१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

दशगजामा खुलेआम मदिरा होटल

भरत जर्घामगर

(सिरहा) — भारतसँग जोडिएको सिरहाको ठाडीमा मदिरा होटलका कारण सुरक्षा चुनौती बढेको छ । दशगजानजिकै खुलेका होटलमा खुल्लमखुल्ला मदिरा बिक्री हुन्छ । प्रशासन र गाउँपालिकाले सीमाभन्दा एक किलोमिटर वरपर होटल खोल्न नपाइने निर्णय गरे पनि व्यवसायीले अटेर गरेपछि एक महिनाको समय दिइएको छ । 

दशगजामा खुलेआम मदिरा होटल

भगवानपुर गाउँपालिका–४ स्थित दसगजाको ५० मिटर आसपासमा १८ वटाभन्दा बढी छाप्रे होटल खुलेका छन् । तिनमा अधिकांश भारतीय ग्राहक हुन्छन् । दिनभर सुनसान हुने ती होटल साँझ परेसँगै भरिभराउ हुन्छन् । भारतको बिहार सरकारले ६ वर्षअघि मदिरा बिक्रीवितरणमा रोक लगाएपछि सीमापारिका मानिस यिनै होटलमा आउन थालेका हुन् ।


‘यताका होटलमा साँझ पर्नासाथ समूह बाँधेरै बिहारबाट आउनेको घुइँचो लाग्छ, भारतीय ग्राहकले होटल भरिभराउ हुन्छन्,’ स्थानीय कन्हैया भट्टले भने, ‘उनीहरूले मदिरामा लठिएर होहल्ला गर्छन्, अश्लील बोल्छन् ।’ उनका अनुसार भारतीय ग्राहकका कारण स्थानीयले असुरक्षा महसुस गर्नुपरेको छ । ‘मदिराको सुरमा उनीहरूले जुनसुकै बेला अपराध गर्न सक्छन्,’ उनले भने, ‘स्थानीय त्रासमा बस्नुपरेको छ ।’


सीमाक्षेत्रबाट मदिरा होटल हटाउन प्रहरी प्रशासनसँग पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनले सुनाए । विहारमा मदिरा बन्द भएपछि स्कुले युवाले मदिरा तस्करी गरिरहेका भेटिन्छन् । भगवानपुर गाउँपालिका २ का श्रीचन पासवानले पछिल्लोपटक लागूऔषधसँगै रातको समयमा मदिरा तस्करीमा स्कुले विद्यार्थी प्रयोग भइरहेको र उनीहरूले पैसाको लोभमा मदिरा सीमापारि पुर्‍याइरहेको बताए । उनले भने, ‘अर्कातर्फ सीमावर्ती क्षेत्रमा खुलेका होटलमा मदिरा सेवनका लागि आउने भारतीयले कोलाहल मच्चाउँदा सामाजिक वातावरण खलबलिएको छ ।’


जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले दसगजा क्षेत्रमा खुलेका होटलले सुरक्षा चुनौती बढेको बताए । यी होटलकै कारण यता अपराध गरेर भारतीयलाई उता भाग्न सहज हुने गरेको उनको भनाइ छ । ‘सुरक्षाका दृष्टिकोणले पनि एक किलोमिटर क्षेत्रसम्म होटल र गोदाम खोल्न अनुमति दिन हुँदैन,’ उनले भने ‘ती क्षेत्रमा गोदाम राख्दा तस्करीलाई बल पुर्‍याउँछ ।’ ठाडीमा मात्र लहानमा भन्दा बढी मदिरा बिक्री भइरहेको छ । जिल्ला प्रशासनले सीमाबाट एक किलोमिटर क्षेत्रमा मदिरा बिक्री वितरणमा रोक लगाए पनि कार्यान्वयन हुन सकेको छैन ।


भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले सीमा क्षेत्रमा खुलेका होटल एक किलोमिटर पर हटाउन व्यवसायीलाई एक महिना समय दिएको बताए । ‘सीमा क्षेत्रबाट होटल सार्न पटकपटक भने पनि अटेर गरेपछि अन्तिम पटक एक महिनाको समयावधि तोकेका छौं,’ उनले भने ‘अब पनि अटेर गरे बल प्रयोग गरेर हटाउँछौं ।’


प्रकाशित : माघ १, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?