सद्भाव बढाउँदै माघी महोत्सव

शंकर आचार्य

(पर्सा) — मार्टिन मोक्तान पेशाले शिक्षक हुन् । वीरगन्जस्थित स्विमिङ पुल परिसरमा बुधबार आयोजित माघी महोत्सवमा भेटिएका उनी हाँसको मासुमा रमाए । ‘मलाई बर्षभरि माघी महोत्सवको प्रतिक्षा हुन्छ,’ उनले भने, ‘थारु शैलीले पकाएको हाँसको मासुको स्वादै भिन्न हुन्छ ।’

ZenTravel

वीरगन्ज विर्ताका भरत नेपाल पनि महोत्सवमा भेटिए । चामलको पिठोको बगेया र अनरसाको स्वादले आफूलाई लोभ्याएको उनले बताए । व्यवसायी उमेश मानन्धरले महोत्सवमा रक्तदान मात्र गरेनन्, हाँस र माछाका परिकार पनि मज्जाले खाएको बताए । ‘मलाई थारु समुदायले पकाउने हाँस र माछाको स्वादले जहिले पनि आकर्षित गर्छ,’ उनले भने, ‘अन्य समय व्यस्तताले भ्याइँदैन, माघीमा भने खोजी–खोजी, रोजीरोजी थारु परिकार चाख्छु ।’

युवा अभियन्ता दिलीपराज कार्की महोत्सवमा यस वर्ष घोंघी र चेचरको स्वाद चाख्न आएको बताउँछन् । ‘वर्षभरि अन्य दिनमा घोंघी खोजेर पनि खान पाइन्न,’ उनले भने, ‘तर माघी महोत्सवमा सहजै र स्वादिलो घोंघी पाइन्छ ।’

कलाकार मुन्ना सर्राफले पनि माछा, हाँसको मासु र अनरसा खाएको सुनाए । स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले आफू शाकाहारी भएकाले थारु समुदायको बगेया, अनर्सा, तेलही रोटी आदिको मज्जा लिएको बताए । माघी मूल समारोह समितिले २६४४औं थारु संवत् तथा माघीको अवसर पारेर बुधबार वीरगन्जमा आयोजना गरेको माघी महोत्सवमा अन्य समुदायका व्यक्ति पनि यसै गरी रमाए । २०५२ देखि वर्षैपिच्छे भइरहेको महोत्सवमा केही वर्ष यता थारुसँगै गैरथारु समुदायको सहभागिता उल्लेख्य छ । थारु संस्कृति, रहनसहन, चालचलन पनि जान्न सकिने भएकाले धेरैको आकर्षण बनेको छ माघी महोत्सव ।

मारवाडी समुदायकी गृहिणी नूतन सरावगी एक समुदायको चाडपर्वमा अर्को समुदाय पनि सहभागी भए आपसी सद्भाव र एकता वृद्धि गर्ने बताउँछिन् । ‘म पहिलोपटक माघी महोत्सवमा सहभागी हुन पाए,’ उनले भनिन्, ‘केही शाकाहारी परिकार पनि चाखें, साह्रै रमाइलो भयो ।’ महोत्सवमा थुप्रै गैरथारु भेटिए । सबैले चाड पर्वमा शुभकामना दिन र थारु संस्कृति, खाना, चलन आदि बारे जानकारी लिन महोत्सवमा आएको बताए । महोत्सवमा परम्परागत थारु परिकारदेखि नृत्य, कला–संस्कृति झल्काउने प्रयास गरिएको थियो ।

केही वर्षयता विभिन्न थारु संघसंस्थाले माघी पर्व सामूहिक रुपमा मनाउने र महोत्सव नै आयोजना गरेर थारु भाषा, कला, संस्कृति र परम्परा जगेर्ना गर्दै आएका छन् । महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रकाश थारुले महोत्सवमा घाटु, झम्टा, सामाचकेवा, ठकरा आदि नृत्य प्रस्तुतिका साथै घोंघी, हाँस, कुखुरा र परेवाका परिकार, अनर्सा, तेलही रोटी, गुरही रोटी, पिठा, चिचर, लाई, तिल, केसर आदि परिकार उपलब्ध रहेको बताए । ‘यसरी माघी महोत्सव मनाउँदा सदरमुकाम वीरगन्ज र आसपास बसोबास गरिरहेका थारु एउटै थलोमा भेला हुने र शुभकामना आदानप्रदान गर्ने अवसर पाउँछन्,’ उनले भने, ‘गैरथारु समुदाय पनि उत्साहजनक रूपमा सहभागी भएर महोत्सवको मज्जालिन्छन् ।’

थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद प्राध्यापक राजेन्द्र महतो थारु केही वर्षयता महोत्सवमा गैरथारु समुदायको सहभागिता हुन थालेपछि आफूहरू पनि उत्साही भएको बताउँछन् । ‘यो महोत्सव सबै समुदायलाई एउटै थलोमा भेला हुने र माघे संक्रान्तिको शुभकामना आदान प्रदान गर्ने माध्यम बन्दैछ,’ उनले भने, ‘बर्षेनी जनसहभागिता बढेसँगै महोत्सव अझ भव्य र आकर्षक बनाउने हाम्रो प्रयास जारी छ ।’ यसअघि यहास्थित घण्टाघरबाट निकालिएको झाँकीले नगरका बिभिन्न भाग परिक्रमा गरेको थियो । थारु वेशभूषामा सजिएका बालबालिका तथा महिलाको झाँकीमा बढी उपस्थिति देखिन्थ्यो ।

प्रकाशित : माघ २, २०७६ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नहरको डिल मासेर खेती

शंकर आचार्य

(पर्सा) — गण्डक नहरको डिल मासेर खेत बनाएका किसानलाई कारबाही गर्न नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जले प्रकृया अगाडि बढाएको छ । 

कार्यालयका निमित्त प्रमुख इन्जिनियर सुरेश साहका अनुसार आदर्शकोतवाल गाउँपालिका वडा नं ७ का किसान सफिक मिया अन्सारी उपर जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिइएको हो । यी कार्यालयबाट इलाका प्रहरी कार्यालय आदर्श कोतवालमा पत्राचार भई मियालाई पक्राउको आदेश समेत भइसकेको छ । मिया फरार रहेको र उनको खोजी भइरहेको इन्जिनियर साहले बताए ।

मियाले आदर्शकोतवाल गाउँपालिकामै गण्डक नहरको देब्रे किनारबाट करिब १० मिटर चौडाइ र २५ मिटर लम्बाई नहरको डिल यसै साता काटेर आफ्नो खेतमा मिसाएका हुन् । यसो गर्दा नहरमा पानी प्रवाह भएका बेला नहर त्यहाँबाट फुटेर पानी गाउँमा पस्ने र सर्वसाधारणको बालीनाली नष्ट हुन सक्ने प्रबल सम्भावना रहन्छ ।

यसरी व्यक्ति विशेषले नहरको संरचना भत्काएर आफ्नो बनाउनेलाई कारबाहीको दायरामा नल्याइए अरूले पनि त्यसो गर्न सक्ने र सार्वजनिक सम्पत्ति नष्ट हुँदै जाने सम्भावना भएकाले मिया उपर कडा कारबाहीको माग गरिएको हो ।

बारा जिल्लाकै मटिअर्वास्थित कार्यालयकै संरचना सिँचाइ क्याम्प भवन र त्यसको जग्गा समेत स्थानीयले बिक्री गर्न लागेको घटना करिब डेढ महिना अघि सार्वजनिक भएको थियो । स्थानीयले कार्यालयको करिब ४ कठ्ठा जग्गा सहितको भवन आफ्नो दाबी गरी बिक्री गर्न लागेको थाहा पाएपछि उक्त काम रोक्का गरी ती स्थानीयलाई पनि कारबाहीको प्रकृया अघि बढाइएको साहले बताए । २०४६ सालमा निर्मित उक्त भवन लामो समय इलाका प्रहरी कार्यालयका रूपमा प्रयोग भएको थियो । हाल इप्रका आफ्नै भवनमा सरेपछि भू माफियाको आँखा उक्त सरकारी जग्गामा परेको हो ।

कार्यालयको पर्सा र बारा जिल्लास्थित कतिपय ससाना सिँचाइ भवन हालसम्म सुरक्षा निकायकै प्रयोगमा रहेका छन् । बढी जसो संरचना सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको छ ।

नहरको पूर्वाधार र संरचना मास्ने र मिच्ने काम केही वर्ष यता तीब्र रूपमा हुँदै आएको छ । नहरको ब्लक नम्बर ७ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नं १४ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय नजिककै नहर अतिक्रमण गरी वीरगन्ज महानगरपालिकाको कार्यालयले गत वर्ष पक्की सडक निर्माण गरिसकेको छ ।

त्यस भेगका किसानको खेतमा सिँचाइ प्रयोजनमा नियमित रूपमा प्रयोग हुँदै आएको एमएससी १ नहरको २ किमि खण्ड अतिक्रमण गरी त्यहाँबाट गण्डकदेखि राधेमाई जोड्ने करिब २ किमि कालोपत्रे सडक मनपाको कार्यालयले बनाएको हो । ‘नहर नमासेर त्यसको मुनिको सडकलाई प्रयोग गरेर मात्रै पनि कालोपत्रे सडक बनाउन सकिन्थ्यो,’ साह भन्छन्, ‘तर त्यसो गरिएन हामीले मनपाको कार्यालयलाई यसो नगरौं भनी आग्रह गर्दा गर्दे कालोपत्रे सडकनै बनाइयो, यस वर्ष थुप्रै किसानले नहरको पानी प्रयोग गर्न पाएनन् ।’

नहरका कतिपय साना कुला किसान आफैंले मासेर खेतमा मिसाएका छन् । यसले किसानलाई सहज रूपमा नहरको पानी पाउन समस्या भइरहेको छ । कार्यालयले ब्लक नम्बर २ र ८ मा यसरी मासिएका केही साना कुला पुनर्निर्माण समेत गरिसकेको साह दाबी गर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×