालयको स्वीकृति दियो । धेरैजसो विद्यार्थी छात्रावासमा बस्छन् । वरपरका गाउँबाट दिनहुँ आउने–जाने पनि छन् ।


‘कोही धेरै चकचक गर्छन्, कोही शान्त बस्छन् । कोही हँसीमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन्,’ प्रधानाध्यापक यादवले भने, ‘कोही गणितमा अब्बल छन्, कोही नेपालीका कथा, कविता रुचाउँछन् ।’


कक्षा ३ मा अध्ययनरत राजु सदाय चित्र कोर्छन् । कक्षा ६ का काजल मण्डल, नितुकुमारी साह पढाइमा बढी रुचि राख्छन् । यहीँ पढेर अहिले शिक्षक बनेका सञ्जयकुमार दास विद्यार्थीहरू तेजिलो मस्तिष्कका रहेको बताउँछन् । विद्यालयमै आया पदमा कार्यरत दोभासे लक्ष्मी विकमार्फत कुरा गरेका उनले बालबालिकाले धेरै सपना बोकेकाले ध्यान दिएर पढाउने गरेको सुनाए ।


यहाँ सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुलीसम्मका बालबालिका छन् । विद्यालयको सुरुवात भने बहिरा संघले गरेको हो । श्रवणशक्ति गुमाएकाहरूलाई भेला गरी सिरहा, माडरका गंगाराम यादवले २०५१ सालमा संघ गठन गरे ।


२०५२ सालताका राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले सांकेतिक भाषाको विकास एवं कार्यक्रम सञ्चालनका लागि बहिरा संघ सिरहालाई १० महिने काम दियो । त्यस क्रममा काठमाडौंबाटै आएका प्रशिक्षक कुमार रेग्मीले बहिरा, अभिभावक तथा सुन्न सक्ने ३० सहित ५० जनाका लागि सांकेतिक भाषा कार्यक्रम सञ्चालन गरे । तालिम लिएकाबाट शिक्षक तयार गरियो ।


विद्यालय सञ्चालनका लागि ३ बिघा १५ कठ्ठा जग्गा खोजियो । २०६० सालतिर बहिरा संघ, सरकारी निकाय, दातृसंस्था, व्यक्तिको सहयोगले विद्यालय भवन, छात्रावास, भान्सा कक्ष निर्माण भएपछि कक्षागत रूपमा पठनपाठन चलाइएको अध्यक्ष यादवले सुनाए । उनका अनुसार विद्यालयमा नियमित पठनपाठनका साथै सिलाइ–कटाइ, अगरबत्ती, मैनबत्ती तालिम दिइन्छ ।


संघका सचिवसमेत रहेका दोभोसे विपिनकुमार यादवमार्फत उनले बाहिरी जिल्लाबाट पनि विद्यार्थी आउने भएकाले सबैलाई पर्याप्त आवासीय व्यवस्था मिलाउन नसक्नु मुख्य चुनौती रहेको बताए । ‘कक्षा ८ उत्तीर्ण गरेपछि बाहिर पठाउनुपरेको छ,’ उनले भने ‘माविसम्म सञ्चालन गर्ने योजना छ, त्यसका लागि प्रदेश २ सरकारसँग समन्वय गरेका छौं ।’ शिक्षक पनि पर्याप्त नरहेको उनको भनाइ छ । अहिले पाँच शिक्षक, तीन आया र एक कार्यालय सहयोगी छन् ।

प्रकाशित : माघ ३, २०७६ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?