तराईमा भिजिट मधेस अभियान
(बारा) — सरकारले नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा तराईका २२ वटै जिल्लामा ‘भिजिट मधेस’ अभियान सुरु भएको छ । ‘भिजिट मधेस’ नामक गैरसरकारी संस्थाले अभियान थालेको हो ।
तराईको पर्यार्वरण, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक स्थलको भ्रमणबिना नेपाल भ्रमण वर्ष सफल नहुने भन्दै विभिन्न स्थानीय तह र प्रदेश २ सरकारको पर्यटन मन्त्रालयमार्फत ‘भिजिट मधेस’ अभियान थालिएको भिजिट मधेसका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताए ।
‘तराई–मधेसका जिल्लामा थुप्रै पर्यटकीय स्थल भए पनि संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेको छैन, त्यसैले हामी छुट्टै अभियान थालेका छौं,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्म पर्ने तराईको भूभागमा पर्यटनको प्रचुर सम्भावना छ ।’ अभियानमा प्रदेश २ का पर्यटन राज्यमन्त्री सुरेश मण्डल सक्रिय छन् । पर्साको वीरगन्जबाट सुरु गरिएको अभियान बारा–रौतहट हुँदै मंगलबार सर्लाही पुगेको छ ।
सरोकारवालालाई भेला पारेर तराई–मधेसका पर्यटकीय स्थलको वृत्तचित्र पनि देखाइँदै छ । ‘तराईलाई चिनाउन अभियानले काम गरिरहेको छ, ‘भिजिट’ नेपाललाई ‘भिजिट मधेस’ अभियानले सहयोग गरिहेको छ,’ भ्रमणवर्ष २०२० प्रदेश समन्वय समिति, प्रदेश २ सचिवालय सदस्य मोहन शर्माले भने, ‘यसलाई नकारात्मक मान्नु हुँदैन ।’ प्रदेश सरकार आर्थिक अभावले थलिएकाले सरकारी कार्ययोजनाअनुसार सरकारी भ्रमण वर्ष प्रभावित भइरहेको
उनले बताए ।
‘बजेट समस्याले पर्यटन क्षेत्रको ‘ब्रान्डिङ’, ‘मार्केटिङ’ र ‘कल्चर टुरिजम’ को काम प्रभावहीन बनेको छ,’ उनले भने, ‘प्रदेश सरकारमा आर्थिक अभाव भएकाले २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा नहुने छाँट देखिएको छ ।’ केन्द्र सरकारले काठमाडौंमा जहाजबाट आउनेलाई मात्र पर्यटक मानिरहेको उनको आरोप छ ।
‘गढीमाई मेला र जनकपुरमा लाखौं आए पनि तिनलाई सरकारले पर्यटक मानेको छैन,’ उनले भने, ‘तराईमा जल, जंगल, धार्मिक र ऐतिहासिक महत्त्वका थुप्रै पर्यटकीय स्थल छन् ।’ भिजिट मधेस २०२० कार्यक्रमलाई गत शुक्रबार सम्बोधन गर्दै प्रदेश २ का पर्यटन राज्यमन्त्री मण्डलले तराई–मधेसमा पर्यटनको ठूलो सम्भावना रहेको बताए । नेपालमा सबभन्दा धेरै पर्यटक भित्र्याउने गढीमाई मन्दिर रहे पनि संघीय सरकारको बेवास्ताका कारण यो मेलालाई विश्वसम्पदामा राख्न नसक्नु दु:खद भएको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउँछन् ।